PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

श्रीकृष्ण भन्ने गर्थे - 'धेरै बाँच्दिनँ जस्तो छ'



श्रीकृष्ण भन्ने गर्थे - 'धेरै बाँच्दिनँ जस्तो छ'

अनन्त कोइराला/पहिलोपोस्ट-
•         २०५७ साल। चितवनको एउटा इँटा भट्टामा ‘ए मेरो हजुर’को सुटिङ् भइरहेको थियो। चलचित्रका नायक श्रीकृष्ण श्रेष्ठ इँटा भट्टामा काम गर्ने मजदुरको भूमिकामा थिए। श्रीकृष्ण श्रेष्ठ भट्टाबाट इँटा उठाउँदै डोकोमा राखिरहेका थिए। ४/५ सय इँटाभएको थुप्रो लड्यो। श्रीकृष्ण श्रेष्ठ इँटाले पुरिए। हतार हतार क्रुले उनको उद्दार गर्‍यो र अस्पताल पुर्‍यायो।

•         ए मेरो हजुरकै सुटिङ्मा एउटा फाइट दृश्य सुटिङ् हुँदै थियो। श्रीकृष्ण श्रेष्ठ गुण्डासँग भिड्दै थिए। उनको एक्सनमा के गडबडी भयो कुन्नि ! उनी दुर्घटनामा परे र उनको खुट्टा भाँचियो।

आइतबार बिहान सखारै दिल्लीको गंगाराम अस्पतालमा श्रीकृष्ण श्रेष्ठको निधन भयो। श्रीकृष्णले खेलेका दर्जन बढी चलचित्र खिचेका छायाँकार शम्भु सापकोटालाई सोमबार बिहान भेट्दा उनी श्रीकृष्ण श्रेष्ठसँगका सम्झनाहरु केलाइरहेका थिए।

‘म अलि कम बोल्ने र काममा बढी ध्यान दिने मान्छे,’ सापकोटाले भने, ‘तर श्रीकृष्ण ठ्याक्कै उल्टो, नाम अनुसारकै चुलबुले, जोक गरिरहनुपर्ने।‘ चलचित्र नाताबाट श्रीकृष्ण श्रेष्ठसँग काम गरेका सापकोटा उनलाई आफ्नो ‘करिअर’को ‘लक्की चार्म’ भन्छन्। कारण, सापकोटाले खिचेका चलचित्र मध्ये श्रीकृष्णसँगका चलचित्रहरू फ्लपै भएकाले पनि लगानी फिर्ता गरेका छन्, धेरैजस्तो त सुपरहिट नै भएका छन्।

आइतबार बिहान ५:३० बजेतिर फोनबाट श्रीकृष्णको निधनको खबर सुनेदेखि उनलाई विश्वास नै लागेको छैन। ‘आज शव आउँदैछ, त्यो हेरेपछि चाहिँ विश्वास लाग्छ कि !’ सापकोटा भावुक देखिए। हिजोदेखि उनको दिमागमा एउटा संवाद दोहोरिरहेको छ।

ए मेरो हजुरकै दृश्य। नायिका दृष्टिविहीन थिइन्। अस्पतालमा उनको आँखाको अप्रेशन भएको थियो। नायिकालाई भेटन श्रीकृष्ण श्रेष्ठ दौडिँदै आउँदै थिए। उनी अस्पताल आइपुग्छन् तर बेडमा नायिका हुन्नन्। अस्पतालका कर्मचारीले उनी बसपार्कतिर लागेको बताउँछन्। श्रीकृष्ण यहाँबाट दौडिन्छन्।

यो दृश्य छायाँकन गरिरहँदा अस्पतालको तला चढ्दै तल ओर्लिँदै, बाहिर दौडिँदै गरिरहेका थिए। शिव रेग्मी र शम्भु सापकोटा दृश्य कसरी राम्रो खिच्ने भन्नेमा तल्लिन थिए। ‘टेक’ माथि ‘टेक’ चलिरहेको थियो। श्रीकृष्ण थचक्कै बसे। रेग्मी र सापकोटा छेउमा पुगे। श्रीकृष्णले भनेछन्, ‘यति दौडिँदा पनि फतक्कै गलेँ। कमजोर भएछु। खै, धेरै बाँच्दिनँ जस्तो छ।‘

‘उसलाई सायद पहिला नै थाहा थियो, मेरो आयु धेरै लामो छैन भन्ने,’ सापकोटाले सम्झिए, ‘पहिलाकै रोगले उसलाई गलाएको थियो।‘ त्यसो त श्रीकृष्ण श्रेष्ठ पहिलोपटक बिरामी हुँदा पनि सापकोटा सँगै थिए। चलचित्र आफ्नो मान्छेको सुटिङ सकिएर ‘डबिङ’ चलिरहेको थियो। आधा डबिङ् सकिएपछि श्रीकृष्ण बिरामी परे। बाँकी आधा अर्कैको आवाजमा ‘डब’ भयो। तर दर्शकले त्यो थाहै पाएनन्। चलचित्र सुपरहिट भयो।
उसो त श्रीकृष्ण श्रेष्ठका मनपर्ने छायाँकार मध्ये राजु थापा र शम्भु सापकोटा नै थिए। भुवन केसी, राजेश हमाल, शिव श्रेष्ठहरुको बोलबाला भएकोबेला श्रीकृष्ण श्रेष्ठ झुल्केका थिए नेपाली चलचित्रमा।

‘उसको मेहनत, काम गर्न सारै ‘कन्फर्टेबल। यी गुणले नै हो उसका चलचित्रहरु सफल भएका’, सापकोटाले थपे, ‘अरु नायकसँग काम गर्दा बिहान ९ बजे अगाडि काम शुरु गर्नै गाह्रो हुने तर श्रीसँग बिहान ६ बजेदेखि काम गर्न सकिने।‘

मान्छे मरेपछि उसका चिनजानका मान्छेले नराम्रा कुरा गर्दैनन् भनेर आलोचना पनि हुन्छ। सापकोटालाई पनि डर त्यही छ। ‘तर खै कहाँ खोज्नू उसका नराम्रा कुरा !’ सापकोटा गम्भीर भए, ‘हरेक दिन बेलुकी नै उसले भोलिको दृश्यको बारे क्यामेराम्यान, मेकअप, लाइटका प्रमुखहरूसँग बसेर छलफल गर्थ्यो। अनि आफूलाई नायक हुँ भनेर सुटिङ्मा ढिलो पुग्ने गरेको थाहै छैन।‘

नेपाली चलचित्रमा नाच्न जान्ने नायक नभइरहेको बेला श्रीकृष्ण ‘डान्स मास्टर’का रुपमा झुल्केका थिए। ‘गीतको सिक्वेन्समा उसको बिशेष मेहनत हुन्थ्यो,’ सापकोटाले भने, ‘उसले आफ्नो मात्र डान्समा ध्यान दिँदैनथ्यो। कोरसहरुको डान्स हेर्थ्यो, उनीहरुको डान्स स्टेप, ड्रेस सबै हेरेर चित्त बुझेपछि मात्र ‘टेक’ दिन्थ्यो।‘ श्रीकृष्णसँग डान्सको सुटिङ गर्दा आफूमा अर्कै ‘इनर्जी’ आउने बताउँछन् सापकोटा।

कहाँ भेटिएलाका लागि शिव रेग्मी नयाँ नायिका लिन चाहन्थे। नायिकाका लागि नम्रता श्रेष्ठसमेत १० जनाजतिको अडिसन भैसकेको थियो। शिव रेग्मी र श्रीकृष्ण श्रेष्ठलाई चित्त बुझिरहेको थिएन। श्रीकृष्ण श्रेष्ठका डान्स गुरु बसन्त श्रेष्ठको डान्स स्कुलमा एकजना केटी फिल्म खेल्न इच्छुक छ भन्ने सुनियो। निर्देशक शिव रेग्मी, छायाँकार शम्भु सापकोटा र नायक श्रीकृष्ण श्रेष्ठ क्यामेरा बोकेर वसन्तको डान्स स्कुल पुगे। डान्स स्कुलकी केटी हेर्दा शारिरीक रुपमा ठिकै लाग्यो। शिव रेग्मीले त्यहीँ केही डाइलग लेखेर दिए। श्वेताले डाइलग बोलिन्, दुई चार डान्स स्टेप गरिन्। सबैलाई चित्त बुझ्यो र उनी कहाँ भेटिएलाका लागि छनौट भइन्।

श्रीकृष्णले खेलेका ‘आफ्नो मान्छे’, ‘आफन्त’, ‘दैव’, ‘हामी तीन भाइ’, ‘देवदूत,’ ‘ए मेरो हजुर’, ‘कहाँ भेटिएला’ जस्ता चलचित्रको छायाँङ्कन गरेका सापकोटा श्रीकृष्णमा महिलाको चरित्र बलियो थियो भन्छन्। ‘उसँग महिलाको चरित्र थियो, उनीहरुको भावना ठ्याक्क उसमै थियो। त्यसैले उसलाई महिलाहरुले विशेष मन पराउँथे,’ सापकोटा भन्छन्, ‘शिव रेग्मी र श्रीको ‘ट्युनिङ’ मिल्नुमा पनि यही कारण थियो सायद। दुवै मानवीय भावनालाई चलचित्रमा ट्वाक्क मिलाउन सक्थे।‘

स्क्रिप्ट पढेर चित्त बुझेपछि पनि श्रीकृष्णले चलचित्र साइन गर्दैनथे। ‘टीम महत्वपूर्ण मान्थ्यो, स्क्रिप्ट मन परेर पनि अरु प्राविधिक टीम मन नपरेर पनि उसले चलचित्र छोडेको छ,’ सापकोटाले भने, ‘श्रीकृष्णको निधनसँगै नेपाली चलचित्र उद्योगको एउटा राम्रो टीम पनि सकियो।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell