PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

तरवार बोकेर इन्द्रपुत्रलाई हान्दै हिँड्ने राक्षस जात्रा भक्तपुरमा आजदेखि सुरु



रासस

भक्तपुर : धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत मूपात्र (राक्षसको प्रतीक) जात्रा आजदेखि सुरु भएको छ। 

नेवार समुदायमा महत्वपूर्ण जात्राका रुपमा लिइने मूपात्र जात्रा प्रत्येक वर्ष आश्विन कृष्ण द्वितीयादेखि चौथीसम्म मनाइन्छ  मूपात्र राक्षसको प्रतीकको जात्रा भएकाले यस जात्रालाई राक्षस जात्रा पनि भनिन्छ।

देवराज इन्द्रका छोरा जयन्तको कथासँग मिल्दोजुल्दो भएको मूपात्र जात्रा द्वापरयुगदेखि सञ्चालन भए तापनि मल्लकालमा भक्तपुरका राजा जगत्प्रकाश मल्लले देवीपुराण र पद्यपुराणको सङ्कलन गरी कथाका आधारमा दृश्य अनुकरण गरी जात्रा प्रचलनमा ल्याएको संस्कृतिकर्मी बताउँछन्। 

जात्रामा मूपात्र प्रमुख राक्षस र धिःचा नामक अन्य दुई सहायक राक्षससहित तीन जनालाई राक्षसको पोसाक र अनुहारमा विभिन्न रङ लगाई शृङ्गारपटारका साथ तरबार समात्न लगाई भक्तपुर नगर पूरै परिक्रमा गराउने प्रचलन छ । मूपात्रलाई नगर परिक्रमा गराउने बेला भक्तपुर नगरका टोल टोलमा ठड्याइराखिएको यम्बो द्योः (इन्द्रपुत्र)लाई तीन पटक घुमेर तरबारले हान्ने गरिन्छ । 

त्यसैगरी आज तचपाल टोलको सँला गणेशलाई खटमा राखी भक्तपुर सहर परिक्रमा गराइन्छ । साथै शःकुलानका मानन्धरहरुको याँः मता (आकासेबत्ती)का साथ विभिन्न बाजागाजाको पछाडि मूपात्रलाई राखी नगर परिक्रमा गराइन्छ । 

जात्राको दोस्रो दिन स्थानीय चोछें टोलको छुमा गणेशको मूर्तिसहितको खट दरबार स्क्वायरस्थित तलेजु भवानीमा लगी सोही स्थानबाट यांमता (आकासेबत्ती) बाजागााजाका साथ नगर परिक्रमा गराई सोही राति सँला गणेश र छुमा गणेशलाई आआफ्नो देवगृह द्योःछेमा पु¥याइन्छ । 

जात्राको अन्तिम दिन आश्विन कृष्ण चौथीका दिन स्थानीय टौमढी टोलमा रहेको आकाशभैरवमा गुठी संस्थान कार्यालयबाट पूजाअर्चना सम्पन्न गरिसकेपछि तल्लो टोलका मानन्धरले बुलुचास्थित ढुङ्गेधारा अगाडि दुई यांमता बालेर आकाशभैरवको खटजात्रासँगै नगर परिक्रमा गराइन्छ । त्यसपछि स्थानीय लाकुलाछें टोलमा बनाइने पुलुकिसी ऐरावत हात्ती जात्रा टौमढीबाट सहरको आधाभन्दा बढी स्थानमा पुगेपछि मात्र तेस्रो दिनमा मूपात्र जात्रा गरिन्छ । 

देवीपुराण ग्रन्थमा उल्लेख भएअनुसार स्वर्गका देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बस्न पारिजात फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो । पारिजात फूल खोज्दै जाने क्रममा दैत्यको बगैँचामा परिजात फूल टिप्दै गरेको बेला राक्षसले जयन्तलाई पक्राउ गरी दुई हात पछाडि बाँधेर राखेका हुनाले जयन्तलाई छुटाउन देवता राक्षसबीचको सङ्ग्राममा देवताको जित भएपछि राक्षसलाई जनतामाझ सहर परिक्रमा गराइएको इतिहास तथा संस्कृतिविद् डा पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन्।

​जात्रामा मूपात्रको भाग लिएबापत आजन्म जातपतिया तथा भातपानी नचल्ने दण्ड भोग्नुपर्ने मान्यता रहे पनि मूपात्र जात्रा आज पनि उत्तिकै हर्षोल्लासका साथ मनाइन्छ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell