PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​कान्तिपुर गाथा : छोटो स्कर्ट लाए पनि समस्या, क्लिभेज र कर्भ देखिए पनि समस्या



किशोर नेपाल

​कान्तिपुर गाथा :  छोटो स्कर्ट लाए पनि समस्या, क्लिभेज र कर्भ देखिए पनि समस्या

‘यो के भै रहेको छ?' कनिकाले केही बुझ्न सकिन। नयाँ ढंगले नयाँ सज्जाका साथ खुलेको रत्नपार्क प्रवेश शुल्क महंगो थियो। पस्नै पचास रुपियाँ। त्यो पार्कमा केही उधुम भएको थियो। मानिसहरु हो–हल्ला गरिरहेका थिए। पार्कभित्र छिरेका एकजोडी आपसमा माया प्रीति गर्दै थिए पार्कको बेन्चमा बसेका थिए। पार्कको सुरक्षामा खटिएको पुलिसले उनीहरुलाई देख्यो। अचेल पुलिस ‘मेरो साथी' बनेको छ – अर्थात्‍ सबैको साथी। समाजका साधु–सन्त र पण्डितजीहरुको जस्तो उपदेश दिने (मोरल पुलिसिंग गर्ने) उसको निरन्तरको काम भएकोछ। पार्कको पुलिसले पनि त्यो प्रेमिल जोडीलाई समात्यो र सवारी चालकलाई जरिवाना गरेजस्तै खल्तीबाट रसीद झिकेर जरिवाना ठोक्न लाग्यो। त्यहीवेला कनिका आइपुगी। वरपरका मानिसहरु जम्मा भए। ती मध्ये आधी पार्कका कामदार र आधी पार्क घुम्न आउने मानिस थिए। कनिकाले आधिकारिकताका साथ सोधी, ‘के भइरहेको छ यहाँ?'

प्रेमिल जोडीले कनिकालाई आफनो वर्तमान र इतिहास दुवै वतायो। कान्तिपुर शहरमा प्रेमिल हुने कुनै ठाउँ नपाएपछि त्यो जोडी शान्त ठाउँको खोजीमा यहाँ आइपुगेको थियो। यहाँ पसेर उनीहरु बेन्चमा बसेका मात्रै थिए। उनीहरुले ‘केही गर्ने' त सोचेका पनि थिएनन। न त त्यहाँको वातावरण केही गर्ने खालको नै थियो। उनीहरु एकअर्काको हात समातेर पार्क घुमेर रमाउन आएका थिए। त्यही थियो उनीहरुको अपराध। ‘केटीको हात समातेर किन हिंडेको? सार्वजनिक ठाउँमा यस्तो अशोभनीय हर्कत गर्न पाइन्छ?' वर्दीधारी ‘साथी' उनीहरुसँग कड्किँदै कारवाही गर्न अघि बढ्यो। वास्तवमा यो पार्कको सुरक्षामा खटिएको दिनदेखि त्यो पुलिसले आजसम्म कसैलाई कारवाही गर्न पाएकै थिएन।

पार्कको विवाद कनिकाको आवाजले नै साम्य भइसकेको थियो। कान्तिपुरका मानिसहरु विवाद र झै झगडाबाट टाढा बस्दछन्। त्यहाँ जम्मा भएका मध्ये धेरैजसो मानिस तर्किन थालिसकेका थिए। केही रमितेमात्र बाँकी थिए त्यहाँ। ती मध्ये कसैले पनि कनिकासँग उसको परिचय माग्ने साहस गरेका थिएनन। कनिकाको व्यक्तित्व देखेर त्यहाँ खटिएको पुलिसपनि अकमकाएको थियो। त्यहाँ भएका सामान्य मानिसको दिमागमा हो न हो यो केटी कुनै ठूलो हाकिम नै हो भन्ने परेको थियो। कनिकाको बोलीमा ओज र आधिकारिकता थियो। उसको आवाजमा समर्पण होइन आदेश थियो। कनिकालार्ई देखेपछि वर्दीधारी ‘साथी' पनि अकमकायो।

कनिकाले ती दुई प्रेमिल केटा–केटीलाई तनावबाट मुक्त गरिदिइ। उनीहरु पार्कबाट वाहिर निस्किन हतारिंदै निस्किए। उनीहरुले ठूलो विपत्तिबाट मुक्ति पाएका थिए। जरिवाना तिर्न त उनीहर तयार थिए। त्यसपछि शुरुहुने समाचारको सृंखलासित उनीहरु डराएका थिए। कसैले केही छापिदियो भने बदनामीको बाटो।

कनिकाले सोची, ‘कुनै पनि हिसाबले यो राज्य त पुलिस स्टेट नै हो। सिभिलियनको त कुनै नाम र इज्जत नै छैन। जे छ पुलिसको छ। शासनका नाममा विहानदेखि रातिसम्म शहरमा जताततै नियन्त्रण छ। सडकमा सामान्य ट्राफिक लाइट राखेर नियमित चलाउन सकिने सवारी साधनहरुको नियन्त्रणका लागि पुलिसको ठूलो फौज खटिएको छ। साँझ परेपछि मादक पदार्थ सेवन गरेर गाडी चलाएको नचलाएको जाँच र नियन्त्रणका लागि नाका नाकामा अर्को फौज खटिएको छ। कान्तिपुर शहरका मानिस पनि ज्याद्रो नै छन। मापसेमा जति पटक समातिएपनि, सदाचारका जतिवटा क्लास लिएपनि, लाइसेन्समा जतिवटा प्वाल पारेपनि दारु खान छोडने होइनन। मापसेमा ठूला–साना, धनी–गरीव, काका–भतिजा, दाजु–वहिनी परिवारका सवै र सवै गुठियार र आफन्तहरु समातिन थालेपछि मापसे लाज–घीन, इज्जत–प्रतिष्ठाको कुरा नभएर आफैमा एउटा ठट्टा बनेको छ। शहरमा मापसे जाँचको आतंकले गर्दा पार्टीहर हुन छाडेका छन। रेष्टुराँको समय गडबडाएको छ।' 

कनिका सोच्दै थिइ, नागरिक नियन्त्रण र जरिवानाको स्रोत फेरि थपिँदैछ। सडकमा उभिएर चुरोट तान्ने, सार्वजनिक सवारीबाट चकलेटको वोक्रा वाहिर सडकमा फाल्ने, थुक्ने, पेटको वायु विसर्जनगर्ने हरेक प्रजातिका मानिसलाई पक्डिएर जरिवानागर्ने व्यवस्था गरेकोछ सरकारले। अचम्म छ, छोटो स्कर्ट लाएपनि समस्या, अलिकति शरीरको क्लिभेज र कर्भ देखिएपनि समस्या, एक ग्लास वाइन खाएपनि समस्या। अब कुन दिनदेखि मापसे किन नगरेको भनेर जरिवाना गर्न वेर छैन। कनिकालाई लाग्यो, कान्तिपुरमा यस्तो वेथितिसंग लडनसक्ने नागरिक समाजको निर्माण भएकै छैन। नागरिक यति सुधो छ कि ‘मेरो साथी' कुनदिन के प्लानिंग लिएर आउने हो? थाहा पाउँदैन। ‘मेरो साथी' ले भाषण गरिदिन्छ, हामीले यो सवै काम गरेको नागरिकहरुको सुरक्षाको लागि हो। नागरिकहरुले हामीलाई सहयोगगर्नु होला। यी नियमहरु उल्लंघन गरेको खण्डमा कडा सजाय हुनेछ।

कनिकाका एकजना फुपाज्यू पुलिसको सेवामा थिए। उनी केही समय अघिसम्म ट्राफिक शाखामा थिए। उनीसँग कुरा गरेर केही जानकारीलिन उसले फोन गरी। फुपाज्यूले उसलाई घरैमा वोलाए। उ फुपाज्यूको घरमा पुग्दा उनी घर आइ पुगेका थिएनन। उसलाई देखेर फुपु दंग परिन। फुपु भदै गफ गर्न थाले। फुपाज्यू निकै अवेर घर आइ पुगेर भने, ‘यो पुलिसको जागीर यस्तै हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell