PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

दसैंभर दैनिक २ घन्टामात्रै लोडसेडिङ गर्ने प्राधिकरणको तयारी



दसैंभर दैनिक २ घन्टामात्रै लोडसेडिङ गर्ने प्राधिकरणको तयारी

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले दसैंभरका लागि दैनिक २ घन्टा मात्रै लोडसेडिङ गर्ने भएको छ। हाल दैनिक ८ घन्टासम्म लोडसेडिङ हुँदै आएकोमा दसैंभरि २ घन्टामा सीमित गर्न लागिएको हो।
 
प्राधिकरणले यसअघि पनि अघोषित रुपमा दसैंमा लोडसेडिङ घटाउने गरेको थियो। यस पटक भने दसैंभरका लागि नयाँ लोडसेडिङ तालिका सार्वजनिक गर्ने तयारी गरेको विद्युत प्राधिकरण भारप्रेषण केन्द्रका निर्देशक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए। उनले भने, 'दसैंको पिक आवरमा २ घन्टा मात्र लोडसेडिङ हुनेछ, अरु समयमा बत्ती आउँछ।' 
 
उद्योगधन्दाहरु कम सञ्चालन हुने भएकाले बिजुली दसैंमा विद्युतको खपत पनि निकै घट्छ। श्रेष्ठका अनुसार उद्योगधन्दाले मात्र ३ सय १५ मेगावट विद्युत खपत गर्छन्‍। यो विद्युत खपत नभएपछि घरायसी ग्राहकलाई दिन सकिन्छ। यसले लोडसेडिङ उल्लेख्य मात्रामा घटाउन सहयोग पुग्‍ने भएको हो।
 
यसपालि दसैंमा औद्योगिक क्षेत्रमा २ सय ५० मेगावाट विद्युत खपत घट्ने अनुमान रहेको भारप्रेषण केन्द्रका निर्देशक श्रेष्ठले बताए।
 
हाल भारतबाट दैनिक २ सय १३ मेगावाट विद्युत आयात भइरहेको छ। दसैंमा यसमध्ये ५० मेगावाट विद्युत कम आयात गर्ने भएको छ। दसैंमा उद्योगधन्दामा कम खपत हुने भएपछि ढल्केबार मुजफ्फरपुर लाइनबाट ५० मेगावाट आयात गर्नु नपर्ने भएको श्रेष्ठले जानकारी दिए। उनले भने, 'अनावश्यक खर्च कम गराउने हाम्रो उद्देश्य हो।'
 
मुलुकभर विद्युतको दैनिक माग १ हजार ३५० मेगावाट छ। तर प्राधिकरणबाट ८२५ मेगावाट मात्र वितरण हुने गरेको छ। उपत्यकाको दैनिक माग ४५० मेगावाट रहे पनि २५० मेगावाट मात्रै वितरण हुने गरेको उनले बताए।
 
दसैंमा लोडसेडिङ घटे पनि तिहारमा फेरि बढ्क्ने श्रेष्ठले बताए। 'दसैंमा २ घन्टा पुग्ने कुरामा ग्यारेन्टी दिन सके पनि तिहारमा बत्तीको प्रयोग बढी हुने भएकाले लोडसेडिङ नियन्त्रण गर्न गाह्रो हुन्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell