PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

विदेशीलाई 'एटिएम फ्रड' गर्न नेपालीकै साथ : तीन कारण, जसले यो सम्भव बनाएको छ



सविन ढकाल

विदेशीलाई 'एटिएम फ्रड' गर्न नेपालीकै साथ : तीन कारण, जसले यो सम्भव बनाएको छ

काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लगातार सार्वजनिक गरेका घटनाले विदेशीहरुले ठूलो स्तरमा ‘एटिएम फ्रड’ गरिरहेको खुलासा भएको छ। उनीहरुलाई यसो गर्न नेपालीहरुले नै सघाइरहेको पनि खुलेको छ। 
 
नेपालीहरुको सहयोग बिना कुनै विदेशीले यो स्तरमा एटिएम फ्रड गरी रकम विदेश लैजान सम्भव हुँदैन। के कारणले युरोपका प्रोफेसनल अपराधीहरु यसरी नेपाली एटिएमहरुलाई तारो बनाइरहेका छन् त? तीन कारण-
 
१) फितलो कानुन
दुई वर्षअघि टर्किस नागरिक मेहमत गलेनलाई प्रहरीले नक्कली एटिएम कार्ड प्रयोग गरेको अभियोगमा पक्राउ गर्‍यो। नेपालमा नक्कली एटिएमको प्रयोग गरेर अरुको खाताबाट पैसा चोरी गरेको आरोपमा पक्राउ परेका पहिलो विदेशी नागरिक यिनै थिए। उनको साथबाट प्रहरीले २६ लाख नेपाली रुपैयाँ बरामद गरेको थियो। तर बैकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार उनी मात्र दुई वर्ष कैद सजाय भुक्तान गरी रिहा भए।
 
अहिले अन्य तीन जना विदेशी नागरिक सोही कसुर अन्तर्गत सजाय भुक्तान गरिरहेका छन्। जबकि विदेशमा भए यस्तो अपराधमा लामो सजाय भोग्नुपर्थ्यो।
 
प्रहरीको फन्दामा परे दुई वर्ष कैद बसे पुग्ने, आँखा छल्न पाए करोडौँ रुपैयाँ लिएर विदेश जान पाइने भएकाले नै एटिएम ठगी गर्न उनीहरुले नेपालमा आँखा गाड्ने गरेका हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख डिआइजी नवराज सिलवाल भन्छन्, 'हाम्रो देशको कानुनमा अपराधीलाई दिइने सजाय नै कमजोर भएकाले गर्दा नै विदेशीले अपराध गर्ने थलो बनाएका हुन्।'
 
२) अध्यागमनको फितलो चेकिङ 
नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमनको लापरबाही पनि अर्को कारण भएको प्रहरीको भनाइ छ। सोमबार सार्वजनिक भएका तीन रोमानियाली नागरिकले विदेशबाट नै एटिम चोरीका लागि प्रयोग गर्ने उपकरणसहित तीन सय थान नक्कली एटिएम कार्ड लिएर आएका थिए। त्यस्तै बिहीबार पक्राउ परेका दुई टर्किस नागरिकले पनि ११३ थान नक्कली कार्डमा अरुको पिन कोड सारेका थिए।   
 
यति ठूलो परिमाणमा एटिएम कार्ड ल्याउँदा समेत अध्यागमन विभागका कर्मचारीले सोधखोज नगर्नु नै उनीहरुको अपराध कार्यलाई सघाउनु हो।
 
त्यस्तै अध्यागमनले नेपाल भित्रिँदा विदेशीले ल्याएको नगदको परिमाण र नेपालबाट बाहिरिँदा नगदको परिमाणको लेखाजोखा राख्ने गर्दछ। विदेशबाट आउँदा भन्दा जाँदा डलरको परिमाण वृद्धि हुँदासमेत अलिकति शंका समेत नगर्ने, सोधपुछ नगर्ने र प्रहरीलाई जानकारीसमेत नदिँदा पनि अपराधी सजिलै विदेश भाग्छन् र बारम्बार अपराध गर्न नेपाललाई आधार बनाउँछन्।
 
३) वित्तीय संस्था र मनी चेन्जरको समेत लापरबाही
वित्तीय संस्था तथा मनी चेन्जरहरुको लापरबाहीले पनि एटिएममा ठगी गर्नेहरुले प्रश्रय पाएको प्रहरीको तर्क छ।
 
नेपालको कानुन अनुसार कुनै पनि विदेशीले नेपालमा आएर विदेशी मुद्रालाई नेपाली रुपैयाँमा परिर्वतन गर्न पाउँछ। नेपाल रकम खर्च गरिसकेपछि स्वदेश जाने बेला त्यो रकमलाई विदेशी मुद्रामा परिवर्तन गरेर लान पनि पाइन्छ। तर नेपालमा आएर आफूले ल्याएको भन्दा बढी परिमाणमा डलर र युरोमा नै परिणत गर्न नेपालको कानुनले दिँदैन।

यस्ता अपराधीहरुले भने नेपालमा आएर एटिएमबाट अर्काको लाखौँ नेपाली रुपैया निकालेर डलर र युरोमा सटही गर्दा समेत चासो र खोजी नगर्दा उनीहरु कानुनको पञ्जाबाट उम्किन पाउँछन्। बिहीबार पक्राउ परेका दुई टर्किस यसअघि तीन पटक नेपाल आएर एटिएम ठगी गरी फर्कन सफल भएको देखिन्छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाए अनुसार यस्ता व्यक्तिले विभिन्न वित्तीय संस्था र मनी चेन्जरहरुले पैसा दिएर नै अवैधानिक रुपमा सटही गरेको देखिन्छ। अहिले अमेरिकी डलरको सटही सरदर १०६ रुपैयाँ छ तर यस्तो गतिविधिमा लागेका गिरोहले १२४ रुपैयाँभन्दा बढीमा डलर साट्ने गरेका छन्।
 
केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी रेशम पराजुली भन्छन्, 'वित्तीय संस्थाका कर्मचारीको डलर सटही ज्ञान नभएर हो, जानी जानी रकम परिवर्तन गर्दासमेत विदेशी उम्कने गरेका छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell