PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बाबुराम-उपेन्द्रको विज्ञप्ति : राष्ट्रिय मुद्दा सम्बोधन नभई गरिने संविधान संशोधन अस्वीकार्य



पहिलोपोस्ट

काठमाडौं : सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले संयुक्त विज्ञप्ति जारी गरी महत्वपूर्ण राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन नगरी गरिने संविधान संशोधन स्वीकार्य हुन नसक्ने बताएका छन्।
 
आज एक संयुक्त विज्ञप्तिमार्फत उनीहरुले संविधान संशोधनको विषयमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। 'यसले मुलुकको समस्या समाधान हुन नसक्ने मात्र होइन, संविधानको स्वीकारोक्ति र कार्यान्वयन पनि हुन सक्दैन। यसले शान्ति, स्थिरता र विकासको सट्टा मुलुकलाई थप द्वन्द्व, अन्यौलता र अस्थिरतातर्फ धकेल्ने कार्य मात्र हुनेछ,' विज्ञप्तिमा भनिएको छ।
 
वर्गीय, जातीय, लैंगिक, भाषिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेद्भावहरुलाई अन्त्य गर्ने गरी संशोधन गरिनुपर्ने जनाउँदै मधेसी, थारु, आदिवासी जनजाति, खस, मुश्लिम, शिल्पी (दलित), उत्पीडित, उपेक्षित र अल्पसंख्यक समुदाय तथा पिछडिएका क्षेत्र लगायतका समस्याहरुलाई सम्बोधन गरिनुपर्ने उनीहरुको माग छ।

यस्तै उनीहरुले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था संशोधनमा सच्याउन पनि माग अघि सारेका छन्। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, पहिचानमा आधारित गठबन्धन, संयुक्त प्रादेशिक मोर्चाहरु समेत सम्मिलित सङ्घीय गठबन्धनले उठाएका राष्ट्रिय मुद्दाको माग सम्बोधन गरेर मात्र संशोधन गर्न उनीहरुको आग्रह छ। राष्ट्रिय पहिचानको मान्यता, अधिकारसहितको सङ्घीयता, पूर्ण समानुपातिक प्रतिनिधित्व हुने संसद्, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, राज्यका सबै अङ्गमा समानुपातिक समावेशीकरण, बहुभाषिक नीति, स्वायत्तता तथा स्वशासन, सामाजिक न्याय र समानताको अधिकार अवलम्बन गरिनुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell