PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

प्याब्सन, एन प्याब्सन र हिसानको चेतावनी- विद्यालयमा 'बम आतंक' फैलाउनेलाई कारबाही नगरे आन्दोलन



पहिलोपोस्ट

प्याब्सन, एन प्याब्सन र हिसानको चेतावनी- विद्यालयमा 'बम आतंक' फैलाउनेलाई कारबाही नगरे आन्दोलन

काठमाडौं :  विद्यालय क्षेत्रमा बम आतंक फैलाइएको भन्दै घटनामा संलग्नहरुलाई तत्काल कडा कारबाही नगरिए संयुक्त रुपमा आन्दोलनमा उत्रिने हिसान, प्याब्सन र एन प्याब्सनल चेतावनी दिएका छन्।
 
बम पड्काइएका र बम राखिएका विद्यालयहरुको स्थलगत अवलोकन गरेका तीनै संगठनका प्रमुखहरुले आजै संयुक्त प्रेस विज्ञप्ति निकालेर विद्यालयमा बम आतंक फैल्याउने घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।
 
प्रेस विज्ञप्ति लगत्तै रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर तीन वटै संगठनका प्रमुखहरुले सम्बोधन गरेका थिए। उच्च माध्यमिक विद्यालय संघ (हिसान) का अध्यक्ष रमेश सिलवालले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै शान्ति क्षेत्र घोषणा भएको विद्यालयमा बम पड्काउनु अपराधपूर्ण कार्य भएको टिप्पणी गरे।
 
शान्ति क्षेत्रमा यसरी बम आतंक हुनुमा राज्यको कमजोरी भएको उनको आरोप थियो। सिलवालले यस्ता घटना नियन्त्रण गर्नका लागि राज्य गम्भीर बन्न नसकेमा कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए। उनले चन्दा आतंक, संगठन विस्तार जस्ता कुरा रोक्न सम्बन्धित निकायलाई आग्रह गरे।
 
बम आतंक गराउनमा पढ्नका लागि विदेश विद्यार्थी पठाउन चाहने तत्वको समेत हात रहेको उनको आशंका थियो।
 
यस्तै, प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले बम आतंकमा संलग्नलाई कडा  कारबाही गर्न माग गरेका छन्। बम आतंकका कारण विद्यार्थी र अभिभावक मनोवैज्ञानिक  रुपमा त्रसित भएको भन्दै शान्ति क्षेत्रको रुपमा रहेका विद्यालयमा यस्ता  घटना घट्नु दुखद भएको टिप्पणी गरे। केसीले आगामी दिनमा राज्यले यस्ता घटना नियन्त्रण नगरिए आफूहरु चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
 
एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले विद्यालय क्षेत्रमा यस्ता घटना घट्नुमा शिक्षा मन्त्रालय दोषी रहेको आरोप लगाए।
 
राजनीतिक आवरण वा कुनै दलको संगठनका नाममा निजी विद्यालयमाथि गम्भीर आक्रमण भइरहँदा पनि शिक्षा मन्त्रालय मौन बस्नु दुर्भाग्य भएको शाहीको तर्क छ। यस्ता आक्रमण नरोकिए आफुहरु पनि आक्रमणको विरुद्धमा अगाडि बढ्ने उनको चेतावनी छ।
 
कार्यक्रममा प्याब्सनका महासचिव डिके ढुङ्गानाले आजको घटनाको सम्बन्धमा शिक्षा मन्त्रालय र गृहमन्त्रालय समक्ष कुरा राखेर दोषीलाई कारबाही गर्न माग गरिने जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell