PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्राकृतिक स्रोत हैन, अब ब्रेन पावर : पूर्व अर्थमन्त्री रामशरण महत



प्राकृतिक स्रोत हैन, अब ब्रेन पावर : पूर्व अर्थमन्त्री रामशरण महत

  • रामशरण महत
प्राकृतिक सम्पदाकै कारण मुलुकको विकास हुन्छ भन्ने होइन। ब्राजिल र रुस आर्थिक विकासमा पछाडी परेका छन्। तर उनीहरु प्राकृतिक सम्पदामा धनी छन्। जापान, सिङ्गापुर र हङकङ विकास हुनुको कारण प्राकृतिक सम्पदा  होइनन्। तर विकास भयो।

अमेरिका प्राकृतिक सम्पदामा धनी छ। तर उसको आर्थिक विकासको कारण प्राकृतिक सम्पदा होइन। प्राकृतिक सम्पदाको भूमीका उसको कूल ग्राहस्थ उत्पादनमा २ देखि ३ प्रतिशत मात्र छ।

विकासका लागि प्राकृतिक सम्पदा आवश्यक छ तर यसको उपयोग गर्न नजाने काम छैन। अरब मुलुकहरु तेल बेचेर धनी भएका छन् तर वास्तवमा विकास भएको छैन। उनीहरुको समाज अगाडि बढेको छैन। सोचाइको स्तर अगाडि बढेको छैन। अधिकारका विषयमा पछाडि छन्।
नेपालमा प्राकृतिक स्रोत छ। जस्तै हरियो बन नेपालको धन भनियो। तर अहिले वन संरक्षणका लागि आवश्यक रकम समेत हामीले वनबाट प्राप्त गर्न सकेका छैनौँ।

योजना आयोगमा म हुदाँ वनको प्रयोगका लागि फिनल्याण्ड सरकारसँग मिलेर अध्ययन गरियो तर प्रयोग हुन सकेन।

अहिले नेपालमा काठ इण्डोनेसिया र मलेसियाबाट आउँछ। चितवनमा बुढो भएको रुख ढलेर जान्छ। त्यसको व्यवस्थापन हुन सकेको छैन किनभने त्यसलाइ काट्न पाँइदैन। अग्राख भनेको सबैभन्दा राम्रो काठ हो । नेपाल यसमा धनी छ। चालिस बर्षमा काट्नु उचित हुन्छ। बुढो भएपछि त्यो खोक्रो हुन्छ सुकेर जान्छ। तर हामीकहाँ काट्न पाँइदैन।

मैले विगतमा व्यवस्थापनको कुरा गरेँ। तर नेपालको वातावरण कस्तो छ भने उपयोगको तयारी गर्दा जंगल बेच्न लाग्यो भन्छन्।

नेपाल जलश्रोतमा पनि धनी छ। तर अब पनि ढिला भए हामीले गुमाउँछौँ। भारतले पनि सोलारमा लगानी गर्न थालेको छ। जलविद्युतमा भन्दा सोलारको उत्पादन सस्तो पर्ने अवस्था आउँदैछ।

ब्रेन पावरको युग

पछिल्लो विश्वको अवस्था हेर्ने हो भने देखिन्छ अहिले ब्रेन पावरको युग हो। अहिले विश्वका जति पनि धनी मुलुक छन् वा अगाडि बढेका छन् त्यसको कारण ब्रेन पावर हो।

पछिल्लो छ सय वर्षमा पश्चिमाहरु प्रगति गर्नुको कारणबारे एक जना अर्थशास्त्रीले लेखेका छन्।

पहिलो : पश्चिमाहरुले विज्ञानको प्रयोग गरे। उनीहरुले उत्पादनमा वैज्ञानिक रुपमा तयार गरिएको साधन प्रयोग गरे।

दोश्रो : उनीहरुले मेडिसिनको विकास गरे। मेडिसिनको विकासले कतिपय रोगसँग लड्न उनीहरुलाई सहयोग भयो र काम गर्ने आयू पनि बढ्यो।

तेश्रो : प्रजातन्त्रका कारण उनीहरुले व्यक्तिगत सम्पत्ति राख्न पाए। सुरक्षा पनि भयो। कानुनी शासन भयो। सबैलाइ बराबरीको व्यवहार भयो।

चौथो : काम गर्ने वातावरण बन्यो। उनीहरुले उत्पादनमा जोड दिए। साथसाथै क्रिएटीभिटीमा जोड दिए।

पाँचौ : उनीहरुले बाँच्नका लागि खाने होइन कि काम गरेर बाँच्ने हो भन्ने स्थापित गरे। अर्थात् तिमी पृथ्वीमा आएपछि तिम्रो जिम्मेवारी छ। तिमी कुनै कामका लागि पठाइएका हौ भन्ने सन्देश दिइयो। त्यसले नयाँ नयाँ लगानीकर्ता र उद्यमशिलता वृद्धि गर्‍यो।

छैठौँ : उनीहरुलाइ मुलुकबाहिर हेर्नुपर्छ भन्ने भयो। उनीहरुले बजार खोज्न थाले। अनि विकास गरे।

यसरी पश्चिमाहरुले विकास गरे। अहिले भारत र चीनले पनि यसलाइ अङ्गाल्दैछन् र विकासको बाटोमा लागेका छन्।

सहि ठाउँमा सहि मान्छे

नेपालमा अहिले नै प्राकृतिक स्रोतको विवादमा शुरु भएको छ। संघीयतामा गएपछि थप विवाद आउनेछ। संघीयतामा थप झगडा होला।

केहि समयअघि संघीयताले सबै ठिक गर्छ भन्ने गरि सङ्गीत बनाइयो। तर यो यस्तो सङ्गीत हो कि यसकै कारण समुन्द्रमा भएको जहाज पहाडमा गएर ठोकिँदा थाहा नपाए जस्तो हुनसक्छ। संघीयता स्वीकार गरिसकेपछि हामीले अब व्यवस्थापन गर्नुपर्छ।
हामीले अहिले संविधान बनाएको छौँ। संविधानमा धेरै मौलिक हक छन्। त्यसलाइ व्यवस्थापन गर्नुपर्नेछ। राजनीतिक व्यवस्थापन राम्रो छैन। २५ बर्षमा २३ वटा सरकार बनेको छ।

नयाँ सरकार गठन गरेपिच्छे कर्मचारी हेरफेर हुन्छ। अनि मन्त्रालयको कर्मचारी भन्छ हजुर म नयाँ छु बुझ्दै छु। सहि ठाउँमा सहि मान्छे हुनुपर्ने हो तर हामीकहाँ त्यस्तो हुन सकेको छैन।

अहिले नै समुदायले सञ्चालन गरिरहेको काठमाडौँ विश्वविद्यालयमा उपकुलपतिमा विवाद छ। राम्रो भन्दा हाम्रो मान्छे चाहिएको छ।
ठूला प्रतिष्ठान र ठाउँमा बेस्ट ब्रेन ल्याउनुपर्छ। नत्र बाँदरको हातमा नरिवल हुन्छ। उदाहरण छँदै छ हरियो बन नेपालको धन।

इजरायल र साउदीमा गएर काम गर्नेहरुले अहिले नेपालमा आएर कमाउन थालेका छन्। उत्पादन गर्न थालेका छन्। उनीहरुलाई हामीले सम्मान गर्नुपर्छ। राजनीतिक स्थिरता ल्याउनुपर्छ र मुलुक अगाडि बढाउनुपर्छ।

(एमाले भातृ संगठन युवा संघले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा महतले गरेको सम्बोधनको सम्पादित अंश)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell