PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

एन्फाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा गणेश थापा पक्षका उम्मेदवार विजयी



गोविन्दराज नेपाल

एन्फाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा गणेश थापा पक्षका उम्मेदवार विजयी

काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्ष र उपाध्यक्षका लागि आज भएको निर्वाचनमा दुवै पद फिफाबाट कारबाहीमा परेका निलम्बित अध्यक्ष गणेश थापा पक्षीय उम्मेदवार विजयी भएका छन्। 

आज भएको मतदानमा अध्यक्षमा नरेन्द्रमान श्रेष्ठ ३६ मतका साथ विजयी भए। उनका प्रतिस्पर्धी कर्मा छिरिङ शेर्पाले ३१ भोट ल्याए। 

त्यसैगरी उपाध्यक्षमा मणि कुँवर ३४ मतका साथ विजयी भएका छन्। उनका निकट प्रतिस्पर्धी दीपक खातीले ३२ मत ल्याए भने उपेन्द्रमान सि‌ंहलाई ८ मत मात्रै आयो। 

दुई दशकसम्म अखिल नेपाल फुटबल संघ एन्फाको नेतृत्वमा एकछत्र राज गरेका गणेश थापालाई फिफाले भ्रष्टाचारको मुद्दामा निलम्बन गरेपछि नयाँ नेतृत्व छान्न सोमबार चुनाव भएको हो। 

बबरमहलको कार्की ब्याङ्क्वेटमा भएको एन्फाको १५ औं साधारण सभाको उद्घाटन आज बिहान युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले गरेका थिए। 

उद्घाटन कार्यक्रममा मन्त्रीसहित विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एएफसी, राखेप प्रतिनिधि लगायत एन्फाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। 

नवनिर्वाचित पदाधिकारीले पूर्ण अवधि लागि नभई बाँकी एक वर्षका लागि मात्र काम गर्न पाउने छन्। करिब दुई दशकदेखि एन्फाको सर्वोच्च पदमा आसिन तत्कालीन अध्यक्ष गणेश थापालाई फिफाले विभिन्न भ्रष्टचार सम्बन्धी मुद्दा दोषी ठहर गर्दै १० वर्ष कुनै पनि फुटबलसँग सम्बन्धित गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएपछि एन्फाको अध्यक्ष पदमा बाँकी एक वर्षका लागि चुनाव भएको हो।

यस्तै उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको असामयिक निधनपछि उपाध्यक्ष पदको पनि चुनाव भएको हो।

एन्फाको दुई पदको छिनोफानोका लागि कूल ६९ जनालाई मताधिकार थियो, जसमा ४५ जिल्ला फुटबल संघ, १२ ए डिभिजन क्लब, ५ बी डिभिजन क्लब, ३ सी डिभिजन क्लब तथा खेलाडी, प्रशिक्षक, रेफ्री र महिला समितिबाट समान एक-एक जना थिए। तर ६७ जनाले मात्रै मताधिकार प्रयोग गरे। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell