PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

​तिमी र म घुम्न जाऊँ न !



​तिमी र म घुम्न जाऊँ न !
सोमिया भन्छिन्, ‘तर यो गीतमा अलि फरक स्वर अनि स्वरको ‘युनिकनेस’का बारेमा कमेन्ट आएकोले पनि खुसी लागेको छ।‘

  • अनन्त कोइराला-
सोमिया बराइली सपिङ सेन्टरको 'चेन्जिङ् रुम'मा कपडाको साइज नाप्दै थिइन्। काउन्टरमा बसेका दुई युवतीले गुन्गुनाएको सुनिन्, 
‘पारी त्यो डाँडामा घाम लाग्यो घमाइलो
 मलाई लाग्यो रमाइलो, तिमी र म घुम्न जाउँ न'
 
त्यो उनलाई रमाइलो लाग्यो। सोमिया चेन्जिङ रुमबाट बाहिर निस्किन्। काउन्टरमा गएर सोधिन्, 'कस्तो लाग्यो गीत?' 
'राम्रो छ,' प्रतिक्रिया आयो।

'यो गीत गाउने केटी म नै हुँ,' सोमियाको जवाफले काउन्टरमा बसेका युवती आँ गरेको गर्यै, भए। 'खै, पत्याए कि पत्याएनन् कुन्नि!'  सोमियाले भनिन्। 
 

यति धेरै म्यासेज, यति धेरै कमेन्ट

कालीप्रसाद बास्कोटाको फेसबुक फ्यान पेजमा जम्मा पाँच सय लाइक्स थियो, मात्रै २० दिन अगाडि। २० दिनमा उनको पेजमा ७ हजार बढी लाइक्स पुगेको छ। ‘यति धेरै म्यासेज, यति धेरै कमेन्ट, यति धेरै ‘कम्प्लिमेन्ट’ ! बास्कोटाले भने।

जनवरी १५ तारिखमा युट्युबमा अपलोड भएको रेशम फिलिलीको 'जालमा' गीत यो समाचार तयार पार्दासम्म युट्युबमा ५ लाख ३५ हजार 'हिट' भएको छ। ६ सयभन्दा बढी प्रशंसा गरिएका कमेन्ट आएका छन्। लगभग ७ हजार लाइक्स छ। 

'गीत हिट हुन्छ भन्ने त अनुमान थियो तर यतिसम्म होलाजस्तो त लागेको थिएन,' जालमा गीतका गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाले भने। यो गीतका शब्द पनि उनैले लेखेका हुन् मानस राजसँग मिलेर। 

त्यसो त बास्कोटाको यही गीत मात्रै हिट भएको होइन। उनले संगीत भरेका 'लैजा हे...', 'दैव हे...' लगायत धेरै हिट गीतहरु छन्। तर यो गीतले उनलाई झन् हिट बनाइदियो। 

बास्कोटाले गीतमा स्वर दिएको यो नै पहिलोपटक नभएपनि व्यवसायिक गीतका लागि स्वर दिएको भने पहिलो गीत नै हो। अनि सोमियालाई पनि यही गीतले नै बजारमा परिचय दियो। उनले यसअघि सुगम पोखरेलसँग के यो माया हो फिल्मको एउटा गीतमा आवाज दिएकी थिइन् तर त्यो गीतले उनलाई खासै परिचय दिएन। 

शब्द आफ्नै, संगीत आफ्नै अनि स्वर पनि आफ्नै। ‘यो मेरो महत्वाकांक्षा चाहिँ हैन, तर मलाई यो गीतमा अरु गायकको स्वर मिल्छ जस्तो नै लागेन,’ बास्कोटाले भने, ‘महत्वाकांक्षी नै भएको भए त पहिला नै गाउँथेँ नि, किनकी मेरा संगीतमा पहिला पनि धेरै गीतहरु राम्रै चलेका छन्।‘

यसरी भेटिइन् सोमिया

गीतमा रहेको महिला स्वरमा सोमिया भेटिनुलाई बास्कोटा गीतको, आफ्नो र सोमिया सबैको भाग्य भन्छन्। झम्सिखेलको ‘एब्सोलुट लाउन्ज बार’मा गीत गाउँदा रेशम फिलिलीका निर्माता विनय श्रेष्ठले सोमियाको आवाज सुनेका थिए। त्यसकै आधारमा श्रेष्ठले बास्कोटालाई सोमियालाई भेट्न भने। 

१९ वर्षीया यी गायिकालाई बास्कोटाले अर्कै गीतका लागि बोलाएका थिए। तर पछि आफैसँग जुगलबन्दी गरे। ‘उनको स्वर यो गीतमा ‘सुट’ हुन्छ कि हुँदैन थाहा थिएन,’ उनले भने, ‘उनको स्वरमा फरकपन छ, त्यो स्वर गीतमा ‘सुट’ भयो।‘

उता सोमियालाई चाहिँ गीतको शब्दले नै छोयो। ‘यो गीतका शब्दमा रहेका साधारण कुरा, जो हरेक युवायुवतीले सोच्छन् त्यो मन परेर पनि गीत गाएकी हुँ,’ उनले भनिन्, ‘युवतीलाई चिन्ता हुने बिषय पनि धोखा, अनि सुनचाँदी हैन सिन्दुरको बढी चिन्ता हुन्छ।‘ उनको विचारमा गीत हिट हुनुको कारण शब्दको मिठास अनि यसको लय नै हो।

यसरी जन्मियो गीत

‘जालमा’ पहिला रेशम फिलिलीको लागि भनेर बनेको थिएन। यो अर्कै प्रयोजनका लागि बनेको थियो। तर पछि रेशम फिलिली फिल्ममा राखियो। किन त? रेशम फिलिलीको कथालाई गीतले कसरी न्याय गर्ला? बास्कोटा भन्छन्, ‘यो गीतले रेशम फिलिलीको मुख्य पात्रको मनोभावलाई ठ्याक्कै बोकेको छ।‘

गीत लेख्दा गीतकार बास्कोटाको दिमागमा गाउँघरको लेखपढ नगरेको एउटा युवाले प्रेम गर्दा उसले कसरी गर्ला, उसले युवतीलाई कसरी प्रस्ताव गर्ला? अनि केटाभन्दा अलिकति बाठी केटी, उसको प्रस्तावलाई कसरी जवाफ दिन्छे होला? भन्ने प्रश्न उनको दिमागमा थियो। त्यसैले पनि उनले माया, प्रेमका ठूला ठूला शब्द र सपनाको सट्टा साधारण शब्दलाई गीतमा उतारे।

सुरुमा बास्कोटाले
पारी त्यो डाँडामा घाम लाग्यो घमाइलो
लाग्यो मलाई रमाइलो, तिमी र घुम्न जाउँ न।
अनि घामले मलाई सताउला, काली मलाई बनाउला
तिमी पिरतीको छाता ओढाउन 

लेखे र त्यसमा संगीत भरे। ‘कम्पोज गर्दा कुनै एउटा नेपाली लयलाई टिप्छु र नेपाली भाकामा केही फरक गर्छु भन्ने थियो,’ गीत कम्पोज गर्दाको क्षण सम्झँदै उनले भने, ‘पारी त्यो डाँडामा’ भन्ने लाइनलाई जुन ‘बिट’मा उठाइएको छ त्यसरी नेपाली गीतहरु उठ्दैनन्। यो गीतको लय नेपाली हो।‘
 

गीत सुपर हिट, सोमिया बेखबर

‘नेपाली तारा’मा ‘जालमा’ गीत बजाइयो। केही मान्छेले त्यहीं सुनेका भरमा ‘रेशम फिलिली’को फेसबुक पेजमा गीत बजारमा ल्याउन अनुरोध गरे। युट्युबमा गीत राखियो। त्यसपछि सुरुका स्रोता भए विदेशमा रहेका नेपालीहरु। दुई दिनमा युट्युबबाट गीत माइक्रोबस, बस, रेस्टुराँ हुँदै धेरैका मोबाइलमा पुगिसकेको थियो।

गीत रातारात हिट हुँदै गइरहेको थियो तर यसकी गायिका सोमिया भने बेखबर थिइन्। गीत सार्वजनिक हुँदा सोमियाले आफ्नो हजुरबुबा गुमाइन्। उनी हजुरबुबाको मृत्युमा शोक मनाइरहेकी थिइन्। मोबाइल, फेसबुक सबैतिरबाट परै बसेकी उनलाई केही दिनपछि विनय श्रेष्ठले फोन गरेर भने, ‘सोमिया, बधाई छ, गीत गज्जप हिट भयो।‘ सोमियाले त्यसपछि फेसबुक खोलिन्, युट्युबमा हेरिन्। 


गीतमा आएका कमेन्टले खुसी त दिने नै भयो। त्यसमाथि आफुले गाएको गीतको बारेमा राम्रो कमेन्ट सुन्दा कसलाई मन नपर्ला र ! ‘प्राय: पहिलाको स्वर भनेपछि सुरिलो, ‘हाइ पीच’मा गाउनु पर्ने जस्तो ठानिन्छ,’ सोमिया भन्छिन्, ‘तर यो गीतमा अलि फरक स्वर अनि स्वरको ‘युनिकनेस’का बारेमा कमेन्ट आएकोले पनि खुसी लागेको छ।‘

मानविकी संकायमा बिए पहिलो वर्षमा अध्ययन गरिरहेकी सोमिया गीत गाएरै नेपाल बस्ने कि उच्च शिक्षाको लागि विदेश जाने दोधारमा छिन्। ‘यो गीतपछि धेरै ‘अफर’ आएका छन्,’ उनले भनिन्, ‘तर म चाहिँ के गर्ने भन्ने दोधार मै छु। विदेश जाने इच्छा पनि छ।‘ 

कफी सपमा बसेर जालमा गीतको बारेमा कुरा गरिरहँदा बाहिर भने कालीप्रसाद बास्कोटाले नै गाएको रेशम फिलिलीको शीर्ष गीत बज्दै थियो। ‘मैले पहिलो चरणमा बनाएर राखेको गीतलाई पूरा गर्न मानस (मानस राज, जो यो गीतका लेखक पनि हुन्) मैले यस्तो गीत बनाएको छु यसलाई पुरा गरौं न भनेँ,’ बोल्दाबोल्दै आफ्नो गीत सुनेर टक्क रोकिएका उनले हाँस्दै भने, ‘मानस र म बसेर सल्लाह गर्दै, शब्द थप्दै गीत पुरा भयो।‘

अल्मोडाको एरेन्जले गीतै फरक


यो गीत यति राम्रो हुनुमा यसका ‘एरेन्जर’ अल्मोडा राणा उप्रेतिको भूमिका पनि कम छैन। बास्कोटाले यो गीतको ‘डेमो’ पहिल्यै बनाइसकेका थिए। उनलाई राम्रो पनि लागेको थियो। तर त्यही बीचमा भेट भए अल्मोडा। डेमो सुनेपछि अल्मोडाले भने, ‘यसको लय एकदम राम्रो छ, यसलाई त जसरी पनि खेलाउन सकिन्छ।‘ त्यसपछि बास्कोटा र राणाले गीतलाई राम्रो बनाउन संयुक्त काम गर्न थाले। 

त्यहीबेला बास्कोटालाई गीतमा रहेको ‘ओ बैगुनी... ओ निष्ठूरी’ क्लिक भयो। ‘लामो प्रक्रिया पार गरेर यो गीत जन्मियो, गीत ठ्याक्कै यसरी भन्यो भन्नै गाह्रो छ,’ बास्कोटा भन्छन्, ‘शब्दबाट सुरु भएर डेमो, कम्पोजिसन, एरेन्ज हुँदै अन्तिम ‘प्रोडक्ट’ आउँदा अर्कै भयो।‘

युवा युवतीको प्रेम संवाद रहेको गीतका शब्द लेख्ने यी गीतकार तथा संगीतकारले आफूले प्रेम विवाह गरेका होइनन्। ‘यो त्यसरी मिल्नुमा मेरो आफ्नो अनुभव चाहिँ होइन। तर खै, ममा पहिला नै प्रेम भाव पो थियो कि?’ उनको स्पष्टिकरण। 

जाँदाजाँदै बास्कोटालाई रेशम फिलिलीको शीर्ष गीतका बारेमा प्रश्न सोधियो, गीत हिट हुने युवा पुस्ताबाट हो भन्ने सोचेर उनीहरुलाई नै सोचेर बनाइएको हो? बास्कोटाले त्यसलाई स्वीकारेनन्। भने, ‘युवा पुस्तालाई सोचेको हैन तर अरुले नसोचेको ठाउँमा चाहिँ मैले सोचेको हुँ, शब्द तथा लयमा।‘  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell