PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

मभन्दा बेटर कोही आउँछ भने मैले छाड्नुपर्छ : रुबिना क्षेत्री, कप्तान नेपाली महिला क्रिकेट टीम



पहिलोपोस्ट

मभन्दा बेटर कोही आउँछ भने मैले छाड्नुपर्छ : रुबिना क्षेत्री, कप्तान नेपाली महिला क्रिकेट टीम

काठमाडौं : नोभेम्बर २६ देखि डिसेम्बर ४ सम्म थाइल्याण्डमा भएको महिला एसिया कपमा नेपालले आफूले खेलका ५ वटै गेममा हार बेहोर्‍यो। आफ्नो इनिङको पूरै ओभर कुनैमा पनि खेल्न सकेन नेपालले। सबै खेलमा अलआउट भयो।
 
प्रदर्शनमा नेपाली टीम कहाँ रह्यो र केमा चुक्यो त?
 
थाइल्याण्डबाट फर्केपछि नेपाली महिला टीमकी कप्तान रुबिना क्षेत्रीसँग गोविन्दराज नेपालले गरेको कुराकानी।
 
एसियाकपमा नेपालले सबै खेल किन हार्‍यो। कमजोरी केमा थियो?
हाम्रो यो टुर्नामेन्ट नराम्रो नै भयो। हामीले जुन लेभलको विन मोमेन्टममा खेलेका थियौं, त्यो अनुसार खेल्न सकेनौं। म्याच लस्ट हुनुमा हाम्रै कमजोरी रह्यो। अरुलाई दोष दिएर पनि हुँदैन। हामीहरुले नै खेल्न नसकेका हौं।
 
एउटा राम्रो टुर्नामेन्ट खेल्ने सोचेका थियौं। हाम्रो ब्याट्सवुमन्सहरुले राम्रो नखेलेर रेस्पोन्सेवल नभएर ५ वटा म्याचमा फ्लप भयौं, यो कुनै जोक होइन। कोही पनि चल्नै सकेनन्। ओभरअल टुर्नामेन्ट नराम्रो हुन पुग्यो। जुन एक्सपेक्ट गरेका थियौं, त्यसो भएन।
 
ब्याट्सवुमनहरु नचल्नुमा कहाँनेर चुक्यो नेपाल?
त्यस्तो केही नि होइन। दुई-तीन जना ब्याट्सवुमनहरुले चाहिँ टेष्ट प्लेइङ नेशन हो। उनीहरुसँग खेल्दा डर लाग्दैन भन्दाभन्दै पनि डर लाग्यो भन्नुभयो। प्रेसर थियो भने। अरुलाई सोध्दाचाहिँ म आफैँले खेल्न नसकेको हो भनेर भने। प्रोब्लम  रिजन यही नै हो। अर्को कुरा खेल्न खोज्दाखोज्दै पनि क्रिजमा टिक्न सकेनौं। सबैलाई प्रेसर थियो।
 
ठूलो टीम भएकोमा त्यसको प्रेसर परेको त होइन?
त्यस्तै हो भन्ने कमेन्टहरु पनि आयो। तर यहाँबाट जाँदा म कन्फिडेन्ट थिए। किनकि सबै केटीहरुसँग त्यही लेभलमा खेलेका थिए। यहाँ सबैसँग कन्फिडेन्ट थियो। उता गएर त्यही कुरामा ल्याक हुन्छ भने त के भन्नु? कति जनाले चाहिँ खेल्न खोजेर पनि खेल्न नसकेको देखियो। अरु भित्री रिजनचाहिँ थाहा भएन।
 
नेपाल आफूले खेलेको ५ वटै गेममा अलआउट भयो। यसअघि नै दुई पटक भिडेको थाइल्याण्डसँग पनि चुक्यो है?
हो। अगाडिको गेमहरुमा २६, २३, ४१ मा आउट भयौं। त्यसैले खेलाडीलाई बुस्टअफ गराउन खोज्दा पनि भएन। सिनियर टीममा धेरै बुस्टअफको जरुरी लागेन मलाई। किनभने उहाँहरु सबै खेलाडी बुझ्ने हुनुहुन्छ। उहाँहरु आफूले नै कन्फिडेन्स फिल गर्न सक्नुहुन्न भने त मैले पनि सक्दिनँ।
 
मुख्य कुरा जोबाट हामीले एक्सपेक्ट गरेका थियौं, जस्तै: निरा, इन्दु, नेरी, रोशनी रश्मि, म आफैँ बलर भए तापनि आफू अलराउण्डमा खेल्छु। हो, हामीले हाम्रो ड्युटी राम्रोसँग पूरा गरेनौं। रेस्पोन्सेबल भएर खेलेनौं। यो सबै कमजोर थाइल्याण्ड विरुद्धको म्याचमा पनि देखियो। कोही कन्फिडेन्ट भएनन्।
 
थाइल्याण्डविरुद्ध नेपालले सुरुमा ३० रनको पार्टनरसिप गरिकेको थियो। तर ३३ रन बनाउँदा सबै विकेट झर्नुको कारण के हो?
रन राम्रो भइरहेको छ, प्रेसर नलिई खेल भनेर बाहिरबाट भन्दा पनि अनयुजुअल सट खेलेर आउट भएका छन् प्लेयरहरु। जुन सट त्यहाँ आवश्यक थिएन।
 
श्रीलंकाविरुद्ध २३ मा अलआउट हुँदा पनि हामी बिनाक्षति १२ थियौं। अनि त्यतिखेर पनि ब्याट्सवुमनहरुले बुझ्नुपर्ने हो। यो सट यहाँ निडेड छैन भनेर। भनेपछि त टिकेर खेल्नुपर्ने हो। विकेटको भ्यालु नभएको जस्तो भयो। विकेटको भ्यालु जबसम्म हुँदैन तबसम्म क्रिजमा टिक्न मन लाग्दैन। त्यही भएर नै ब्याट्सवुमनहरु आउट भएका हुन जस्तो लाग्यो।
 
अब अघिल्लो टुर्नामेन्टमा अगाडिको अथवा मिडल अर्डररको खेलाडी आउट भए पनि पछाडिका खेलाडीले सम्हालिएर खेलेका थिए। त्यही भएर ८०/९० को स्कोर पनि भएको थियो। तर यसपालि चाहिँ एक जना आउट भयो, अर्कोले पनि त्यही फलो गर्‍यो। एकपछि अर्को आउट हुन थालेपछि प्लेयरहरुले आफूले अझ राम्रोसँग टिकेर खेल्नुपर्छ भन्ने नै सोचेनन्। रन आको छैन। डट बल खेलिरहेको हुन्छ। अनि एउटा क्रस सट खेल्ने त्यसैमा विकेट जाने भयो।
 
थाइल्याण्ड जानुअघि स्क्याण्डलको कुरा अनि टीममा पनि खेलाडीबीच एकता  नभएको कुरा के हो त?
(हाँसेर) त्यस्तो केही होइन। स्क्याण्डलको कुरा त अस्ति नै प्रुभ भइसक्यो। त्यति बेला त्यस्तो केही भएको नै थिएन भनेर।
 
त्यो कुराले तपाईँहरुलाई मानसिक रुपमा चाहिँ कस्तो असर पर्‍यो?
ओभरअल भन्नुपर्दा त्यस्तो केही प्रेसर फिल भएन मलाई चाहिँ। क्याम्पमा हुँदा बरु भएको थियो। त्यस्तो कुराले डिस्टर्ब त गर्‍यो नै। हामीले त्यसको खण्डन गरेसँगै सबै कुरा मिलिसकेको थियो। उता गएपछि हाम्रो मुख्य फोकस गेममा थियो। अब कोहीले त्यस्तो कुरा सम्झेर खेल्ने भए त यहाँ नै प्रोब्लम सल्भ गरेर जानुपर्थ्यो।  सबै जना एग्री भएर खेल्न गएपछि यस्ता कुरा सम्झेर हुँदैन। खेल्नु त परिगो नि।
 
खेलाडीहरु शारीरिक रुपमा फिट थिएनन् भन्ने पनि सुनियो। हो?
प्लेयरहरु सबैको मेडिकल परीक्षण गरेर फिट भएर नै गाका छन्। नेरीको एन्कल इन्जुरी थियो। सुरुमा गाह्रो भए पनि पछि ठिक भयो। उसैले प्रेसर छैन खेल्न सक्छु भनेरै खेलेको हो। लास्ट टुर्नामेन्टमा राम्रो खेलेकाले अब आफूलाई बुस्ट गर्नु भनेका थियौं हामीले। ऊ जस्तो प्लेयरलाई डिमोरलाइज्ड गर्ने कुरा पनि आउँदैन। नेरी त नेपाली टीमको पिलर नै हो।
इन्जुरी भएर खेल्न नसकेको म भन्दिनँ। गेम हुनुअघि सबैसँग सल्लाह गरेर फिट छ कि छैन भनेर टीम बनाउँथ्यौं।
 
नेपालले गेम हारेसँगै फ्यानहरुले सामाजिक सञ्जालमा कोच र कप्तानले राजीनामा दिनुपर्छ भनेर आक्रोश पनि पोखे। के भन्नुहुन्छ?
क्यापटेनसिप मलाई म्यानेजमेन्टले दिएको कुरा हो। मलाई क्यापेबल देख्नुभयो मैले लिएँ। तर मभन्दा बेटर आउँछ क्याप्टेनसिप लिन्छ भने मैले छाड्नुपर्छ। जिद्दी गरेर बस्नुपर्छ भन्ने फिल छैन ममा।
 
फ्यानहरुले जे भनिरहनुभएको छ, त्यसमा मैले धेरै चासो दिएको छैन। किनकि जसले क्रिकेट बुझ्छ, उहाँहरुले यस्तो कुरा गर्नुहुन्न। टीम हार्‍यो भन्नेबित्तिकै कोचले गर्दा हार्‍यो, क्याप्टेनले सर्टेन रिजनको प्लेयरलाई सपोर्ट गर्यो रे भन्ने कुरा त हामीले पनि सुन्छौं। यस्ता कुराले मलाई केही फरक पर्दैन। सबैजनाले आफ्नो पर्फमेन्स दिएर नै टीममा परेको हो।
 
यत्रो जनामा सेलेक्सन भएको छ। सेलेक्सन कमिटीमा हेड कोच जगत सर हुनुहुन्छ, विनोद सर हुनुनहुन्छ। उहाँहरुले रङ सेलेक्सन त गर्नुहुन्न होला। समर्थकले टीमको बारेमा प्रश्न गर्नु भनेको जगत र विनोद सरलाई प्रश्न गर्नु हो। यो नै सत्य हो। यसलाई कम्प्यारिजन गर्नु भनेको त जोककै रुपमा लिन्छु।

तपाईहरुले खेल्दै गर्दा यहाँ शवनम राईको समाचार आयो। उहाँले ‘म टीममा पर्नुमा रुबिना दिदीको हात छ’ भन्नुभएको थियो। सेलेक्सन राम्रो भएन भन्ने विवाद पनि छ नि?
जसले लेख्यो नि, त्यो एकदम गलत छ। ऊ एकदम राम्रो प्लेयर हो। मान्छेले चिने पनि नचिने पनि उसले खेलेको ८ वर्षजति भयो। नेशनल लेभलमा मात्र शो गर्न नसकेको हो। मभन्दा एक-दुई वर्ष पछि मात्र आएको हो।
 
जोसले खेलिरहेको मान्छेले छोड्छ भने ‘गेम आइराछ खेल्नुपर्छ’ भनेर त भन्छौं नि। म गेम आउनुअघि पूर्वतिरका प्लेयरहरुलाई जानकारी गराउँछु। के थाहा, तिमीहरु पनि टीममा पर्छौ कि भनेर भन्थे।
 
शवनम एक-दुई हप्ता प्रशिक्षणमा आउन छाडेको थियो। त्यसैले मैले प्रशिक्षणमा आउनुपर्छ भनेको हो। अब यसलाई म्यानुपुलेट गरेर लेख्ने मान्छेले नै गलत लेखेको छ। शवनमले पनि भनिराको छ- मैले यस्तो भनेकै छैन भनेर। हु आर दे? नेगेटिभ तरिकाले लेख्ने हक छैन।
 
मैले कुनै प्लेयरलाई लेराउँछु भन्ने मेरो हक हुँदैन। सबै कुरा म्यानेजमेन्ट र सेलेक्सन कमिटीले गर्ने हो। त्यसो हुँदा एउटा प्लेयरले एउटालाई राख्ने, अर्कोले अर्कोलाई राख्ने भएपछि आआफ्नो क्षेत्रको खेलाडी ल्याएर नेपाली टीम बनाए भइगो नि!
 
यसअघिको वर्ल्डकप क्वालिफायरमा रामो प्रदर्शन गरेकी निर्मला यस पटक टीममा परिनन्। अलराउण्डर समेत रहेकी उनको अभाव कत्तिको खड्कियो?
त्यस्तो हुन्छ। उसले राम्रो खेलिरहेको थियो। हामीले धेरै कोसिस गर्‍यौं। उसले आफैँ पनि फोन गरेर म घाइते छु भनेर भनेकी थिई। उसैले दुई हप्ता रेस्ट गर्नुपर्छ भनेपछि हामीले कसरी फोर्स गर्नु। ऊ भाको भए अलि राम्रो प्रदर्शन हुन्थ्यो कि भन्ने फिलचाहिँ भयो।
 
यु १९ एसिया कप खेल्ने टीम ट्यालेन्ट हन्टमार्फत छानियो। महिलाको पनि यसरी नै छनोट गर्नुपर्छ जस्तो लाग्दैन?
निश्चय नै लाग्छ। हङकङबाट फर्केपछि हामीसँग कति नै टाइम थियो र? एसिया कपको लागि क्याम्प ढिला सुरु भयो। अब यसमा फोकस हुनुपर्छ भनेर भनेका छौं। अब कुनै टुर्नामेन्ट हुँदा ट्यालेन्ट हन्टमार्फत नै खोजेर सेलेक्सन गर्नुपर्छ। यसो गर्दा  अलि धेरै केटीहरु आउँछ र नयाँ खेलाडी टीममा आउने सम्भावना पनि हुन्छ।

एसिया कपकमा टेष्ट राष्ट्र
सँ खेल्नुभयो। खेलिरहेको थाइल्याण्डसँग पनि खेल्नुभयो। नतिजा आफ्नो पक्षमा आएन। यसबाट तपाईँहरुले के सिक्नुभयो?
सबैभन्दा महत्वपूर्ण त हामी क्रिजमा टिक्नुपर्छ। हङकङबाट फर्कनेबित्तिकै पनि म्याच प्राक्टिस गराउनुपर्छ भनेको थिएँ। बंगलादेश/भारत जोसँग भए पनि अभ्यास म्याच चाहिन्छ। क्याम्प ढिला भएकोले प्रशिक्षकले पनि कतl दिन म्याच प्राक्टिस गराउने? कति दिन प्रशिक्षण गर्ने? त्यहि भएर हामीले केटाहरुसँग म्याच प्राक्टिस गर्‍यौं।
 
अब हामीले त्यो लेभलमा कम्पिटिसन गर्न ब्याटिङमै सुधार गर्नुपर्छ। अरुको बलिङ एकदमै स्टान्डर्ड होइन। भारतको बाहेक कसैको पनि बलिङ उच्च स्तरको थिएन।
हामीले खेल्न नसकिने बलिङ पनि थिएन। हामीले डेभलप गर्नुपर्ने प्यासन हो। कुल टेम्पर हुनुपर्छ। एक-दुई ओभर रन स्कोर गर्न सकेन भने पनि ‘क्रिजमा स्टे गरेँ भने रन बन्छ’ भन्ने टेम्परमेन्ट डेभलपमेन्ट गर्नुपर्नेछ।
 
हामीले फिल्डिङमा पनि सुधार गर्नुपर्नेछ। प्रोपर लाइन र लेन्थमा बलिङ भएको भए हामीलाई त्यति धेरै पनिसमेन्ट पनि दिन्थेनन् होला। लाइन र लेन्थ बिगारेर नै सबै ओभर बिजोग भएपछि विपक्षीले पनि रन हान्छन् नि। यी कुरामा सुधार गरेको भए राम्रो रिजल्ट ल्याउन सक्थ्यौं।
 
यी सब गर्नका लागि म्याच प्राक्टिस चाहिन्छ। अब कहिले छ टुर्नामेन्ट, थाहा छैन। क्यान अथवा जो रिप्रिजेन्टेटिभ बडी हुनुहुन्छ, उहाँहरुले वर्षमा कम्तीमा पनि दुई-तीन टुर्नामेन्ट गराइदिनुपर्छ। ताकि हामी खेलिराख्न पाऔं।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell