PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​अर्घाखाँची : मेटियो युद्धका डोब



ऋषिकेश दाहाल

​अर्घाखाँची : मेटियो युद्धका डोब

घुमाउरो पहाडी बाटो पार गरेर शहर छिर्नै लाग्दा खाली जमिनमा प्लटिङ देखियो। हामी हिडिरहेको बाटोमा भन्दा राम्रो देखिने कालोपत्र प्लटिङको जग्गामा जोडिएको थियो। 

यो सन्धीखर्क हो। अर्घा र खाँची दुई ठाउँलाई एक बनाउन यही सन्धी भएकाले नामाकरण भयो सन्धीखर्क। गाईवस्तु पाल्ने खर्कमा सन्धी भएपछि यो सन्धीखर्क बन्यो र अर्घा र खाँची जोडिँदै अर्घाखाँची बन्यो। वाम राजनीतिको उर्बर यो सदरमुकामले माओवादी जनयुद्धमा दुई भिषण आक्रमण बेहोरेको थियो। तर यतिखेर जिल्लामा अहिले युद्धका डोबहरु छैनन्। जति डोबहरु छन् ती मानिसका मनभित्र होलान् जसलाई हामी सजिलै देख्न सक्दैनौं। 

सन्धीखर्क छिरेलगत्तै सडक माथितिर सरकारी अड्डा अदालत सबै अटाएका छन्। शान्ति पार्क फनक्क घुमेर पिचबाटो हुँदै यो अग्लो भागमा अनौठो अनुभूति भयो। सबै सरकारी अड्डा अदालत चिटिक्क परेका – पूरै आधुनिक। फरक किसिमको सुन्दरता किनभने सबै एकै ठाउँमा अटाएका। घरका बनोटहरु पनि एकरुप। माओवादीले आक्रमण गर्दा यहाँका एक/दुई सरकारी कार्यालयबाहेक सबै ध्वस्त थिए। अझै माथि रहेको सैनिक ब्यारेक नै तहस नहस भएको थियो। त्यहीँ युद्धका संकेतहरु के छन् हेर्ने रहर पूरा भएन। सबै बनिसकेका रहेछन्। माओवादीको हिंसात्मक युद्धपछि यहाँको रौनक नै फेरिएको छ। सन्धीखर्कमा यतिखेर होटलहरु धमाधम बढ्दैछन्। तिनमा स्तरीयता कायमको होड पनि चलिरहेको छ। भएका जग्गा प्लटिङमा परेका छन्। घडेरी आना वा रोपनीमा चल्दैन – हातमा कारोबार भइरहेको छ। हातको ५ लाखदेखि १० लाखसम्मको किनबेच। त्यही पनि पाउन मुस्किल। सडकको सञ्जालले यहाँका सबै गाउँ र वडाहरुसम्मै जेलिएको छ। बनेका सडकको हैसियत कस्तो छ भन्ने त त्यहाँ भएका दुर्घटनाहरुले नै बताउँछ। 

अग्ला र भव्य घरहरु यहाँको शान बनेको छ। शहर सफा छ। मानिसहरु पनि चिटिक्क। बिहानै उठेर यहाँको बजारमा अमूर्त खोजीमा हिड्दा केही प्रश्नहरुभन्दा केही पाइएन। घरैघर छ। पसलैपसल पनि। ती पसलमा काठमाडौंदेखि पुगेका सामानहरुमात्रै देखिए। आखिर अर्घखाँचीमा के पाइन्छ त? प्रश्नको उत्तर पछिमात्र मिल्यो – यहाँ केही छैन। रेमिटेन्स भित्रिएको छ बस। त्यसैले झकिझकाउ बनाएको छ सदरमुकाम। 

होटल र रेस्टुँराहरु चलेका छन्। इन्टरनेट सेवा प्रदायकहरु पनि प्रतिस्पर्धी रुपमा छन्। स्थानीयस्तरमै टेलिभिजन पनि चलेको छ। एफएम त
नहुने कुरै भएन- दलैपिच्छेका रेडियो यहाँ पनि छ। 

कुनै बेला जनमोर्चाको बलियो पकड भएकाले हुनुपर्छ मसाल टोल नै रहेछ। पछिल्लो एक दशकमा एउटा टोलमा त मसालमा लागेका मानिसहरुलाई मात्र किनबेच पनि भएछ जग्गाहरु। त्यहाँ पनि गतिलै बजार विस्तारित भइसकेको छ।   

बजार नजिकै तल खोलामा एउटा शव दाह संस्कार भइरहेको थियो। कूल मिलाएर ७ जना मानिस त्यहाँ देखिए। त्यति थोरै मलामी देखिनुले अनौठो अनुभूति गराइरह्यो। युवाहरु रेमिट्यान्सका लागि विदेशिएका छन्। बुहारीहरु छोराछोरी च्यापेर उनीहरुलाई राम्रो शिक्षा दिन भन्दै सदरमुकाम झरेका छन्। त्यसैले यहाँको अर्थतन्त्रलाई चलायमान बनाएको छ। भाउ बढाएको छ।

यहाँ एउटा सडक छ जसलाई हल लाइन भन्छन्। फिल्म हलका कारण हल लाइन भने पनि सूचना प्रविधिको विकासले यहाँको हल बन्द छ। हल लाइन भने नाममा कायमै छ। मोबाइलमै युट्युबाट फिल्म हेर्ने बढे – हलसम्म जाने पूरै घटे। त्यसले हल छ, हल लाइन पनि छ। तर फिल्म छैन। 
धेरै काम छैन त्यसले फुर्सद पनि छ। 'डिएसपी सापले स्कर्टिङ पर्छ कि भनेर सोध्नु भएको थियो,' एक स्थानीय पत्रकारले हामीलाई सुनाए। 
अचम्म ! काठमाडौंबाट पत्रकार पुग्दा जिल्ला प्रहरी प्रमुखले स्कर्टिङ सोध्दा अचम्मित नहुनु कसरी? लौ किन नि प्रश्न उठिहाल्यो।

​ती पत्रकार मित्रले इमान्दारितासाथ सुनाए – ऋषि धमला आउनु भएको थियो। उहाँले स्कर्टिङ नभइ हुन्न भन्नु भयो। हामीले मिलाइदियौं पनि। 
उनको कुरा सुनेर हामीसँग मुसुक्क हाँस्नुको विकल्प थिएन। स्कर्टिङ लिनैपर्ने हैसियतका हामी थिएनौं।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell