PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

संविधानसभा बैठक अघि माओवादी शीर्ष नेता र राष्ट्रपतिबीच छलफल



काठमाडौँ : संविधान निर्माण प्रक्रियामा दलहरुबीच चर्को विवाद भइरहेको बेला राष्ट्रपति डा रामवरण यादव र एकीकृत नेकपा (माओवादी)को शीर्ष नेतृत्वबीच भेटवार्ता भएको छ।

राष्ट्रपति कार्यालय शीतल निवासमा केहीबेर अघि सम्पन्न भेटवार्तामा संविधान निर्माण प्रक्रिया, दलहरुबीच देखिएको विवाद तथा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा राष्ट्रपतिले चासो राख्नुभएको थियो।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलहरुबीच सहमति जुट्न नसकेको र निरन्तर संविधानसभाको बैठक अवरुद्ध हुँदै गएको भन्दै आज प्रश्नावली समिति गठनसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गर्नुभएको सूचना आइरहेको बेला राष्ट्रपति डा यादवले एमाओवादी नेतृत्वलाई सहमतिमा नै अगाडि बढ्न आग्रह गरेको एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका प्रमुख स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिए।

राष्ट्रपति डा यादवले शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरु मिलेर अगाडि जानुको विकल्प नभएको भन्दै विवाद बढाएर होइन घटाएर अगाडि बढ्न आग्रह गरेका थिए।

एमाओवादी नेतृत्वले भने सत्ताधारी दलका कारण संविधान निर्माण प्रक्रिया जटिल मोडमा पुगेको र प्रतिपक्षी दललाई पेलेर जान खोजेको भन्दै आफूहरुले प्रतिवाद गरेको राष्ट्रपति डा यादवलाई जानकारी गराएको थियो।

सहमति र सहकार्यका आधारमा अगाडि बढ्न आफूहरु तत्पर रहेको भन्दै एमाओवादी नेतृत्वले त्यसका लागि सत्ताधारी दल नै तयार नभएको बताएको थियो। राष्ट्रपति डा यादवलाई भेट्न एमाओवादी अध्यक्ष दाहाल तथा वरिष्ठ नेता डा बाबुराम भट्टराई शीतल निवास पुगेका थिए। - रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell