PahiloPost

Jun 3, 2026 | २० जेठ २०८३

​कमल थापा बोल्दाबोल्दै सभामुखले माइकको लाइन काटे



​कमल थापा बोल्दाबोल्दै सभामुखले माइकको लाइन काटे
कमल थापाले क्षमायाचना गरेपछि संसद बैठक सुचारु भएको छ। तस्बिरः @ashokpillar

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मंगलबार व्यवस्थापिका संसद् बैठकमा १० मिनेट नाराबाजी गरेको छ। रोष्ट्रम प्रयोग गरेर बोलिरहेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सभामुख सुवाषचन्द्र नेम्वाङले बोल्न नदिएको भन्दै राप्रपा नेपालका सभासद्ले नाराबाजी गरेका हुन्।

थापाले जरुरी सार्वजनिक महत्वको विषयअन्तर्गत स्थानीय निकायको निर्वाचनका सम्बन्धमा बोलिरहेका बेला सभामुखले उनलाई उपलब्ध गराइएको समय १० मिनेट सकिएको बताएका थिए।

‘माननिय सदस्य यहाँलाई दिइएको समय १० मिनेटबाट १२ मिनेट भैसक्यो। छिटो बोलिसक्नुस्’, सभामुख नेम्वाङले आग्रह गरेपछि थापाले थप समय मागेका थिए।

नेम्वाङले प्रस्ताव पेश गरेर जान दिएको सुझाव थापाले अटेर गरेका थिए। 'मैले बोल्न किन नपाउने?' भन्दै थापाले रोष्ट्रमबाटै आक्रोश पोखेका थिए। थापाले अटेर गरेपछि सभामुखले रोष्ट्रमको माइक काटिदिए।

त्यसपछि आक्रोशित बनेका थापाले 'कुन नियमका आधारमा माइक काटियो?' भन्दै सभामुखलाई प्रतिप्रश्न गरे।

सभामुखसँगको चर्काचर्की भएपछि थापा सार्वजनिक महत्वको प्रस्ताव नराखिकनै रोष्ट्रमबाट हिँडेका थिए।

त्यसलगत्तै आआफ्नो स्थानबाट अगाडि आएर राप्रपा नेपालका सभासद्ले सभामुखको रोष्ट्रम अगाडि नाराबाजी गरेका थिए।

नाराबाजी भैरहँदा नेम्वाङले यथास्थानमा बस्न पटकपटक आग्रह गर्दै नियमावली सम्झाएका थिए। ‘मैले तपाइँहरुले बनाएको नियमावली कै आधारमा समय दिएको हुँ’, उनले भनेका थिए।

तर थापा भने सभामुख निरंकुश बनेको टिप्पणी समेत गर्दै चिच्याएका थिए।

तनावकाबीच नेम्वाङले 'तपाइँको व्यवहार ठिक भएन' भन्दै थापालाई सचेत गराएका थिए। ‘बैठक बहिष्कार गरेर हिँडे राम्रो सन्देश जाँदैन" नेम्वाङले भने, ‘तपाइँले नै प्रस्ताव पेश गर्न नचाहेको अर्थ लाग्छ।‘

त्यसपछि नेम्वाङले प्रस्ताव वाचनका लागि थापालाई समय दिए।

झण्डै १० मिनेटको नाराबाजी पछि थापाले पुनः रोष्ट्रममा गएर माफी मागेका थिए। ‘सर्वप्रथम म क्षमा याचना गर्न चाहान्छु’, थापाले भने, ‘महत्वपूर्ण विषय भएकाले केही भावनामा बहकिन पुगेँ।‘

थापाले प्रस्ताव पेश गरेपछि छलफल सुचारु भएको थियो। थापाले संसदमा आक्रोशमा बोलेका शब्द रेकर्डबाट हटाउन नेम्वाङले सचिवालयलाई निर्देशन दिएका छन्।

के बोले थापाले?

संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि चर्चा गर्दै थापाले संविधासभा निर्वाचनका क्रममा सबै राजनीतिक दलले कसैले ६ महिना कसैले १ वर्षभित्र स्थानीय निकायको निर्वाचन गर्ने प्रविद्धता जनताका बिचमा गरेको भएपनि निर्वाचनपछि त्यस तर्फ नलागेको बताए।

'सरकारले ओठे प्रतिवद्धता व्यक्त गर्छ, स्थानीय विकासमन्त्रीले पनि ठाँउ पायो कि प्रतिवद्धता गर्नु हुन्छ’, थापाले भने, ‘म उहाँको नियतमाथि प्रश्न गर्न चाहन्छु। के पहल गर्नु भयो? राजनीतिक दलहरुसंग परापर्श भयो?’ स्थानीय निकाय निकम्मा भएको भन्दै थापाले प्रमुख राजनीतिक दललाई प्रश्न गरे, ‘तपाइँहरुको संघर्ष केवल सत्ता प्राप्तिका लागि मात्र थियो?’

११ वर्षदेखि कर्मचारीले स्थानीय निकाय चलाउँदा जनताको काम कारबाही प्रभावित भएको उनले बताए। वार्षिक १५ अर्ब जिल्ला विकास समिति र गाविसलाई दिइएको भएपनि परिचालन गर्ने निकायको अभाव रहेको थापाले उल्लेख गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell