PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

​नेपाल ६२ वर्षपछि एएफसीको प्रतियोगितामा च्याम्पियन



गोविन्दराज नेपाल

​नेपाल ६२ वर्षपछि एएफसीको प्रतियोगितामा च्याम्पियन

काठमाडौं : एसियाली फुटबल महासंघ एएफसीको सदस्य बनेको ६२ वर्षपछि नेपाल पहिलोपटक एएफसीले आयोजना गरेको प्रतियोगितामा च्याम्पियन बनेको छ। 

मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपको फाइनलमा नेपाल मकाउलाई १-० ले पराजित गर्दै च्याम्पियन बनेको हो।

कुचिङस्थित सारावक स्टेडियममा भएको फाइनलमा नेपालको जितमा सुजल श्रेष्ठले निर्णायक गोल गरे।

पानी जमेको मैदानमा नेपालले खेलको २८ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो। भरत खवासले डि एरियाको लाइनबाट दिएको क्रसमा सुजलले हेडमार्फत् गोल गरेका हुन्। त्यसपछि पनि नेपालले गोल गर्ने कहेी अवसर बनाएपनि गोल अन्तर बढाउन सकेन।

अन्तत नेपालको जितमा सुजलको हेड गोल नै निर्णायक रह्यो। प्रतियोगितामा सुजलले गरेको यो नै एक मात्र गोल हो।

सोलिडारिटी कपको उपाधि नेपालले यो वर्ष जितेको तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। नेपालले २०१६ को सुरुमै बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो भने भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुदमा नेपालको यु २३ टीमले भारतलाई पराजित गर्दै उपाधि जितेको थियो।

अर्को संयोग के रह्यो भने नेपालले जितेको तीन वटै प्रतियोगितामा विराज महर्जन कप्तान थिए भने तीनै प्रतियोगितामा तीन भिन्न प्रशिक्षक थिए।

सोलिडारिटी कपमा नेपालको कप्तान अनिल गुरुङ रहे पनि उनले कुनै पनि खेल पहिलो रोजाईमा खेलेनन्।

जापानी प्रशिक्षक ग्योतोकु कोजीले आफ्नो पहिलो प्रतियोगितामा नै नेपाललाई उपाधिस्वरुप सोलिडारिटी कपको उपाधि दिलाएका हुन्।

यसअघि बंगबन्धु गोल्डकपमा नेपाल च्याम्पियन बन्दा नेपालको प्रशिक्षक बालगोपाल महर्जन थिए भने दक्षिण एसियाली खेलकुदमा राजुकाजी शाक्य प्रशिक्षक थिए। सोलिडारिटी कपमा पनि शाक्य कोजीको सहयोगी प्रशिक्षक थिए।

सोलिडारिटी कपमा समूह ए को विजेता बनेको नेपालले सेमिफाइनलमा लाओसलाई पेनाल्टीसुटआउटमा ३-० ले हराएको थियो।

समूहको पहिलो खेलमा टिमोर लेस्टेसँग गोलरहित बराबरी खेल्दै प्रतियोगिता सुरु गरेको नेपालले दोस्रो खेलमा ब्रुनाईलाई ३-० ले हराएको थियो।
उपाधि जित्ने क्रममा नेपालले कुल ६ गोल गर्दै २ गोल मात्र बेहोर्यो।

प्रतियोगितामा उपविजेता बनेको मकाउका लियोङ का हाङ 'मोस्ट भ्यालुएबल प्लेअर' घोषित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell