PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

थ्री स्टार एएफसी कप प्लेअफमा छनोट



पहिलोपोस्ट

थ्री स्टार एएफसी कप प्लेअफमा छनोट

काठमाडौं : नेपाली राष्ट्रिय लिग च्याम्पियन थ्री स्टार क्लब एएफसी कप प्लेअफको लागि छनोट भएको छ।
 
एएफसी कप प्लेअफ छनोटको समूह बीमा रहेको थ्री स्टार ४ अंक सहित समूह विजेता बनेपछि अघिल्लो चरण प्रवेश गरेको हो।
 
समूहको अन्तिम खेलमा मंगोलियाको एर्चिम एफसीले कम्बोडियाको नागावर्ल्ड एफसीलाई १-० ले पराजित गरेपछि थ्री स्टार समूह विजेता बनेको हो। आज थ्री स्टारको खेल नभए पनि यी दुईबीचको खेल नै थ्री स्टार समूह विजेता बन्ने वा नबन्ने भन्ने लागि निर्णायक थियो।
 
समूह बी अन्तर्गत थ्री स्टारले पहिलो खेलमा घरेलु क्लब एर्चिमलाई २-० ले पराजित गरेको थियो भने दोस्रो खेलमा अन्तिम ५ मिनेटमा गोल गर्दै नागावर्ल्डसँग १-१ गोलको बराबरी खेलेको थियो।
 
नागावर्ल्डलाई हराउँदै ३ अंक जोडे पनि एर्चिम भने यसअघि छनोटबाटै बाहिरिसकेको थियो।
 
एसियाको दोस्रो दर्जाको प्रतियोगिता एएफसी कपको प्लेअफका लागि थ्री स्टारसँगै ९ टोलीले भाग लिएका थिए। समूह एबाट यसअघि नै किर्गिस्तानको डोर्डोइ छनोट भइसकेको छ।
 
तीन समूहमा विभाजन गरिएको यस छनोट बाट समूह विजेता बन्ने तीन क्लब अघिल्लो चरणमा प्रवेश गर्नेछ। अब समूह सी को विजेताको मात्र टुङ्गो लाग्न बाँकी छ।
 
एसियाको तेस्रो दर्जाको प्रतियोगिता एएफसी प्रेसिडेन्ट कपको खारेजी गरेसँगै नेपाल जस्ता देशका क्लबको लागि पनि एएफसीले एएफसी कपको छनोट खेल्ने मौका प्रदान गरेको हो।
 
यस प्रकारको प्रतियोगितामा भाग लिँदै अघिल्लो चरण प्रवेश गर्ने थ्री स्टार पहिलो क्लब बनेको छ।
 
सन् २००५ मा काठमाडौंबाटै सुरु भएको प्रेसिडेन्ट कप खेल्नेमा पनि थ्री स्टार नै पहिलो क्लब बनेको थियो।
 
अब थ्री स्टारले सन् २०१७ को जनवरी फेब्रुअरीमा हुने एएफसी कप प्लेअफमा भाग लिनेछ। त्यसका लागि यसै वर्षको अन्त्यतिर ड्र सार्वजनिक गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell