PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

किन लोकमानलाई महाभियोग? ​संसदमा पेश भएको प्रस्तावमा यस्ता छन् ६ आरोप



किन लोकमानलाई महाभियोग? ​संसदमा पेश भएको प्रस्तावमा यस्ता छन् ६ आरोप

काठमाडौँ :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह विरुद्धको महाभियोग प्रस्ताव संसद्माँ पेश भएको छ। सभामुख ओनसरी घर्तीले मंगलबारदेखि प्रस्तावमा छलफल थाल्न समय तोकेकी छिन्। 

महाभियोग प्रस्तावकर्ता महेन्द्रबहादुर शाहीले प्रस्ताव पेश गरेका हुन्। प्रस्तावलाई नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालसहित एक सय ५६ जना सांसद्हरुले समर्थन गरेका छन्। 

के छन् लोकमानविरुद्धका आरोप?

लोकमानविरुद्ध लागेका छ आरोप मध्ये एउटा सर्वोच्च अदालतमा विचाराधीन विषयसँगै जोडिएको छ। पाँचौ आरोपमा भनिएको छ, 'न्यायमा अवरुद्ध गरी निजको नाममा सम्मानित सर्वोच्च अदालतबाट जारी भएको म्याद सूचना तामेली गर्नेलाई अवरोध गरेको।' 

यस विषयमा सर्वोच्च अदालतमा पुरानै मुद्दामा संलग्न हुने गरी अर्को पुरक रिटसमेत परेर विचाराधीन छ। 

यस्ता छन् महाभियोग प्रस्तावमा लोकमानमाथि लागेका आरोप

•    लोकमानसिंह कार्कीले नेपालको संविधान जारी भइसकेपछि पनि तत्काल प्रचलित नेपालको अन्तरिम संविधान बमोजिमको प्रावधान प्रयोग गरी अनुचित कार्य गरेको भनि केही चिकित्सकहरुलाई कारवाही गर्न संविधान विपरीत त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएको। 

•    आफ्नो नजिकको नजिकको नातेदार शेयर स्वामित्वमा रहेको ललितपुर जिल्लास्थित किस्ट मेडिकल कलेजमा विद्यार्थी भर्ना सिट संख्या थप्न मेडिकल काउन्सिल र सम्बन्धित विश्वविद्यालयलाई दबाब दिई स्वार्थपूर्ण कार्य गरेको। 

•    काठमाडौ विश्वविद्यावलयले संचालन गरेको एमबीबीएसको प्रवेश परीक्षामा अनावश्यक हस्ताक्षेप गरेको।

•    संविधान तथा भ्रष्टाचार निवारण ऐन २०५९ प्रतिकूल हुने गरी विभिन्न राष्ट्रसेवक लगायतका व्यक्तिका विरुद्ध भ्रष्टाचार र अनुसन्धानको बहानामा अनावश्यक दुःख दिएको तथा निजको कार्यशैलीसँग असहमत हुने व्यक्ति र संस्था प्रति प्रतिशोधपूर्ण व्यवहार गरेको। 

•    न्यायमा अवरुद्ध गरी निजको नाममा सम्मानित सर्वोच्च अदालतबाट जारी भएको म्याद सुचना तामेली गर्नेलाई अवरोध गरेको। 

•    आफ्नो पद र हैसियतको दुरुपयोग गरी  राष्ट्रसेवक लगायतलाई विभिन्न आदेश तथा निर्देशन दिई आफू अनुकुल प्रशासन संयन्त्रलाई प्रयोग गर्ने दुष्प्रयास गरेको। 

के छ माग?

महाभियोग प्रस्तावमा उनले संविधान र कानूनको उल्लंघन गरी इमान्दारीपूर्वक आफ्नो पदीय दायित्व पूरा नगरेको हुनाले उनलाई संविधानअनुसार महाभियोगको प्रस्तावको सूचना पेश गर्न माग गरिएको छ। 

'निजले संविधान र कानुनको गम्भीर उलंघन गरेको र इमान्दारीपूर्वक आफ्नो पदीय कर्तव्य पालना नगरेको तमाम कार्यहरुको आधारमा नेपालको संविधानको धारा १०१ को उपधारा २ मा व्यवस्था भएबमोजिम यो संविधान र कानुन गम्भीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव भएको, खराब आचरण भएको, इमान्दारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालना नगरेको,आचारसंहिताको गम्भीर उल्लंघन गरेकोले व्यवस्थापिका संसद नियमावली २०७३ को नियम १६८ को उपनियम १ बमोजिम व्यवस्थापिका संसदमा तत्काल कायम रहेका हामी एक चौथाई भन्दा बढी सदस्यहरु भई यो प्रस्ताव पेश हुन सूचना गरेका छौ' महाभियोग प्रस्तावको सूचनामा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell