PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पहिलोपटक गुड्यो बागलुङ-दिल्ली डिलक्स बस, एक जनाको भाडा ३२ सय



पहिलोपोस्ट

पहिलोपटक गुड्यो बागलुङ-दिल्ली डिलक्स बस, एक जनाको भाडा ३२ सय

बागलुङ : बागलुङदेखि छिमेकी मुलुक भारतको नयाँदिल्लीसम्म सिधा बससेवा सुरु भएको छ। ना ५ ख ४२४९ नम्बरको ‘डिलक्स’बस पहिलोपटक यात्रु लिएर यहाँबाट नयाँदिल्लीका लागि प्रस्थान गरेको छ।
 
धवलागिरि अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिले पोखरामा रहेको ‘मोर्डन ईरा टुर्स एन्ड ट्राभल्स’प्रालिसँगको सहकार्यमा बससेवा सञ्चालन गरेको हो।
 
आज यहाँ सेवा शुभारम्भ गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष डोलनाथ खनालले बागलुङ–नयाँदिल्ली बससेवाले सार्वजनिक यातायात सेवामा नयाँ आयाम थपेको बताए।
 
उनले सर्वसाधारणप्रति समर्पित रहेर स्तरीय र मर्यादित सेवा प्रदान गर्न समितिलाई आग्रह गर्दै सार्वजनिक यातायात सेवालाई सुधार्न सरकारसँग मिलेर काम गर्न महासङ्घ तयार रहेको बताए।
 
बागलुङ–नयाँदिल्ली बससेवा साताको आइतबार, बुधबार र शुक्रबार सुचारु रहने समितिले जनाएको छ। नयाँदिल्लीबाट पनि सोही बार र समयमा बस बागलुङको लागि छुट्नेछ। यात्रुको चाहाना र सुविधालाई दृष्टिगत गरी ‘डिलक्स’बसबाट सेवा दिइएको समितिका अध्यक्ष कुमार खड्काले बताए।
 
बागलुङबाट छुटेको बस पोखरा-नारायणगढ-सुनौली नाका हुँदै नयाँ दिल्लीको मौरी गेट बरफ खानामा गएर रोकिनेछ। एक हजार ३२० किमिको उक्त यात्रामा प्रतियात्रु रु ३ हजार २ सय नेपाली भाडादर कायम गरिएको अध्यक्ष खड्काले जानकारी दिए।
 
बागलुङदेखि छुटेको बस ३० घन्टामा नयाँदिल्ली पुग्नेछ । नयाँदिल्लीमा पनि काउन्टर स्थापना गरी बस सेवाको प्रचारप्रसार र व्यवस्थापनको काम भइरहेको जनाइएको छ ।
 
धवलागिरी क्षेत्रबाट रोजगारीको लागि भारतको नयाँदिल्ली र अन्य सहरमा पुगेका व्यक्ति, भारतीय पर्यटक, तीर्थयात्री, विद्यार्थी, पेसाकर्मी र उपचारमा जाने बस सेवाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । ‘यहाँबाट नयाँदिल्ली पुग्न धेरै झन्झट बेहोर्र्नुपर्ने अवस्थाको अब अन्त्य हुनेछ, ठाउँ–ठाउँमा गाडी फेरिन गर्नुपर्ने बाध्यता पनि टर्नेछ,’ समितिका अध्यक्ष खड्काले बताए ।
 
‘मोर्डन इरा टुर्स एन्ड ट्रार्भल्स’ प्रालिका अध्यक्ष केशव अधिकारीले यात्रुको पूर्ण सुरक्षाको ‘ग्यारेन्टी’ गरिएको बताए। प्रालिले १० वर्षअघिदेखि पोखरा– नयाँदिल्ली बससेवा सञ्चालन गर्दै आएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell