PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

१९ जनाको ज्यान जाने धादिङ बस दुर्घटना : चालक र यात्रु पनि दोषी रहेको आयोगको ठहर



पहिलोपोस्ट

१९ जनाको ज्यान जाने धादिङ बस दुर्घटना : चालक र यात्रु पनि दोषी रहेको आयोगको ठहर

काठमाडौं : कानुनी रुपमा अयोग्य चालकले बस चलाउँदा १९ जनाको ज्यान जाने गरी धादिङको मार्पाकमा बस दुर्घटना भएको छानबिन आयोगले निष्कर्ष निकालेको छ। असोज ११ मा धादिङको मार्पाकमा यात्रुबाहक बस सडकबाट खस्दा १९ जनाले ज्यान गुमाएका थिए भने १७ जना घाइते भएका थिए।
 
सो बसका चालकले हलुका सवारी चलाउने अनुमति पत्र मात्रै पाएका थिए। उनले अनुमति नै नलिई यात्रुवाहक बस चलाएको दुर्घटनाको छानबिनका लागि गठित आयोगको प्रतिवेदनमा उल्लेख छ।

घटनाको दिन दिउँसो ११:४५ मा धादिङ, मार्पाक गाविस–किन्ताङफेदी सडक खण्डस्थित लपाङफेदी बजार नजिक धादिङबेसीबाट किन्ताङफेदी हिँडेको बस दुर्घटनामा परेको थियो। घुम्ति भएको र पहिरोले पुरेको खुकुलो सतह रहेको स्थानमा ना.४ ख ३३१८ नम्बरको यात्रुबाहक बस अकस्मात् पछाडिको चक्का खुकुलो माटोमा भासिदा सडकबाट १ सय २४ मिटर तल पहरे फाँटमा खसेको थियो।
 
दुर्घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले नेपाल प्रहरीका पूर्व आइजीपी कुवेरसिंह रानाको संयोजकत्वमा आयोग गठन गरेको थियो। पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे र धादिङमा भएको दुर्घटनाको छानबिन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको आयोगले गृहमन्त्री विमलेन्द्र निधिसमक्ष ३ दिन अगाडि प्रतिवेदन बुझाइसकेको छ।

पूर्व गृहमन्त्री घिमिरेले चलाएको जीप दुर्घटनाबारे आयोगको निष्कर्ष सार्वजनिक भए पनि सोही प्रतिवेदनमा रहेको धादिङ दुर्घटनाको निष्कर्ष भने चर्चामै आएन।

पहिलोपोस्टले प्राप्त गरेको सो प्रतिवेदन अनुसार धादिङ बस दुर्घटनाको कारण कानुनी रुपमा यात्रुवाहक बस चलाउने अनुमति नै नपाएका चालकले बस चलाउनुलाई आयोगले दुर्घटनाको मुख्य कारण मानेको छ।

‘सवारी चालक अनुमति पत्रका हिसाबले कानूनी रुपमा अयोग्य चालक, निजको लापरवाहीका साथै संचालकहरु समेतले अपनाउनुपर्ने व्यस्थापकीय असावधानी धादिङ दुर्घटनाको कारण हुन्’ प्रतिवेदनमा उल्लेख छ, ‘सो घटना सडकको अत्यन्त जोखिमपूर्ण अवस्थाका कारण घट्न गएको एक दुःखद् सवारी दुर्घटनाका रुपमा रहेको निष्कर्ष आयोगको छ।’

धादिङ दुर्घटनाबारे आयोगको ठहर 

  • सडकको अवस्था अत्यन्त नाजुक रहेको । 
  • साँघुरो ट्रयाकका रुपमा रहेको, विभिन्न तिखा घुम्ती तथा मोडहरु भएको, सडक डिजाइनका दृष्टिकोणले नमिलेको । 
  • सो सडक खण्डमा वर्षायाममा निरन्तर पहिरो गइरहने भए पनि समयमै सडक मर्मत सम्भार हुन नसकेको । 
  • दुर्घटनास्थल लपाङफेदी बजारबाट अन्दाजी ५ सय मीटर दुरीमा रहेको उकालो स्थानमा दुर्घटना हुनु केहीदिन अघि पहिरो गई सडक अवरुद्ध भएकोमा साना जीप मात्र पास हुने गरी पहिरोको माटो पन्छाएर एकतर्फी बाटो खुलाएको बुझिन आयो । 
  • दुर्घटनाग्रस्त बस ना ४ ख ३३१८ सो दिन यात्री बोकी किन्ताङफेदी तर्फ जाने क्रममा मार्पाक गाविस वडा नम्बर ६ स्थित पहिरो गएको साँघुरो स्थानबाट पार गर्न खोजेको देखिन्छ । यात्रीहरु तथा मालसामानले पुरै भरिएको बस केवल २ दशमलव ४ मीटर चौडाइ भएको साँघुरो सडकबाट पार हुने क्रममा बसको पछाडिको बायाँ चक्का पहिरोको नरम सतहमा परी दबेर बसको सन्तुलन बिग्री पल्टिई तल खस्न गएको घटनाका प्रत्यक्षदर्शी जीवन राना तथा घाइते र उद्धारकर्ताहरुको भनाइ । 
  • सवारी साधनको सवारी दर्ता किताब अनुसार  सो बसको सीट क्षमता २५ जना रहेकोमा दुर्घटना हुँदा बसमा ३१ जना यात्रीहरु सवार रहेको र तिनका झिटि गुन्टा र अन्य माल सामानहरु पनि धेरै रहेकोले सो बसले क्षमताभन्दा बढी यात्री तथा मालसामान बोकी ओभरलोड समेत रहेको स्पष्ट देखिन्छ ।
  • साना जीपमात्र पास हुने पहिरो झरी थुप्रिएको सडकको सतह खुकुलो रहेकै अवस्थामा उक्त कच्ची सडकमा क्षमताभन्दा बढी यात्रीहरु तथा मालसामानको भार, ठूलो आयतन र आकार भएको सवारी साधन बस गुडाउने प्रयास गर्दा सडकको पर्याप्त  चौडाइको अभावका कारण र सो स्थानमा पहिरो माटोको खुकुलो सतह भएको सडकमा बसको पछाडिको बायाँ चक्का पर्न गई सो भाग खस्किएर बसले सन्तुलन गुमाउन पुगी बस पल्टेर तल खस्न पुगेको देखिन आयो ।
  • ग्रामीण कच्ची सडकमा चल्ने सो बस सवारी साधन संचालनका लागि “उपयुक्त सवारी साधन” भए नभएको कुराको समयमै निर्क्यौल हुन नसकेको र पर्याप्त नियमन अनुगमन बिना नै सडक सुरक्षाको अवस्थासमेत ध्यानमा नराखी सम्बद्ध व्यवसायी तथा निकायहरुले सवारी आवागमन संचालनसमेत गरेको पाइयो । 
  • चालक गंगा बहादुर बिकसँग हलुका सवारीको अनुमति पत्र मात्र भएको उक्त बस कानून बमोजिम चलाउनका लागि अयोग्य रहेको देखिन्छ । 
  • सो इलाकाका सडकहरुमा चल्ने सवारी साधनहरुका सवारी चालकहरु कानूनी रुपमा योग्य छन् वा छैनन् भन्ने कुराको नियमन अनुगमन नपुगेको देखिन आयो । 
  • घटनाका प्रत्यक्षदर्शी तथा घाइतेहरुको भनाई अनुसार विपरित दिशाबाट आएका अन्य सवारी चालकहरुबाट बाटो खराब छ भन्ने कुराको जानकारी हुँदा हुँदै पनि लापरवाही तथा हेलचेक्र्याई साथ सवारी चलाएको देखिन्छ । 
  • संचालकहरुले अपनाउनुपर्ने व्यस्थापकीय सावधानी नअपनाएको ।
  • २५ सीट क्षमताको सवारी साधनमा क्षमताभन्दा बढी यात्रुहरु स्वयं सडक अवस्थाको जोखिम जान्दाजान्दै पनि चढेको देखिएकोले यात्रीहरुमा पनि सचेतनाको कमी रहेको देखिन्छ ।
फोटो साभार : नागरिकन्युज



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell