PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बेचबिखन गर्न लागिएका १०३ चेलीको उद्धार, कारबाहीमा चार जनामात्रै



पहिलोपोस्ट

बेचबिखन गर्न लागिएका १०३ चेलीको उद्धार, कारबाहीमा चार जनामात्रै

रत्ननगर (चितवन) : विभिन्न जिल्लाबाट मानव तस्करले बेचबिखन गर्न लैजाँदै गर्दा चितवनबाट गएको एक वर्षमा १०३ जना महिलाको उद्धार भएको छ।
 
माइती नेपालले १०३  चेलीको उद्धार गरी घर फर्काएको क्षेत्रीय कार्यक्रम अधिकृत युवराज दवाडीले बताए। विभिन्न सचेतना कार्यक्रम तथा सडकमै सूचना केन्द्र स्थापना गरेर गाडीमा जाँच गर्ने अनि शङ्कास्पद लागेकालाई सोधखोज गर्दा उनीहरुलाई पत्ता लगाएर घर फर्काइएको हो। यसरी उनीहरुलाई घर फर्काइए पनि पीडक भने सजिलै उम्कने गरेको दवाडी बताउँछन्। 
 
यसरी उद्धार गरिएकामा १० देखि १६ वर्ष उमेरका ५२, १७ देखि २० वर्ष उमेरका २३ तथा २१ देखि ३५ वर्षका २८ जना रहेका छन्।
 
यस्तै, माइती नेपालले २९ वटा घरेलु हिंसाका घटनामा आफूहरुले काम गरेको जनाएको छ। उद्धार गरिएका चेलीले समेत स्पष्ट कुरा नभनिदिने, भनिहालेमा पनि कानुन कार्यान्वयन गर्ने निकाय फितलो हुने, अभिभावक संवेदनशील नहुनेलगायत समस्याका कारण उनीहरु सजिलै उम्कने गरेको दुखेसो माइती नेपाल चितवनको छ। १०३ जना उद्धार गर्दा चार जना मात्रै कारबाहीको दायरामा पुग्नुले पनि यसलाई पुष्टि गरेको छ।
 
पछिल्लो समयमा अधिकांश चेली भूकम्पप्रभावित जिल्लाबाट आउने गरेको र भूकम्पले बुबाआमा गुमाएका, घर भत्किएका र पीडित बनेका धेरै रहेको माइती नेपालकी मनोविमर्शकर्ता जयन्ती खनालले जानकारी दिए।
 
उनका अनुसार गोरखा, धादिङ, लमजुङ, नुवाकोट लगायत जिल्लाका चेलीलाई चितवन हुँदै भारत लैजाने गरेको पाइएको छ।(प्रतीकात्मक फोटो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell