PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​माओवादी सशस्त्र युद्धको क्रिश्चियन साइनो



​माओवादी सशस्त्र युद्धको क्रिश्चियन साइनो

  • उमेश श्रेष्ठ -
काठमाडौँ :  १९ वर्षअघि आजकै दिन रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि आक्रमण गरी सशस्त्र युद्ध थालेको माओवादीले राजतन्त्र अन्त्य र धर्म निरपेक्षताको आफ्नो अजेन्डालाई अन्तरिम संविधानमा लिपिवद्ध गर्न सफल भयो।

हाल राप्रपा नेपाल लगायतका दल धर्म निरपेक्षताको विरोधमा लागेको भए पनि माओवादीले यसलाई स्वीकार गरेको छैन। आखिर के छ त माओवादीको सशस्त्र युद्धसँग क्रिश्चियन साइनो?

२०५२ सालमा औपचारिक रुपमा सशस्त्र युद्ध थालनी भए पनि विद्रोहको उद्‍गम थलोमा यसको कारक तत्वहरुले धेरै अगाडिदेखि नै पृष्ठभूमि तयार पारेको थियो। सोचेभन्दा छिटो फैलिएको माओवादी सशस्त्र युद्धको मूल जड पत्ता लगाउन अमेरिकाको अन्तर्राष्ट्रिय विकास सम्बन्धी संस्था युएस एडले आफ्नो खर्चमा रबर्ट गेर्सोनीलाई कन्सलट्यान्ट बनाउँदै एउटा अध्ययन गर्न लगाएको थियो।

‘सोइङ द विन्ड : हिस्ट्री एन्ड डायनामिक्स अफ दि माओइस्ट रिभोल्ट इन नेपाल्स राप्ती हिल्स’ शीर्षकमा २००३ मा प्रकाशित प्रतिवेदनमा माओवादी जनयुद्धको उद्‍गम स्थलमा विद्रोहको क्रिश्चियन साइनोलाई समेत पहिल्याउने काम गरेको छ।

२०२५ सालको क्रिश्चियन फैलावट

माओवादी आन्दोलनको उद्गम थलो राप्ती अञ्चलको दुई जिल्ला रोल्पा र रुकुममध्ये पूर्वी रुकुमको एउटा केन्द्र थियो तकसेरा। विक्रम संवत् २०२५ सालमा नेपाल सरकारको अनुमति लिएर त्रिभुवन विश्वविद्यालयमार्फत् समर इन्स्टिच्युट अफ लिङ्ग्विस्टिक्स (सिल) ले नेपालका भाषा र भाषिकाहरुको वर्गीकरण गर्ने सम्झौतामा हस्ताक्षर भयो।

भाषाको आवरण दिए पनि यो संस्था आदिवासी भाषाहरुमा बाइबललाई अनुवाद गर्ने एउटा मिसनरी संस्था थियो। सिलका परियोजना निर्देशक डा. डेभिड वाटर्स मुस्ताङको जोमसोम हुँदै तकसेरा र पूर्वी रुकुमका अन्य गाविसहरुमा पुगे। त्यहाँ उनले खाम मगर भाषाको अध्ययन मात्रै गरेनन्, उनी र उनको परिवार त्यहीँ घर बनाएरै बस्न थाले।

त्यहाँ उनले प्राथमिक स्वास्थ्य उपचार प्रदान गर्न थाले। हरेक वर्ष बाली भित्र्याएपछिको खाली खेतलाई सिंगल इन्जिनको विमान उत्रन मिल्ने मैदान बनाएर सिलले पठाउने विभिन्न सामान, औषधी उतार्न थालियो। होन्डा मोटरसाइकल पनि पहिलो पटक यसरी नै त्यतिबेला उतारियो। उनीहरुले स्याउ र बेलायतबाट ल्याइएका आलुको बीउ पनि त्यहाँ रोप्ने प्रयोग सफलताका साथ गरे।

बाइबल खाम भाषामा अनुवाद

डा. वाटर्सले बाइबललाई खाम भाषामा अनुवाद गरे। यसैबीच सरकारसँग सम्झौताको अवधि सकियो र वाटर्स परिवारले तकसेरा छाडे। उनले गाउँ छाडे पनि खाम मगर बोल्ने केही स्थानीय बासिन्दाले हरेक साँझ त्यहाँ मैनबत्ती बालेर उनीद्वारा अनुवादित बाइबलका पंक्तिहरु गाउँथे। प्रतिवेदनका अनुसार, चार वर्षपछि केही सयको संख्यामा स्थानीय बासिन्दाहरु क्रिस्चियन भइसकेका थिए जुन तकसेराको कूल जनसंख्याको सानो प्रतिशतमात्रै थियो।

जिल्लाको नयाँ सदरमुकाम मुसिकोट (यसअघि रुकुमकोट थियो) मा यो खबर पुग्यो। विश्वको एकमात्र हिन्दु अधिराज्यमा धर्म परिवर्तन गैरकानुनी थियो। पूर्वी रुकुमका मगरहरुमा धर्म परिवर्तन व्यापक रहेको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीले अनुसन्धानका लागि प्रहरी पठाए।

क्रिश्चियनहरु पक्राउ

स्थानीय क्रिश्चियन नेताहरुलाई पक्राउ गर्ने आदेश दिइयो। नौ जनाले आफूले क्रिश्चियन धर्म परिवर्तन गरेको स्वीकार गरे र उनीहरुलाई एक वर्षको सजाय दिइयो। अरुलाई धर्म परिवर्तन गर्न लगाएको आरोपबाट भने उनीहरुले सफाइ पाए। त्यो पनि प्रमाणित भएको भए उनीहरुलाई थप छ वर्ष कैद हुन्थ्यो।

प्रतिवेदन अनुसार त्यसपछि पनि धेरै क्रिश्चियनहरुलाई सताउने र पक्राउ गर्ने काम भयो। पूर्वी रुकुमका गैर क्रिश्चियनहरुसमेत यसबाट आक्रोशित भएको र तीमध्ये धेरै आफूलाई मूलधारका हिन्दु नठान्नेहरु भएको प्रतिवेदनको ठहर छ।

जेलमा रहेका नौ क्रिश्चियन नेताहरुमध्ये संगीतमा अब्बल एक जनाले क्रिश्चियन गीतहरु खाम भाषामा रचेर गुपचुप तकसेरा पठाएको र त्यसबाट थप स्थानीय बासिन्दाहरु क्रिश्चियानिटीप्रति आकर्षित भएको प्रतिवेदनमा उल्लेख छ। पक्राउ परेका यी नौ जना क्रिश्चियन नेतामध्ये एक जना माओवादी भएको बताइएको त्यसमा उल्लेख छ।
 

क्रिश्चियनहरुको चन्दाले बनेको पानी मिल

२०३९ सालतिर विदेशमा रहेका क्रिश्चियनहरुले तकसेरा जेलमा रहेका बन्दीहरुको बारेमा खबर पाएपछि उनीहरुको परिवारको लागि चन्दा संकलन गर्न थाले। यति धेरै रकम जम्मा भयो कि त्यहाँका क्रिश्चियनहरुले त्यो पैसा परिवारलाई मात्र नभई त्यो क्षेत्रकै पहिलो आर्थिक विकास योजनामा लगाउने निर्णय गरे।

गाउँमा लामो समयसम्मको छलफल र अध्ययनपछि उनीहरुले नदीको पानीले चल्ने स्विट्जरल्यान्डमा बनेको मिल र एउटा सानो स-मिल किन्ने निर्णय गरे। तर सामान किन्न पुग्नुपर्थ्यो काठमाडौँ, तकसेराबाट निकै टाढा।

गाउँलेहरुले एउटा सानो समूह काठमाडौँ पठाए। उनीहरुले केही महिना त्यहाँ बसेर मिलका सामानहरु कसरी छुट्याउने र कसरी जोड्ने सिके। त्यसपछि थप गाउँलेहरुलाई काठमाडौँ बोलाइयो र उनीहरुले मिलका सामानहरुसहित त्यसका लागि आवश्यक घर बनाउन सिमेन्ट र स्टिल किनेर गाउँ लगे।

यो समुदायको पहिलो आर्थिक विकास परियोजनाले राम्रैसँग काम गर्‍यो। यो मिलले क्रिश्चियन र गैरक्रिश्चियन दुवै समुदायलाई सेवा दिन्थ्यो। मिल रहेको घर दुई तले थियो। माथिल्लो तल्लामा चर्चको मिटिङ हल थियो।

मिलले ल्याएको तनाव

विक्रम संवत् २०४० सालमा एक क्षेत्रीय अधिकारीले तकसेरावासीलाई मिल बन्द गर्न पत्र लेख्यो। गाउँका मुखियाले पत्र लेख्दै बन्द गर्न अस्वीकार गरे। सरकारी अधिकारीले बन्द नगरे मिल भत्काइदिने चेतावनी दिए। गैरकानुनी रुपमा क्रिश्चियन भएकाहरुले आफ्नै पहलमा यस्तो परियोजना ल्याएर राजाको भूमिकालाई अवमूल्यन गरेको आरोप थियो। भत्काइदिने चेतावनी पाएपछि क्रिश्चियनहरुले थप जोखिम मोल्न चाहेनन् र मिल बन्द गरिदिए।

तर गैर क्रिश्चियनहरुले भने बन्द गर्न नहुनेमा जोड दिए। मिल बन्द गर्न प्रहरी गाउँको बाटो आउँदै गर्दा, प्रतिवेदनका अनुसार, गैर क्रिश्चियनहरुले, एम्बुस थापे। उनीहरुका हतियार खोसे, लुगा खोल्न लगाए, जुङ्गाका रौँ उखेले र कालो मोसो दली घाँटीमा डोरी बाँधेर तान्दै गाउँ डुलाए।

पछि सरकारसँगको यो द्वन्द्व मिल्यो र मिललाई सञ्चालन गर्न अनुमति दिइयो। यी घटनाले राज्यले पूर्वी रुकुमको विकासलाई बेवास्ता गरेको, हस्तक्षेप गरेको र हिंसात्मक विरोधले सफलता पाएको उदाहरणका रुपमा लिइने गरेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा माओवादी सशस्त्र द्वन्द्वको उद्‍गम थलोमा विद्रोहको हाँगा फैलनुअघिका विभिन्न घटनाको सूक्ष्म विश्लेषण गरिएको छ।

तीमध्ये क्रिश्चियन कारण एउटा पक्षमात्रै हो। त्यसबाहेक गाँजामा लगाइएको प्रतिबन्ध, रुकुम सदरमुकाम परिवर्तन हुनु, रुकुम र रोल्पाको विमानस्थल, लिवाङ अस्पताल, मोहन विक्रम सिंहको माध्यमबाट कम्युनिज्मको प्रभाव बढ्नु, सरकारी प्रतिक्रिया आउन ढिला हुनु आदिलाई विद्रोहको मूल कारणका रुपमा पहिल्याइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell