PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अष्ट्रेलियामा सन्दीपको राम्रो सुरुवात, पहिलो खेलमा सन्दीप र क्लार्कको टीम विजयी



उमेश श्रेष्ठ

अष्ट्रेलियामा सन्दीपको राम्रो सुरुवात, पहिलो खेलमा सन्दीप र क्लार्कको टीम विजयी

सिड्नी : माइकल क्लार्कको एकेडेमीबाट क्रिकेट खेल्न अष्ट्रेलियामा रहेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले पहिलो खेलमा उत्कृष्ट प्रर्दशन गरेका छन्।
 
सिड्नी प्रिमियर क्रिकेटको फस्ट ग्रेड लिगमा वेस्टन सबअर्ब टीमबाट माइकल क्लार्कसँगै खेलेका सन्दीपले मोसमन विरुद्ध ८ ओभर बलिङ गर्दै १७ रन मात्र दिएर १ विकेट हात पारे।
 
सन्दीपले मोसमनका म्याथ्यु डे को विकेट लिएका हुन्। १ रन बनाएका डे लाई सन्दीपले डीएम बसर्कद्वारा स्टम्पिङ गराए।

अष्ट्रेलियन वान डे वर्ल्ड विनिङ टीमका कप्तान क्लार्ककै निमन्त्रणमा सन्दीप क्रिकेट खेल्न अष्ट्रेलिया आइपुगेका हुन्। उनले तीन महिना यहाँ रहने जानकारी दिए।

सिड्नीस्थित एलान बोर्डर ओभलमा भएको उक्त खेलमा माइकल क्लार्कको नटआउट ९९ रनको योगदानमा वेस्टन सबअर्बले मोसमनलाई ६ विकेटले हरायो।
 
१ सय ४२ रनको विजय लक्ष्य वेस्टर्न सबअर्बले ३८ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो।
 
सबअर्बका लागि १०८ बल खेलेका कप्तान क्लार्कले १० चौका र २ छक्काको मद्दतमा ९९ रन जोडे। एलेस बाल्ड्विन १२ रनमा नटआउट रहे। सन्दीपले भने ब्याटिङ गरेनन्।
 
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मोसमनले ४६.४ ओभरमा अलआउट हुँदै १४१ रन मात्र बनायो। उसका लागि डेविड लावेरेले सर्वाधिक ४७ रनको योगदान गरे। यस्तै जासोन हगले २५ तथा प्याट्रिक पिसेलले २४ रन बनाए।

मोसमनलाई कम स्कोरमा समेट्न सबअर्बका जेम्स सेफर्ड, एड्रिअन इसरवुड र डारेन बुर्कले समान २/२ विकेट लिए। सन्दीप र साम पाराराजासिंघमले १/१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell