PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​तेजाब छ्याप्ने केटाको अझै पहिचान भएन



​तेजाब छ्याप्ने केटाको अझै पहिचान भएन

  • अंगद ढकाल/पहिलोपोस्ट -
काठमाडौँ :  ‘मम्मी, मम्मी !’

एकाबिहानै भय र आतंकमिश्रित किशोरीको चिच्याहटले राजधानीको एउटा टोलै थर्कियो।

बिहानको छ बजेर १० मिनेटमात्रै गएको थियो। टोलवासीहरु भर्खर उठेका थिए। केही ओछ्यानमै बसेर एफएममा देशविदेशका समाचार सुन्दै थिए। आफ्नै टोलमा भएको घटनाबाट भने उनीहरु बेखबर थिए।

सँगै घरका राकेशलाल श्रेष्ठ सम्झन्छन्, ‘एकाबिहानै एक जना बच्चीले ममी ममी भन्दै धेरै ठूलो स्वरमा चिच्याएको आवाज सुन्यौँ। सुरुमा त कहाँबाट आवाज आएको नै थाहा भएन। पछि बुझ्दै जाँदा ट्युसन सेन्टरमा तेजाब छ्यापेको थाहा भयो।‘

यसरी भएको थियो आक्रमण

आइबार दिउँसो पहिलोपोस्ट संवाददाता झोछेँस्थित ए प्लस ट्युसन सेन्टर पुग्दा खुइलिसकेको गुलाबी रङ्ग पोतिएको एउटा कोठामा रहेका तीन वटा बेन्चमा तेजाब छरपष्ट थियो।

यही तीन वटा बेन्चमा तीन किशोरी बसेर पढिरहेकी थिइन्। ट्युसन पढाउने शिक्षक नआएकाले उनीहरु आफै पढिरहेका थिए।

अकस्मात् कक्षा कोठाको ढोका ड्याङ्ग खुल्यो। सुन्तले हुड लगाएको अग्लो अग्लो केटो भित्र छिर्‍यो र पछाडि लुकाएर राखेको हर्लिक्सको शिशी निकाल्यो र क्रिकेटको बल फ्याँके जस्तै गरी त्यसमा रहेको तेजाब छ्याप्यो अनि भाग्यो।

तेजाब पहिलो बेन्चमा बसिरहेकी रामेछाप खनियापानी गाविस–८ घर भएकी १६ वर्षकी संगीता मगरलाई धेरै लाग्यो। त्यसको पछाडि बसेकी रौतहट घर भएकी १५ वर्षकी सीमा बस्नेत र हेमुलाई पनि लाग्यो। संगीता गम्भीर घाइते छिन्। उनको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ।

सीमा वीर अस्पतालमा उपचार गराइरहेकी छिन्। पहिलोपोस्टलाई उनले घटना विवरण यसरी सुनाइन्। हेमु भने घर गइसकेकी छिन्।

 

अझै भएको छैन पहिचान

किशोरीलाई तेजाब छ्यापेर फरार हुने केटाको अझै पहिचान हुन सकेको छैन।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी दिनेश आचार्यका अनुसार किशोरीहरुले आफूले केटालाई नचिनेको र देखिरहेको केटा नभएको बयान दिएका छन्।

उनले खोजी जारी रहेको बताएका छन्।
 

राजधानीमा तीन वर्षमा दोस्रो घटना

तेजाब प्रहारका अधिकांश घटना तराईमा हुने गरेका छन्। अधिकांश घटनामा व्यक्तिगत रिसइबी, प्रेम प्रस्ताव अस्वीकार गर्नु कारण रहेको पाइन्छ।

राजधानीमै भएको भने तीन वर्षमा यो दोस्रो घटना हो।

तीन वर्षअघि बानेश्वरमा उर्वशी उप्रेतिमाथि उनकै आमाजु मनीषा उप्रेती र जेठाजु अमृत उप्रेतीले तेजाब खन्याएर भागेका थिए। घटनाको अनुसन्धान गरिरहेको प्रहरीले सम्पतिको विवादका कारण घटना भएको बताएको थियो।

तराईमा हुने यस्ता धेरै घटनामा किशोरी, युवती र महिलालाई लक्षित गरी तेजाब आक्रमण हुने गरेको छ। यद्यपि रिसइबीका घटनामा पुरुषमाथि पनि आक्रमण भएका उदाहरण छन्।

दुई वर्षअघि काभ्रेमा बाटोको विषयमा छलफल भइरहँदा एक १९ वर्षीय किशोरले तेजाब छ्याप्दा दुई जना स्थानीय पुरुष गम्भीर घाइते भएका थिए।

सजिलै पाइन्छ किन्न तेजाब

तेजाब आक्रमणका घटना बढ्नुमा पसलहरुमा सजिलै किन्न पाइने तेजाब पनि एउटा प्रमुख कारण बनेको छ। काठमाडौँको त्रिपुरेश्वरका औषधि पसलमा प्रेस्क्रिप्सन बिना र साइन्स ल्याबहरुमा पनि तेजाब प्रयोजन नखुलाई सजिलै किन्न पाइन्छ।

आक्रमणका अरु साधन भन्दा तेजाब किन्न पनि सजिलो, सहजै बोकेर जता पनि लैजान सकिने हुनाले तराईको ट्रेन्ड काठमाडौँमा पनि बढ्न सक्ने जोखिम छ। पूर्व क्षेत्रीय प्रहरी कार्यालयका डीआईजी नवराज सिलवालले नेपाल साप्ताहिकलाई तेजाब आक्रमणका घटना वृद्धि हुनुमा यसको खुलेआम बिक्री नै मूल कारण रहेको बताएका छन्। ‘बिक्रीलाई व्यवस्थित बनाउन सके मात्र यस्ता घटनामा कमी आउने, उनले बताए।

फितलो कानुनले उम्किन्छन् पीडक

तेजाब छ्याप्नेहरुमाथि ज्यान मार्ने नियतले आक्रमण गरेको अभियोगमा मुद्दा चलाइने भए पनि फितलो कानुनी व्यवस्थाका कारण पीडक उम्कने गरेको कानुन व्यवसायीहरु बताउँछन्।

२०५९ सालमा आफ्नी प्रेमिकासँग बिहे गर्न लागेको रिसमा उपेन्द्र शाक्यले सुन चाँदी बनाउन प्रयोग हुने तेजाब सुजनवीर कंसाकारलाई छ्यापेका थिए। त्यसको केही दिनपछि सुजनको मृत्यु भएको थियो।

हालका प्रधानन्यायाधीशले दिएका थिए सफाइ

पुनरावेदन अदालतले शाक्यलाई १० वर्षको कैद सजाय सुनाए पनि २०६९ भदौ २१ गते वर्तमान प्रधानन्यायाधीश रामकुमार प्रसाद शाह, वैद्यनाथ उपाध्याय र कमलनारायण दासको पूर्ण इजलासले एसिड फालेको ‘ऐनले तोकेको २१ दिनपछि मरेको अवस्थामा ज्यान सम्बन्धी महल अन्तर्गत ज्यान मारेको भनी सजाय गर्न कानुन अनुकूल नहुने’ भन्दै सफाइ दिएको थियो।     



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell