PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​एमाओवादी र राप्रपा नेपाल जोडिएलान्? बाबुराम भट्टराई यसो भन्छन्



​एमाओवादी र राप्रपा नेपाल जोडिएलान्? बाबुराम भट्टराई यसो भन्छन्

  • पहिलोपोस्ट -
काठमाडौं : एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले नदीका दुई किनाराजस्तो भए पनि राप्रपा नेपाल र एकीकृत नेकपा माओवादी जोडिनसक्ने बताएका छन्।

गृहजिल्ला गोरखामा पत्रकारसँग भट्टराईले पानीले नदीका दुई किनारा जोडेजस्तो कतिपय प्रक्रियागत कुरामा राप्रपा नेपाल र एमाओवादी जोडिनसक्ने बताएका हुन्।

‘राजनीतिक हिसाबले राप्रपा नेपाल र एनेकपा माओवादी नदीका दुई किनारा हुन्। ती समानान्तर ढंगले जाने किनारा हुन्, भेटिने किनारा होइनन्', भट्टराईले भने, 'तर नदीको दुई किनाराको बीचमा पानी हुन्छ। पानीले तिनलाई जोडिराख्या पनि हुन्छ। त्यसैले राप्रपा नेपाल र हामी सैद्धान्तिक रुपले मिल्नै नसक्ने भए पनि कतिपय प्रक्रियागत कुरामा चाहिँ पानीले जोडेजस्तो जोड्न पनि सक्छ।’ 

एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चामा रहेका १९ दल पछि राप्रपा नेपाल संविधान सभामा विरोधमा उत्रिएका बेला भट्टराईको यो भनाई आएको हो।

भट्टराईले कांग्रेस–एमालेको लोकतन्त्र नकचरो लोकतन्त्र भएको टिप्पणी गरे। ‘एकापट्टि सहमति–सम्झौताले नै निर्णय गर्ने भन्ने कुरालाई तोडेर एकतर्फी प्रश्नावली निर्माण गर्न समिति बनाएर हाम्रो विरुद्धमा गएका छन्', भट्टराईले भने, 'प्रश्नावली समितिमा प्रश्न पनि म नै बनाउँछु र भोट पनि मलाई नै हाल भन्छ। गाई परे पनि मेरै, त्रिशुल परे पनि मेरै भनेर गाई/त्रिशुल गरेजस्तो कांग्रेस–एमालेको लोकतन्त्र बढो नकचरो लोकतन्त्र भयो।’ 

प्रश्नावली बनाउने समितिको बैठकको सन्दर्भमा भट्टराईले भने, ‘राप्रपा नेपाल वैचारिक रुपले फरक भए पनि प्रश्न त बनाउन पाउनुपर्‍यो नि। प्रश्न नै बनाउन दिन्नँ भन्छन् कांग्रेस–एमाले। हामीले प्रश्नावलीको तरिकै बेठीक छ, संवाद र सहमतिको प्रक्रियाबाट जाउँ भन्दा भोटिङ गरेर जाउँ भने र राप्रपा नेपाल पनि त्यतापट्टि लागे अहिले प्रश्न नै बनाउन नदिने हास्यास्पद कुरा गरिएको छ। वैचारिक असहमति हुँदा–हुँदै पनि प्रक्रियागत ढंगले राप्रपा नेपालले उठाएको कुरा विचारणीय नै छ।’

राप्रपा नेपाल गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतामा जनमत संग्रह होओस् भन्ने चाहन्छ तर एमाओवादी भने यी मुद्दा विगतका आन्दोलनहरुका अजेन्डा मान्छ। राप्रपा नेपालले यी विषयलाई पनि प्रश्नावलीमा समेट्न माग गर्दै बिहीबार संविधान सभामा नाराबाजी गरेको थियो।

भट्टराईले राप्रपा नेपालसँग 'जोडिन सक्ने' बताउनु अघि नै मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले माओवादीसँग 'कार्यगत एकता हुनसक्ने' भनेका थिए।  


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell