PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अबको लक्ष्य साफ च्याम्पियनसिप : विराज महर्जन, जसको कप्तानीमा नेपाललाई लगातार तीन उपाधि



गोविन्दराज नेपाल

अबको लक्ष्य साफ च्याम्पियनसिप : विराज महर्जन, जसको कप्तानीमा नेपाललाई लगातार तीन उपाधि

नेपालले मंगलबार मलेसियामा मकाउलाई हराउँदै एएफसी सोलिडारिटी कपको उपाधि जित्यो। एएफसीले आयोजना गरेको महादेशीय प्रतियोगिता नेपालले जितेको यो पहिलो प्रतियोगिता थियो। सन् १९५४ मा एएफसीको सदस्य बनेको नेपालले १९८२ बाट एएफसीको प्रतियोगिता खेल्न थालेको थियो। त्यसयता नेपाल फाइनलसम्म पनि पुगेको थिएन। सन् २००६ मा एएफसी च्यालेन्ज कपको सेमिफाइनल पुग्नु नै नेपालको लागि ठूलो सफलता थियो।  तर वर्ष २०१६ को सुरुवात देखि नै लयमा रहेको नेपालले लगातार तेस्रो उपाधिको रुपमा सोलिडारिटी कपको उपाधि जित्यो र सारा नेपालीलाई खुशी बनाउन सफल भयो। यी तिनै प्रतियोगितामा नेपालको नेतृत्व सम्हालेका विराज महर्जनसँग नेपाली फुटबलले हात पारेको सफलता, सोलिडारिटी कपको अनुभव र नेपाली फुटबलको भविष्यको बारेमा पहिलोपोस्टका गोविन्दराज नेपालले गरेको कुराकानीको सम्पादित अंश :

मलेसियामा हात पारेको सफलतालाई कसरी लिनुहुन्छ ?

यो त हाम्रो लागि बिग अचिभमेन्ट (ठूलो सफलता) हो। धेरै ठाउँमा खेलियो, हार र जित भइरहन्छ। एएफसीले आयोजना गरेको टुर्नामेन्टमा अहिलेसम्म हामीले जित हासिल गर्न सकेका थिएनौं। तर हामीले सोलिडारिटी कपको उपाधि जितेर ट्रफी नै लिएर आउनु भनेको एउटा खेलाडीको लागि ठूलो अचिभमेन्ट हो। हाम्रो लागि मात्र नभएर सम्पूर्ण नेपाली फुटबल जगतको लागि नै यो ठूलो सफलता हो।

सबैले यो सफलतालाई मूल्यांकन गर्न थालेका छन्। त्यो हिसाबले पनि हामी आफूलाई सौभाग्यशाली मान्छौं।

ओभरअल टीमको प्रदर्शन चाँही कस्तो रह्यो। फाइनल त जितियो तर कत्तिको सन्तुष्ट हुनुहुन्छ खेलाडीहरुको परफरमेन्समा ? 

योभन्दा अगाडि हामीले बंगबन्धु र साग पनि खेल्यौं र जित्यौं। दुवै प्रतियोगितामा यही टीम खेलेका थियौं। यस पटक पनि सबैले राम्रो खेले। आफ्नो ठाउँबाट सक्ने जति प्रदर्शन गरे। तर कहिलेकाहीँ दुःखसुख त भइहाल्छ। म व्यक्तिगत रुपमा के भन्छु भने जित नै हो सबैभन्दा ठूलो कुरा। कसैले हामीलाई राम्रो नराम्रो भन्ला। तर भोलिपर्सि हामी सबैले सम्झने भनेकै जित हो।

उपाधि यात्रासम्म हाम्रो टीममेटले जति पनि खेल्यौं। म एकदमै आभारी छु धन्यवाद दिन चाहन्छु। टीम गेमले नै हामी च्याम्पियन बन्यौं।
टीममा जो जसले खेल्ने चान्स पाए, उनीहरुले आफ्नो बेस्ट परफरमेन्स दिए। जसले खेल्न पाएनन् उसले पनि कुनै दिन चान्स पाउँछ। त्यसबेला उसले आफ्नो अवसरलाई ग्रायब गर्योप भने निश्चय नै आगामी दिनमा उसले निरन्तर खेल्न पाउँछ।

अहिलेको वर्तमान नेपाली फुटबलको अवस्थालाई यो सफलताले कुन हदसम्म सहयोग गर्छ ?

निश्चय नै यसले महत्वपूर्ण सहयोग गर्छ। आज नहोला, भोलि नहोला, तर पछि अवश्य सहयोग गर्छ। हाम्रो पालामा नहोला तर जुनियर भाइहरु छन्, जो अहिले खेलिरहेका छन्, उनीहरुको भविष्यका लागि यसले ठूलो मद्दत पुर्या,उँछ। उनीहरुले लागि यो एउटा उदाहरण हुन्छ। दाइहरुले गरेको छ, हामीले पनि गर्नुपर्छ, खेल्नुपर्छ भन्ने उनीहरुमा पनि उत्साह जाग्छ जस्तो लाग्छ।

सफल रातारात हुने होइन गर्दै जाँदा हुन्छ। नेपालले पनि राम्रो खेलिरहेको छ। चेन्ज भनेको एकैचोटी हुँदैन विस्तारै विस्तारै हुने कुरो हो। फुटबलमा पनि हुन्छ। हामीले यसलाई पोजिटिभ रुपमा लिनुपर्छ।

सरकारले हरेपटक च्याम्पियन हुँदा नगद पुरस्कारसहित सम्मान घोषणा गर्छ त्यसले खेलाडीहरुमा कस्तो हौसला प्रदान गर्छ ?

यो त एकदमै खुशीको कुरा हो। कुनै पनि ठाउँमा आफूले राम्रो काम गरेर सफलता हासिल गरेर सम्मान पाउनु राम्रो कुरा हो। चाहे त्यो सानो होस् या ठूलो। तैपनि एउटा खेलाडीले खेलक्षेत्र नै आफ्नो जीवन भनेर सोचेको हुन्छ, लागेको हुन्छ। सबै समय यसैमा बिताएको हुन्छ। अनि आफ्टर गेम ह्वाट नेक्स्ट? उहाँहरुले अझै पनि यसबारे सोचेर खेलाडीको भविष्य सुनिश्चित गरिदिने हो भने खेलाडीहरुको लागि थप हौसला बढ्छ जस्तो लाग्छ।

हामीले अहिलेसम्म साफ च्याम्पियन जित्न सकेका छैनौं। तर लगातार तीन प्रतियोगिता जित्यौं। एएफसीले नै गरेको भए पनि सोलिडारिटी कपलाई कमजोर टीमहरुको प्रतियोगिता भन्ने कुरा पनि आएका छन् नि ?

तर यसलाई एज य प्लेअर म ठुलो सानो भन्दिन। बाइ चान्स हामीले सोलिडारिटी कपमा राम्रो गर्न नसकेर हारेको भए त्यसलाई के भन्ने त? कुनै पनि प्रतियोगितामा च्याम्पियन बन्न सबैको मेहनत हुन्छ, लगन हुन्छ। हामीले मेहनत गरेर नै टाइटल अचिभ गरेका हौं। कुनै पनि खेल चाहे क्रिकेट होस् या फुटबल सबै खेलाडीले उत्तिकै मेहनत गरिहरको हुन्छ। आफ्नो तर्फबाट बेस्ट दिइरहेको हुन्छ। मेहनतले नै सफल हुने हो। र हामी त्यसरी मेहनत गरेर नै च्याम्पियन बन्न सफल भएका हौं।

अबको तपाईहरुको अर्थात नेपाली फुटबलको टार्गेट के हो ? 

हामीले अहिले जुन सफलता हासिल गरेका छौं यसभन्दा तल झर्न भएन। तल झर्नु नराम्रो पनि हुन्छ। यसलाई कायम राख्दै अझ प्रगति गरेर ठूलो सफलता हात पार्नु नै हाम्रो लागि र सम्पूर्ण फुटबलको लागि राम्रो हुनेछ। हाम्रो टार्गेट भनेको साफ च्याम्पियन बन्ने नै हो।

अब नेपाली फुटबलमा अझै विकास गर्न के गर्नुपर्छ?

हामी खेलाडीभन्दा पनि सरकारी निकायबाट, विभिन्न सेक्टरहरुबाट कसरी हुन्छ नेपाली फुटबलको विकास त्यसमा ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ। हामी खेलाडीले मेहनत गर्ने छँदैछ। अन्य सेक्टरले पनि साथ दिने हो भने नेपाली फुटबल अझै अगाडि बढ्नेछ। हाम्रो काम भनेको कसरी हुन्छ राम्रो खेल्ने हामी त्यसमा लागिरहन्छौं। अब सोच्ने बेला सरकार र अन्य निकायको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell