PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चितवनमा स्क्रब टाइफसका बिरामी बढे, एक साताभित्र १७ जनामा संक्रमण



पहिलोपोस्ट

चितवनमा स्क्रब टाइफसका बिरामी बढे, एक साताभित्र १७ जनामा संक्रमण

रत्ननगर (चितवन) :  चितवनमा गएको एक सातामा स्क्रब टाइफसका १७ जना नयाँ बिरामी भेटिएका छन्।
 
७० जना बिरामीको रगत परीक्षणमा १७ जना नयाँ रोगी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
 
यसअघि भदौ पहिलो सातासम्ममा वैशाखयता १४५ जनामा सङ्क्रमण भएको पाइएको थियो। अहिले १७ जना थपिएसँगै बिरामीको सङ्ख्या १६२ पुगेको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसूदन कोइरालाले भदौको यस साताबाट सङ्क्रमण घटेको सङ्केत मिलेको जानकारी दिए।
 
चितवनमा वैशाखदेखि अहिलेसम्म स्क्रब टाइफसबाट करिब चार सय जनामा गरिएको परीक्षणमा १६२ मा सङ्क्रमण भएको पाइएको हो। जिल्लामा दुई जनाको ज्यान गएको छ।
 
चितवनका तीन वटा असपतालमा यसको परीक्षण सुरु भएको छ। भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा परीक्षण थालिएको जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले बताए।
 
अहिलेसम्म भरतपुर अस्पतालमा ३७ जनाको परीक्षणमा तीन, नारायणी सामुदायिक अस्पतालमा २७ जनाको परीक्षणमा सात र चितवन मेडिकल कलेजमा ३२७ जनाको परीक्षणमा १५२ जनामा सङ्क्रमण भएको पाइएको उनले जानकारी दिए।
 
नेपालमा वैशाखयता अहिलेसम्म यो रोगका कारण पाँच जनाको ज्यान गइसकेको छ। नेपालमै सबैभन्दा बढी चितवनमा यो रोग फैलिएकाले इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा काठमाडौँको टोली आएर अध्ययन गरेको छ।
 
मुसामा हुने एक प्रकारको किर्ना ‘माइटले टोकेमा यो रोग सर्ने चिकित्सकले बताएका छन्। गत वर्षदेखि नेपालमा आधिकारिक पुष्टि भएको नयाँ रोग स्क्रब टाइफस उपचार सजिलो छ। तर रोगको पहिचानमा ढिलाइ भयो भने मात्रै मानिसको ज्यान जोखिममा हुने भएकाले सचेत हुन चिकित्सकले आग्रह गरेका छन्।
 
यो एक प्रकारको ब्याक्टेरिया (रिकेटसिया) ले लगाउने रोग हो। झाडी वरिपरि, कृषि काम गर्ने, जताततै बस्ने र चौरझारमा बस्नेमा सर्ने सम्भावना बढी भएकाले सो क्षेत्रमा जाँदा होसियारी अपनाउनुपर्ने चिकित्सक बताउँछन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell