PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

दुर्गा तिवारी हत्याका तीन कन्फ्यूजन



पहिलोपोस्ट

दुर्गा तिवारी हत्याका तीन कन्फ्यूजन

काठमाडौं : सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावको विपक्षमा आन्दोलनमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सम्बद्ध युवा संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको हत्यापछि बुटवल क्षेत्र तनावमा छ ।

मंसिर १४ मा सरकारले ४ र ५ नम्बर प्रदेशको सिमाङकन हेरेफेर गर्दै संशोधन विधेयक दर्ता गरेपछि त्यसको विपक्षमा बुटवलमै सबैभन्दा बलियो मास देखिएको थियो । त्यहीँ सोमबार तिवारीको हत्या भयो ।

सोमबार दिउस मोटरसाइकलमा आएका २ जनाले तिवारीलाई गोली हानेर भागेका थिए । मोटरसाइकलमा को थिए ? कसैले पहिचान गरेको खुलेको छैन ।

गोली लागेर घाइते भएका उनलाई उपचारका लागी देवदह मेडिकल कलेज लगिए पनि ज्यान जोगिएन । उनको मृत्यु भएको खवर फैलिएसँगै बुटवलदेखी काठमाडौंसम्मको राजनीति र प्रहरी प्रशासन तात्यो ।

तत्काल युवा संघको आकस्मिक बैठक बस्यो । पश्चिम क्षेत्रिय प्रहरी प्रमुख डिआइजी कमलसिंह बम पोखराबाट तत्काल बुटवल हिडे । अनुसन्धानमा सघाउन बुटवल प्रहरीले काठमाडौंबाट अनुभवी टोली मगायो ।

ब्यक्तिगत या राजनीतिक

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले हत्याको कारण ब्यक्तिगत देखिएकोे दावी गरिरहँदा तिवारी आवद्ध संघले भने यसलाई राजनीतिक कारण रहेको ठहर गर्दै आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गरिसकेको छ ।

तिवारीको हत्यापछि युवा संघ नेतृत्व शोक र आक्रोशमा देखिएको छ । संघका अध्यक्ष राजिव पहारीले तिवारीको हत्याको कारण राजनीतिक रहेको दावी गरे ।

तिवारीको हत्याबारे छानवीन गर्न संघले समिति गठन गर्नुले अहिलेनै संघ नेतृत्व हत्याको कारणको निष्कर्षमा नपुगेको देखिन्छ ।
युवा संघ रुपन्देही शाखाले जारी गरेको विज्ञप्तीमा ‘हत्याराको पहिचान भइसक्दा समेत पक्राउ नगरेको’ उल्लेख छ ।

केन्द्रिय सदस्य तथा रुपन्देहीका इन्चार्ज सुजु मल्ल र सचिव नकुल शाहीले जारी गरेको विज्ञप्तीमा‘हत्यामा संलग्नलाई कडा भन्दा कडा सजायको माग’ गरिए पनि संलग्न को हो खुलाइएको छैन ।

अनुसन्धानकाे निचोड नआए पनि युवा संघको माउ पार्टी नेकपा एमालेले विज्ञप्ती निकालेर हत्याकाे कारण 'राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता र स्वाभीमानका पक्षमा सञ्चालित आन्दोलनलाई कमजोर बनाउने र  साम्प्रदायिक सद्भाव बिथोलेर मुलुकमा विखण्डन सिर्जना गर्न गम्भीर आपराधिक षड्यन्त्र भइरहेको आशंका' गरेको छ।

उता, प्रहरी-प्रशासनको दावी भिन्न छ। अनुसन्धानमा संलग्न अञ्चल प्रहरी कार्यालय लुम्बिनिका प्रमुख एसएसपी शेरबहादुर बस्नेत, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रविन्द्रसिंह धानुक र जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद सिंहले मनोज रानासँग तिवारीको दुश्मनी रहेको र घटनामा उसैको संलग्नता रहेको दावी गर्दै हत्याको कारण ब्यक्तिगत देखिएको दावी गरे ।

पहिलोपोस्टसँगको टेलिफोनकुराकानीमा उनीहरुले तीन आधार प्रस्तुत गर्दै रानाको संलग्नताको दावी गरेका थिए ।

१. गत फागुनमा रानाको समूहले तिवारीको हत्या प्रयास गरेको र सोही घटनापछी उनी फरार रहनु ।

२.तिवारीको हत्यापछी रुपन्देहीका एमाले नेता ध्रुव खरेललाई नम्बर नखुलेको प्राइभेट नम्बरबाट फोन आउनु र फोनकर्ताले आफुलाई मनोजको रुपमा परिचयदिँदै हत्या आफैंले गराएको दावी गर्नु ।

३. रानाले तिवारी निकट रहेकालाई पटक–पटक फोन गरेर हत्याको धम्की दिनु ।


फरार भनिएका राना कहाँ छन् ? खुल्न सकेको छैन । एमाले नेतालाई फोन गर्ने राना नै हुन् भन्ने आधार खुलेको छैन । आफन्तलाई फोन गरेर धम्क्याएको भनिए पनि कहिले कसलाई धम्क्याएको प्रहरी–प्रशासनले खुलाउन सकेको छैन ।

रानाले धम्क्याएको विषयमा तिवारी वा उनी निकट कसैले प्रहरीमा उजुरी दिएकोबारे समेत प्रहरीले नखुलाउँदा तिवारी हत्याकाे कारणाको कन्फ्यूजन हटेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell