PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सकियो स्थानीय तह निर्धारण आयोगको थपिएको म्याद, औपचारिकतामा सीमित भयो तीन दल बैठक



पहिलोपोस्ट

सकियो स्थानीय तह निर्धारण आयोगको थपिएको म्याद, औपचारिकतामा सीमित भयो तीन दल बैठक

काठमाडौँ :  स्थानीय तह निर्धारण आयोगलाई स्थानीय तहको क्षेत्र निर्धारण गर्न थपिएको १५ दिनको समय आजदेखि सकिएको छ। तर प्रमुख दलहरुबीच स्थानीय तह निर्धारणबारे कुनै सहमति हुन सकेको छैन।

स्थानीय तहको क्षेत्र निर्धारणका लागि साझा धारणा बनाउने सिलसिलामा प्रमुख तीन दलबीच आज भएको छलफल औपचारिकतामा सीमित भएको छ। दुई प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले विदेशमा छन्।  

तर पनि प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा दलहरू र स्थानीय तह पुनःसंरचनासम्बन्धी आयोगबीच छलफल भएको छ।  सोही छलफलका आधारमा भदौभित्र त्यस विषयलाई टुङ्गो लगाउनेबारे कुराकानी भएको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए। 

“नेकपा एमालेका अध्यक्ष र काँग्रेस सभापति मुलुक बाहिर रहेको भएपनि क्षेत्र निर्धारणबारे दलहरू र आयोगसँग कम्तीमा छलफल गर्नुपर्छ भनेर प्रधानमन्त्रीले नै बैठक आह्वान गर्नुभएको हो” – प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनालले भने। 

छलफलमा प्रधानमन्त्री दाहाल र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, काँग्रेसबाट वरिष्ठ नेता पौडेल, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि र एमालेका तर्फबाट कावा अध्यक्ष वामदेव र नेता विष्णु पौडेल सहभागी थिए। 

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा रहेको ९२७ इलाकालाई नै गाउँपालिका र नगरपालिका बनाउन प्रस्ताव गरेका छन्। 

स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्ष बालानन्द पौडेल सहितका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले दलहरुले अव्यवहारिक भयो भन्दै आवाज उठाएको उल्लेख गर्दै संख्या बढाउन आग्रह गरेका हुन्। 

आयोगले गाउँपालिका र नगरपालिका गरी ५ सय ६५ वटा स्थानीय तह रहने प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको थियो जसमा दलहरुले असन्तुष्टि जनाउँदै आएका छन्। 

स्रोतका अनुसार बैठकमा प्रधानमन्त्रीले विभिन्न कुरा आएको छ भन्दै इलाकाको कुरा निकालेका थिए। 

तर आयोगका सदस्यहरुले प्रधानमन्त्रीको कुराको सिधा प्रतिवाद गरेका थिए। आयोगका एक सदस्यले पहिलोपोस्टसित भने - 'इलाकाको कुरा आएको हो भने त संविधानमै इलाकालाई नै गाउँपालिका नगरपालिका मानिनेछ भनेर राखेको भए भइहाल्थ्यो नि। किन पुनर्संरचना आयोगले काम गर्नुपर्‍यो भनेर जवाफ दियौँ।'

आयोगका सदस्य सुनिलरञ्जन सिंहका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले 'संख्यामा रिजिड हो कि फ्लेक्जिबल हो?' भनेर प्रश्न गरेका थिए। 
'हाम्रो मापदण्ड अनुसार २ देखि ४ वटा तलमाथि गर्नुपर्ने अवस्था छ। कुनै जिल्लामा एउटा वा दुइवटा थप्ने अवस्था छ। तर ह्वात्तै बढ्दैन हाम्रो मापदण्डमा', सिंहले प्रधानमन्त्रीलाइ दिएको जवाफका विषयमा भने। 

उनले दलहरुले सहमतिमा मापदण्ड ल्यायो भने आयोगले सोच्न सक्ने बताए। 'दलहरुको सहमतिमा मापदण्ड आयो भने पनि त्यो बाध्यता होइन अनुरोध हो', सिंहले भने। 

पुनर्संरचना आयोगले स्थानीय तह पुनर्संरचनाका लागि स्थानिय विकास अधिकारीको संयोजकत्वमा प्राविधिक समिति बनाएको थियो। अधिकांश जिल्लाले संख्या र सिमाङ्कन टुङ्गो लगाउन सकेका छैनन्। हालसम्म पाँच जिल्लाले मात्र प्रतिवेदन केन्द्रमा पठाएका छन्।

सम्भव छैन ठूलो संख्या

पुनर्संरचना आयोगले ठूलो संख्यामा गाउँपालिका र नगरपालिका बनाउँदा आर्थिक रुपमा धान्न नसक्ने अवस्था रहेको प्रति सचेत गराउँदै आएको छ। आयोगले धेरै संख्या बनाउँदा कर्मचारी र ठूलो संख्यामा पदहरु सिर्जना हुँदा भार पर्ने उल्लेख गर्दै आएको छ। 

'कमसेकम एउटा गाउँपालिका नगरपालिकामा ७० जना चाहिने अवस्था छ', सिंहले भने, 'आर्थिक प्रशासनिक मार पर्ने भयो।'

उनले गाउँ पालिका र नगरपालिकामा विगतमा गाविसबाट दिने सुविधा यथावत् रहने र वडा कार्यलयबाट सेवा तयारी भइरहेको उल्लेख गरे। 
'जिल्लाबाट प्राप्त हुने सेवा सुविधा त्यहीँ गाउँपालिका नगरपालिकाबाट प्राप्त हुने भयो। केन्द्रबाट प्राप्त हुने पनि अब त्यहीँबाट हुने भयो। अनि सेवा कसरी टाढा भयो?', उनले प्रश्न गरे।

उनले संवैधानिक आयोग भएकाले त्यसले निर्देश गरेको बाटो लिने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell