PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

काठमाडौं म्याराथन : भूमिराज र कान्छीमायालाई उपाधि, कान्छीको नयाँ राष्ट्रिय कीर्तिमान



पहिलोपोस्ट

काठमाडौं म्याराथन : भूमिराज र कान्छीमायालाई उपाधि, कान्छीको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं : नेपाल प्रहरीका भूमिराज राई र सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी कान्छीमाया कोजुले १० औं काठमाडौं म्याराथनको उपाधि जितेका छन्।
 
शनिबार बिहान सम्पन्न प्रतियोगितामा भूमि पुरुष तथा कान्छी महिलाको फुल म्याराथन (४२.१९५ किलोमिटर) मा पहिलो भए। भूमिले नेपाली भूमिमा भएको म्याराथनमा उत्कृष्ट समय निकाल्ने क्रममा निर्धारित दुरी २ घन्टा २० मिनेट ४४ सेकेन्डमा पूरा गरे। यसअघि नेपालमा भएको कुनै पनि म्याराथनमा नेपाली खेलाडीले उक्त समयमा दौड पूरा गरेका छैनन्।
 
महिलातर्फ कान्छीले स्वरुपा खड्काको नाममा रहेको राष्ट्रिय कीर्तिमान तोडेकी छिन्।
 
पुरुष म्याराथनको राष्ट्रिय कीर्तिमान वैकुण्ठ मानन्धरको नाममा छ। उनले भारतमा भएको तेस्रो दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) मा २ घन्टा १५ मिनेट ३ सेकेन्डको कीर्तिमान बनाएका थिए। यो कीर्तिमान दक्षिण एसियाली खेलकुद (साग) मा अहिलेसम्म वैकुण्ठकै नाममा कायमै छ।
 
भूमिको प्रदर्शनलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौं रोड रनर्स क्लब अल्मुनाईका सल्लाहकार एवं स्प्रिन्टमा सहभागी हुने पहिलो नेपाली ओलम्पियन रघुराज वन्त र काठमाडौं म्याराथनका मुख्य योजनाकार निलेन्द्रराज श्रेष्ठले बोनसस्वरुप छुट्टै एक लाख नगद पुरस्कार प्रदान गर्ने घोषणा गरे।
 
नेपाल आर्मीका कृष्ण बस्नेत २ घन्टा २१ मिनेट ४६ सेकेन्डको समयमा दुरी पूरा गर्दै दोस्रो तथा २ घन्टा  २९ मिनेट २२ सेकेन्ड समय निकालेका राजन खत्री तेस्रो भए।
 
महिलातर्फ कान्छीमायाले निर्धारित दुरी २ घन्टा  ५५ मिनेट ५७ सेकेन्ड समयमा दौड पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरिन्। कान्छीले लामो समयदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएकी स्वरुपा खड्काले सिकागो म्याराथन–२०१३ मा बनाएको २ घन्टा ५७ मिनेट १० सेकेन्डको कीर्तिमान तोडेकी हुन्। स्वरुपाले २०१४ मा भएको इन्चोन एसियाड र २०१६ मा भारतमा भएको १२ औं सागमा पनि नेपालबाट प्रतिनिधित्व गरेसकेकी छन्। राष्ट्रिय कीर्तिमान कायम गरेकी कान्छीलाई रोड रनर्स अल्मुनाईले छुट्टै ५० हजार नगद पुरस्कार प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
 
प्रो स्पोर्ट्सद्वारा आयोजित प्रतियोगितामा आर्मीका सरिता वासी (३ घन्टा १९ मिनेट ५२ सेकेन्ड) दोस्रो तथा लालकुमारी घर्ती (३ घन्टा ४४ मिनेट १४ सेकेन्ड) तेस्रो स्थानमा रहे।
 
म्याराथन विजेताले ५० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १५ हजार नगद पुरस्कार पाउनेछन्। चौथोदेखि दसौं स्थानमा दौड सकाउनेलाई क्रमशः ७, ६, ५, ४, ३, २ र १ हजार नगद पुरस्कार प्रदान गरिनेछ।
 
हाफ म्याराथन (२१.०९७५ किलोमिटर) मा भने आर्मीको वर्चस्व रह्यो। पुरुष-महिला दुवैमा आर्मीका खेलाडीले शीर्ष तीन स्थानमाथि कब्जा जमाए। पुरुषमा हरिकुमार रिमाल पहिलो भए। उनले निर्धारित दुरी १ घन्टा ०८ मिनेट ४७ सेकेन्डमा पूरा गरे। ज्ञानप्रसाद भट्टराई १ घन्टा ९ मिनेट २८.९५ सेकेन्डमा दुरी पार गर्दै दोस्रो तथा १ घन्टा १० मिनेट ३६ सेकेन्डमा दुरी पूरा गरेका लालबहादुर थापा तेस्रो भए।
 
त्यस्तै महिलामा १ घन्टा २७ मिनेट १९ सेकेन्डमा दौड पूरा गरेकी सानुमाया कार्की पहिलो भइन्। पुष्पा भण्डारी (१ घन्टा ३२ मिनेट २३ सेकेन्ड) दोस्रो तथा विन्द्रा देशार श्रेष्ठ (१ घन्टा ३४ मिनेट ४० सेकेन्ड) तेस्रो भइन्। हाफ म्याराथनमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १३ हजार र ७ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
 
पुरुष ५ किलोमिटर खुला दौडमा रामजी बस्नेत पहिलो भए। उनले १९ मिनेट ०३.२७ सेकेन्ड दौड पूरा गरे। टीकाराम कट्वाल (१९ मिनेट १३.२८ सेकेन्ड) दोस्रो तथा छत्र दाहाल (१९ मिनेट ३२.४८ सेकेन्ड) तेस्रो भए। खेलाडीत्रय आर्मीका हुन्।
 
सो स्पर्धाको महिलामा आर्मीकी सरस्वती भट्टराई २२ मिनेट ३५.२४ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन्। एपीएफकी फूलमति राना (२३ मिनेट ३०.०२ सेकेन्ड) दोश्रो तथा काठमाडौंकी सन्तोषी श्रेष्ठ (२५ मिनेट ४०.७७ सेकेन्ड) तेस्रो बने। पहिलो हुनेले १० हजार, दोस्रोले ६ हजार र तेश्रोले ४ हजार नगद पुरस्कार हात पार्नेछन्।
 
स्कुलतर्फ ५ किलोमिटर छात्र दौडमा अजितकुमार यादवले स्वर्ण जिते। उनले २१ मिनेट १९ सेकेन्ड समय लगाए। राजेन्द्र तामाङ २१ मिनेट ४५ सेकेन्ड समयसाथ दोस्रो तथा जगत नेपाली २२ मिनेट ४० सेकेन्ड समयसाथ तेस्रो भए।
 
त्यसै स्पर्धाको छात्रामा हुमी बुढा मगरले २४ मिनेट ५९.६ सेकेन्डमा दुरी पार गर्दै पहिलो बनिन्। संगीता खड्का (२५ मिनेट ४८.३ सेकेन्ड) दोस्रो तथा शर्मिला क्षेत्री (२७ मिनेट २९.३ सेकेन्ड) तेस्रो भए। पहिलोले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार नगद पुरस्कार जिते।
 
कुल पुरस्कार राशी ३ लाख ८६ हजार रहेको प्रतियोगिताको म्याराथनमा ३१ पुरुष र ७ महिला तथा हाफ म्याराथनमा ६६ पुरुष र १७ महिला खेलाडी सहभागी थिए। ५ किलोमिटरको खुलामा १ हजार २ सय ८५ तथा स्कुलमा १ हजार ४ सय २८ खेलाडीले भाग लिएको आयोजकले जनाएको छ। दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः रंगशालामै आएर सकिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell