PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विदेशमा जन्मिएका नेपाली एकल महिलाका सन्तान नागरिकताविहिन भएकोमा एनआरएनको चिन्ता



पहिलोपोस्ट

  • विष्णुहरि घिमिरे - 
न्युजर्सी : विदेशमा जन्मिएका नेपाली एकल महिलाका सन्तान नागरिकताविहिन भएको हुँदा त्यस्ता नाबालकहरुलाई नागरिकता  तथा ट्राभल डकुमेन्ट प्रदान गर्नका लागि उपयुक्त  कानुन निर्माण गर्न नेपाल सरकारसँग अनुरोध लगायत ११ बुँदे घोषणा जारी गर्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) को दुई दिने सम्मेलन आइतबार साँझ सम्पन्न भएको छ।

अमेरिकाको न्युजर्सीमा सम्पन्न सम्मेलनले भिजन ट्वान्टी ट्वान्टी एण्ड वियोण्ड भन्ने मुख्य अवधारणामा भएको छलफलका क्रममा पाप्त भएका र पछि प्राप्त हुने सुझावहरुलाई समेट्दै त्यसको कार्यन्वयनका लागि अर्न्तराष्ट्रिय समन्वय परिषद् आइसीसीलाई जिम्मा दिने निर्णय गरेको छ।
 
यस्तै सम्मेलनले देशको समृद्धिका लागि राजनीतिक स्थिरतामा जोड दिएको छ। सम्मेलनले सबै पक्षको सहमतिमा संविधान कार्यान्वयन गरी देशलाई स्थायित्व प्रदान गर्न सर्म्पूण दललाई आग्रह गरेको छ।

सम्मेलन समाप्तिपछि जारी विज्ञप्तिमा संविधान कार्यान्वयनको क्रममा बन्ने नागरिकता लगायतका ऐनहरुमा गैरआवासीय नेपालीहरुको भावना र मर्म समेट्न पनि नेपाल सरकारको ध्यानाकर्षण गर्दछ भनिएको छ।
 
भूकम्प प्रभावितहरुको लागि घर निर्माण गर्ने प्रतिवद्धता अनुसार गोर्खाको लाप्राकमा नमूना बस्ती निर्माण गर्ने निष्कर्ष पनि सम्मेलनले गरेको छ। संघले बस्ती निर्माणको लागि प्राविधिक कार्य अगाडि बढाइसकेको अवस्थामा लाभग्राहीले पाउने जग्गा लगायत सरकारी पक्षबाट गरिदिनु पर्ने कार्य तत्काल पूरा गरिदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ। 

सम्मेलनले नेपालको पर्यटन प्रवर्धनमा गैरआवासीय नेपालीहरुको विशेष भूमिका रहनु पर्दछ भन्ने कुरा आत्मसाथ गर्दे पर्यटन प्रवर्धन सम्बन्धी कार्यक्रमहरु हरेक देशमा गर्ने र नेपाल पर्यटन विकासमा एनआरएनए खुलेर सहयोग गर्न प्रतिवद्धता जाहेर गरेको छ। 

वैदेशिक रोजगारमा रहेका कामदारहरु सम्म नेपाल सरकारको सेवालाई सहज पार्न लेबनान, इराकमा सरकारी उपस्थिती तथा साउदी, युएइ जस्ता मुलुकहरुमा नियोगको विस्तार तथा आवस्यक कानुनी सेवा प्रदान गर्ने गरी क्षमता अभिबृद्धि गर्न माग गरेको छ। 

यस्तै वैदेशिक न्याय, उद्धार र क्षतिपूर्तिका लागि कानुनले निर्दिष्ट गरेका पक्षहरुलाई जिम्मेवार बनाउन माग गर्दै बैदेशिक रोजगार नीति निर्माण गर्दा गैरआवासीय नेपाली संघको उचित प्रतिनिधित्व गर्दै पीडित कामदार तथा घरेलु महिलाहरुको तत्काल उद्धार गर्न साधन स्रोत सहित द्रुत उद्धार संयन्त्र निर्माण गर्न माग गरेको छ। 

गैर आवासीय नेपालीको उल्लेख्य संख्या बढेका देशमा नेपाली दुतावास स्थापान गर्न नेपाल सरकारसँग सम्मेलनले माग गरेको छ। २५ देशका पाँच सय भन्दा बढी प्रतिनीतिकहरुको उपस्थिति रहेको सम्मेलनले  विदेशमा हुर्किरहेको दोस्रो पुस्तालाई गैरआवासीय नेपाली संघमा  समावेश गर्दै स्वदेशमा संचालन भइरहेका युवा सम्बन्धी कार्यक्रमहरुमा सहभागिता गराउँदै जान प्रतिवद्धता जाहेर गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell