PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

यस्तो छ तीस दलीय मोर्चाको तीन चरणको आन्दोलन कार्यक्रम



यस्तो छ तीस दलीय मोर्चाको तीन चरणको आन्दोलन कार्यक्रम

सरकारले वार्ताको ढोका खुल्लै राख्ने, कदम नसच्चिएसम्म मोर्चा वार्तामा नबस्ने

काठमाडौँ : संविधान सभाध्यक्ष सुवास नेम्वाङले आफ्नै टेबलबाट संविधान निर्माणको बहुमतीय प्रक्रिया अघि बढाएको विरोधमा एनेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाको तीन चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक भएको छ। 

सं‍विधान सभाभित्र रहेका १९ दलसमेत सहभागी मोर्चाका संयोजक एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रममा चैत १५ सम्म दुई चरण र त्यसपछि निर्णायक तहको आन्दोलन गर्ने भनिएको छ। 

भण्डाफोर तथा खबरदारी अभियान नाम राखिएको पहिलो चरण अन्तर्गत माघ १२ गतेदेखि २० गतेसम्म आन्दोलनका लागि सबै दलहरुले तयारी गर्ने, २१ गतेदेखि ३० गतेसम्म गाउँ, नगर, निर्वाचन क्षेत्रीय स्तरको अन्तर्क्रिया, सभा, भित्तेलेखन, पर्चा वितरणको कार्यक्रम छ। त्यसैगरी फागुन १ गतेदेखि १० गतेसम्म धर्ना, घेराउ, जनप्रदर्शन, सभा गर्ने कार्यक्रम राखिएको छ भने फागुन १६ गते काठमाडौँमा विशाल जनप्रदर्शन तथा सभा गर्ने भनिएको छ। 

दोस्रो चरणको आन्दोलन फागुन १७ देखि चैत १५ सम्म हुने भनिएको छ। प्रचण्डले त्यसअवधिमा 'क्रियात्मक कार्यक्रम' हुने भने पनि त्यसबारे केही खुलाएनन्। उनले भने, 'यो अवधिमा सरकार कसरी प्रस्तुत हुन्छ, त्यसैअनुसार प्रतिरोध र प्रतिवाद गर्नेछौँ।'
 
चैत १६ देखि भने आन्दोलनलाई निर्णायक तहमा पुर्‍याउने उनले बताए। 
 
आफूसँग अलग्गिएर गएको मोहन वैद्य नेतृत्वको नेकपा - माओवादी र पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन सल्लाह गरेर सकेसम्म आन्दोलनलाई एकीकृत बनाउने नभए पनि एकले अर्कालाई सहयोग गरेर लाने सहमति पनि मोर्चामा भएको प्रचण्डले बताए। 

सभाध्यक्षले चालेको प्रतिगामी कदम र बहुमतको नाममा क्रान्तिका उपलब्धिलाई निस्तेज पार्ने कार्यलाई नसच्याएसम्म र विगतमा भएका सम्झौताहरु पालन गर्ने सुनिश्चित वातावरण नबनाएसम्म वार्ता नगर्ने निर्णय पनि मोर्चाले गरेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell