PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पासपोर्ट नम्बरले माधव नेपाललाई दिएको टेन्सन, पत्नी गायत्री रातभर टर्कीस अध्यागमनको डिटेन्सनमा



केपी ढुंगाना

पासपोर्ट नम्बरले माधव नेपाललाई दिएको टेन्सन, पत्नी गायत्री रातभर टर्कीस अध्यागमनको डिटेन्सनमा

टर्कीको इस्तानबुल विमानस्थलबाट अमेरिका उड्न लागेको विमान चढ्न ढोका नजिकै पुगेको बेला त्यहाँका अध्यागमन अधिकारीले श्रीमती गायत्री नेपाललाई रोके। 

गत सोमबार उनलाई त्यसरी रोकिँदा उनी श्रीमान् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र अन्य दुई जना सहयोगीसँगै थिइन्।  

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्ष हुँदै टर्किस एयरलाइन्सको विमानबाट ८ घण्टा ४० मिनेटको उडानपछि २० घण्टा इस्तानबुल विमानस्थलमा ट्रान्जिटमा बस्ने र त्यसपछि अमेरिकाको वासिङटन डिसी उड्ने अर्को कनेक्टिङ फ्लाइट चढ्ने आइटिनरी थियो। 
इस्तानबुलको एटाटर्क विमानस्थलमा २० घण्टा बसुन्जेल उनलाई कसैले भनेनन्। अमेरिका उड्ने जहाज तयार भएको सूचनासँगै जब उनी विमान चढ्न गइन्, एकाएक अध्यागमनका अधिकारीले उनलाई मात्रै रोके।

विमान तयारी अवस्थामा रहेकाले रोक्नुको कारण तत्काल पत्ता लगाउन सम्भव थिएन। एक जना यात्रुका लागि विमानको उडान रोक्न सम्भव थिएन। अध्यागमनका अधिकारीले श्रीमतीलाई मात्रै फर्काएकाले आफू पनि रोकिने कि जाने अन्यौलका बीच एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एक जना सहयोगी सँगै छाडेर आफू अमेरिका उडे। गायत्री इस्तानाबुलमै अड्किइन्।

विमानको ढोकासम्मै आएका अध्यागमन अधिकारीले उनलाई फर्काउनुको कारण तत्काल बताएनन्। उनीहरुले गायत्रीलाई विमानस्थलमा रहेको अध्यागमनको डेस्कमा पुर्‍याए र केरकार शुरु गरे।

***
हराएको–चोरिएको भन्दै प्रतिलिपि निकालिएको पासपोर्ट बंगलादेशी लगायतका गैर नेपाली नागरिकले प्रयोग गरेको घटना सार्वजनिक भएपछि नेपाल प्रहरीको पहलमा त्यस्ता पासपोर्टको नम्बर संकलन गरी अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको ‘ब्ल्याक लिस्ट'मा राखिएको थियो।

नेपालले उपलब्ध गराएको ‘हराएको र चोरिएको' पासपोर्ट नम्बर इन्टरपोलले आफ्नो डाटामा राखेर १९० सदस्य राष्ट्रलाई उपलब्ध गराएको थियो। दुई वर्षअघि ६० हजार पासपोर्ट नम्बर ब्ल्याकलिष्टमा पहिलो पटक राखिएको थियो। परराष्ट्र अधिकारीका अनुसार २ वर्षको बीचमा यस्ता १ लाख ४० हजार नेपाली पासपोर्ट नम्बर इन्टरपोलको सूचीमा छ।

माधव पत्नी गायत्री इस्तानबुलको अध्यागमनको नियन्त्रणमा पर्नुको कारण यही ‘ब्ल्याकलिष्ट'मा रहेको नम्बर रहेको पासपोर्टमा अमेरिका जानु थियो।

ब्ल्याकलिस्टमा रहेका पासपोर्ट आतंकवादी, मानव तस्करी, संगठित अपराधीहरुले प्रयोग गर्नसक्ने हुनाले यसलाई सम्बन्धित देशहरुले गम्भीर रुपमा लिने गर्छन्। 

परराष्ट्र स्रोतका अनुसार अमेरिका जान गायत्रीले नोभेम्बर २ मा मात्रै परराष्ट्र मन्त्रालयबाट कुटनीतिक रादहानी लिएकी थिइन्। परराष्ट्र मन्त्रालयले उनलाई जुन पासपोर्ट दियो, त्यही नम्बर इन्टरपोलको ब्ल्याकलिष्टमा पनि थियो।

ब्ल्याकलिष्टमा रहेको पासपोर्ट बोकेर गएको भन्दै पूर्व प्रधानमन्त्री पत्नी गायत्री टर्कीको अध्यागमनको नियन्त्रणमा रहेको सूचना इन्टरपोलमार्फत् नेपालमा आएपछि हंगामा शुरु भयो।

प्रारम्भमा सूचना प्रहरी प्रधान कार्यालयमा रहेको इन्टरपोल समन्वय शाखामा आएको थियो। प्रहरीले त्यसबारे तत्काल परराष्ट्र मन्त्रालयलाई जानकारी गरायो। परराष्ट्रले गायत्रीलाई उपलब्ध गराएको पासपोर्ट नम्बर जाँच गर्दा गल्ती भएको खुलेपछि सोही अनुसारको विवरण प्रहरीलाई उपलब्ध गरायो। 

परराष्ट्रबाट आएको जानकारीको आधारमा नेपाल प्रहरीको इन्टरपोल शाखाले फ्रान्सको लियोनस्थित इन्टरपोल हेडक्वार्टरमा ‘गल्तीवश नहराएको राहादानी नम्बर कालोसूचीमा परेको’ भन्दै सच्याउन पत्राचार गरेपछि इन्टरपोलले त्यो नम्बर कालोसूचीबाट हटायो।

***
पासपोर्ट कालो सूचीबाट हटेपछि गायत्री नेपालका लागी अमेरिका जाने बाटो सहज हुनुपर्ने हो, तर त्यसो हुन सकेन।  नेपाल इस्तानबुलमा रोकिनुको कारण अमेरिकामा रहेको इन्टरपोलको समन्वय शाखा हुँदै अध्यागमनमा पुगिसकेको थियो। अमेरिकाले इस्तानाबुलको अध्यागमनलाई ‘ब्ल्याकलिष्टमा रहेको पासपोर्टवाहकले अमेरिकामा प्रवेश गर्न नसक्ने’ सन्देश पठाएपछि अर्को लफडा शुरु भयो।

अमेरिकी अध्यागमनको सन्देश परराष्ट्र मन्त्रालय आइपुगेपछि पुनः दौडधुप शुरु भयो। मन्त्रालय स्रोतका अनुसार गल्तीवश गायत्री नेपालको नाममा जारी भएको पासपोर्टको नम्बर ब्ल्याकलिष्टमा परेको भन्दै मन्त्रालयका अधिकारी आफैं नेपालस्थित अमेरिकी दूतावास गएर आग्रह गरेपछि मंगलबार बल्ल गायत्री इस्तानाबुलको अध्यागमनको नियन्त्रणबाट मुक्त भइन् र अमेरिका उडिन्।

उताको समस्या समाधान भयो। यता भने अझै लफडा जारी छ। आखिर कसको कारण गायत्रीले दुःख पाइन् भन्नेमा परराष्ट्र र प्रहरीबीच पोलापोलको क्रम जारी छ। परराष्ट्र स्रोतका अनुसार इन्टरपोललाई सूची पठाउने काम प्रहरीको भएको भन्दै त्यहाँका अधिकारीले प्रहरीलाई दोष लगाइरहेका छन्।

तर जुन नम्बर हराएको र चोरिएको भन्दै परराष्ट्रले पठाएको हो सोही अनुसारको सूची इन्टरपोलमा पठाएको भन्दै प्रहरीले आफुलाई अनावश्यकरुपमा दोष लगाएको प्रहरी स्रोतको तर्क छ। लफडा गृह मन्त्रालयसम्म पुगेपछि गृहमन्त्री विमलेन्द्र निधिले प्रहरी प्रधान कार्यालयसँग सो घटनाबारे जानकारी लिएका थिए।

माधव नेपाल निकटस्रोतका अनुसार गत सोमबार अमेरिका पुगेका माधव र गायत्री अझै एक साता उतै रहनेछन्।

अनाहकमा श्रीमतीले दुःख पाएकाले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल स्वदेश फर्किएपछि कस्तो प्रतिक्रिया दिने हुन्?

यता तनाव कायमै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell