PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नेफ्टा अवार्ड : पशुपति प्रसाद सर्वोत्कृष्ट, अनमोल र पूजा लोकप्रिय, कसले के जिते?



पहिलोपोस्ट

नेफ्टा अवार्ड : पशुपति प्रसाद सर्वोत्कृष्ट, अनमोल र पूजा लोकप्रिय, कसले के जिते?

दुबई : नवौं नेफ्टा (नेपाल फिल्म टेक्निसियन एसोसिएशन)  अवार्डमा फिल्म पशुपति प्रसाद सर्वोत्कृष्ट घोषित भएको छ। युएइको दुबईमा शुक्रबार अबेर सम्पन्न अवार्डमा पशुपति प्रसादसहित वडा नम्बर ६, प्रेमगीत र क्लासिकले धेरै विधामा बाजी मारे।
 
दशक लामो सशस्त्र द्वन्द्वको सेटिङमा बनेको वडा नम्बर ६ बाट उज्वल घिमिरेले सर्वोत्कृष्ट निर्देशकको ट्रफी उचाले। कबड्डी कबड्डीबाट दयाहाङ राई अभिनेतातर्फ र नम्रता श्रेष्ठ क्लासिकबाट सर्वोत्कृष्ट अभिनेत्री घोषित भइन्।
 
पल शाहले नाइँ नभन्नू ल ४ बाट डेब्यु अभिनेताको अवार्ड जिते। महिलातर्फ यो विधामा ड्रिम्समा साम्राज्ञी शाह विजयी रहिन्। पशुपति प्रसादबाट विपिन कार्कीले उत्कृष्ट नेगेटिभ पात्रको उपाधि जिते।
 
सहायक अभिनेतामा पशुपति प्रसादबाटै प्रकाश घिमिरे उत्कृष्ट बने। महिलातर्फ यस विधामा जन्मभूमिबाट निश्मा घिमिरे सर्वोत्कृष्ट बनिन्। नाइँ नभन्नू ल ४ बाट पुरुषोत्तम प्रधान सर्वोत्कृष्ट छायांकार बने। फन्कोबाट विपिन मल्ल सर्वोत्कृष्ट सम्पादक बने।
 
प्रेमगीतले रिनशा राईलाई उत्कृष्ट नृत्य निर्देशकको ट्रफी दिलायो। यही रोमान्टिक फिल्मबाट अर्जुन पोखरेलले संगीतकार विधामा जिते। सुगम पोखरेल प्रेमगीतबाटै पुरुषतर्फ उत्कृष्ट पार्श्वगायक बने र अञ्जु पन्तले यही फिल्मबाटै महिलातर्फ पार्श्वगायिका जितिन्।
 
पटकथा विधामा फन्को सर्वोत्कृष्ट घोषित भयो। सुवर्ण थापाले यस फिल्मबाट अवार्ड जिते। अधकट्टीबाट विल्सनविक्रम राईले उत्कृष्ट हास्य अभिनेताको उपाधि जिते।
 
पशुपति प्रसादबाट खगेन्द्र लामिछानले उत्कृष्ट संवाद विधामा जित हासिल गरे। कथा विधामा कबड्डी कबड्डीबाट रामबाबु गुरुङ उत्कृष्ट बने। नाइँ नभन्नू ल ४ बाट कृष्णहरि बराल सर्वोत्कृष्ट गीतकार घोषित भए। फन्कोबाट सुजिल कर्माचार्य सर्वोत्कृष्ट ब्याकग्राउन्ड स्कोरर बने।
 
उत्तम न्यौपानेले धौलीबाट ध्वनि मिश्रण विधाका लागि ट्रफी उचाले। वडा नम्बर ६ बाट राजन इसानले संगीत संयोजनका लागि जित दर्ता गरे। भैरवबाट हिमाल केसीले एक्सन विधा जित्दा पासाङ टी शेर्पाले वडा नम्बर ६ का लागि कला निर्देशकको उपाधि जिते।
 
प्रेमगीतबाट युवी थापा र योगिता पुन सर्वोत्कृष्ट कस्ट्युम डिजाइनर घोषित भए। श्रृंगार विधामा दीपु पौडेलले को आफ्नो बाट अवार्ड जिते।
 
लोकप्रिय विधामा पनि अवार्ड बाँडियो। अनमोल केसी वर्ष ०७२ का लोकप्रिय अभिनेता घोषित भए। पूजा शर्मा यस वर्षकै लोकप्रिय अभिनेत्री घोषित भइन्।
 

दीर्घ साधना र अन्य सम्मान

दुई पाका प्राविधिकलाई यस वर्षको लाइफटाइमअ अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। डेढ सय फिल्ममा भान्छा सम्हालेका कूलबहादुर महत जेठा दाइ र नन्दबहादुर गुर्मछान मगरलाई जनही २५ हजार नगद र ताम्रपत्रसहित दीर्घसाधना सम्मान प्रदान गरियो।
 
सामाजिक कार्यबापत राष्ट्रिय योगदान दिएको भन्दै सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई पनि सम्मान प्रदान गरियो। धुर्मुस सुन्तली नामले चर्चित उनीहरुले हालै तेस्रो नमुना बस्ती निर्माणको घोषणा गरेका थिए।

 
अभिनेत्री दीपाश्री निरौलालाई वरिष्ठ निर्देशक एवं निर्माता नीर शाहले प्रोत्साहन सम्मान प्रदान गरे। नेफ्टा स्वर्णिम सम्मानबाट तीन पाका अभिनेत्री भुवन चन्द, चैत्य देवी र बसुन्धरा भुसाल सम्मानित भए।
 
नेपाल प्रहरीका डिआइजी नवराज सिलवाललाई सुरक्षा स्थापनामा योगदान दिलाएको भन्दै सम्मान गरियो। दुबईस्थित आयोजक संस्था कन्सेप्ट भिजन फिल्म डिष्ट्रिब्युसनका सालिक सुवेदी, राजन अधिकारी र अनिशसिंह ठकुरीलाई सम्मान दिइयो।
 
नेपालबाट १ सय २० सिनेकर्मी दुबई पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell