PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जापानमा नखाई लगातार काम गर्दा मृत युवाका परिवारलाई २७ लाख जापानी येन



रासस

टोकियो : अध्ययनका लागि दुई वर्षअघि जापान आएर उपचारका क्रममा तीन साताअघि मृत्यु भएका सिन्धुली लाम्पनडाँडा–५ का २२ वर्षीय रमेश तामाङको परिवारलाई तामाङ समाज जापानले २७ लाख २० हजार जापानीयेन सहयोग प्रदान गरेको छ।
 
मृतक रमेशको नाममा उठेको सो रकम सहयोग शनिबार नेपाल पठाएर परिवारलाई हस्तान्तरण गरिएको तामाङ समाज जापानका अध्यक्ष कर्म वाङ्गेल लामाले जानकारी दिए।
 
सहयोग जुटाउन सुरु गरिएको अभियानअन्तर्गत सङ्कलन भएको ३६ लाख ३७ हजार ८ सय ११ जापानीयेनमध्ये उपचार र शव पठाउन लागेको नौ लाख १५ हजार ७८८ कटाएर २७ लाख २० हजार २३ जापानीयेन सहयोग उपलब्ध गराइएको हो।
 
गत साउन ३१ गते टोकियो महानगरपालिकाअन्तर्गत इकेबुकुरोको नागासिओ अस्पतालमा उपचारका क्रममा मृत्यु भएका तामाङको शव भदौ ८ गते नेपाल पठाइएको थियो। जापानमा आफन्त कोही नभएपछि तामाङ समाजको पहलमा मृतक तामाङको उपचार र शव नेपाल पठाउन लाग्ने खर्च जुटाउन सहयोग अभियान चलाइएको थियो।
 
खानै नखाई शरीरले थेग्न नसक्ने गरी निरन्तर काममा खटिएका कारण उच्च रक्तचाप भई उनको मृत्यु भएको इकेबुकुरोको नागासिओ अस्पतालले बताएको थियो। यसैबीच जापानस्थित नेपाली राजदूतावासका कार्यबाहक राजदूत कृष्णचन्द्र अर्यालले अध्ययनमा आउने जोसुकैले पनि खानपिनमा सावधानी अपनाउन र निरन्तर काममा जानुअघि स्वास्थ्यको ख्याल राख्न अनुरोध गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell