PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपालको डिभिजन एक सपना तुहियो, तेस्रो स्थानका लागि केन्यासँग भिड्ने



नेपालको डिभिजन एक सपना तुहियो, तेस्रो स्थानका लागि केन्यासँग भिड्ने
अविजित ९१ रन बनाएका ज्ञानेन्द्र केन्या विरुद्ध ब्याटिङ गर्दै। फोटोः आइसीसी

काठमाडौं : नामिबियामा जारी विश्व क्रिकेट डिभिजन दुईको लीग खेलमा केन्यासँग पराजित भएपछि नेपालको डिभिजन एकको सपना तुहिएको छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको नेपालले केन्यासँगको खेल जित्नै पर्ने दबाबमा थियो। केन्यासँग हारेपछि नेपाल डिभिजन दुईमै बसेको छ।

आजै भएको अर्को खेलमा नेदरल्याण्ड्सले युगाण्डालाई ठूलो अन्तरले पराजित गरेपछि नेपाल नेट रन रेटका आधारमा अंक तालिकाको तेस्रो स्थानमा झर्‍यो। नेदरल्याण्ड्सले युगाण्डालाई ७९ रनमा अलआउट गर्दै ६ ओभर मै लक्ष्य भेट्टाएको थियो। नेपाल र नेदरल्याण्ड्सको समान ६ अंक रहेको छ। नेदरल्याण्ड्सको नेट रन रेट ‌+०.६४२ रहेको छ भने नेपालको नेट रन रेट ‌+०.३८८ मात्र रहेको छ।

नेपाल तेस्रो स्थानका लागि शनिबार केन्यासँग आजकै मैदानमा खेल्नेछ। 

केन्यासँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्लको उत्कृष्ट ब्याटिङमा केन्यालाई १ सय ९५ रनको लक्ष्य दिएको थियो। सुरुदेखि नै आक्रामक जवाफी ब्याटिङमा उत्रेको केन्याले ३५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पार गर्‍यो।

१३ रन मै दुई विकेट गुमाएको केन्यामाथि नेपाली बलर हाबी हुन सकेनन्। प्रतियोगितामै उत्कृष्ट लयमा रहेका नेपाली बलरले लीगको अन्तिम खेलमा जादु देखाउन सकेनन्। तेस्रो विकेटका लागि केन्याका ब्याट्सम्यान करिम र ओवान्डाले ६६ रनको साझेदारी गरे। ओवान्डाले ४५ रनको पारी खेले। उनलाई सोह्रौं ओभरमा सागर पुनले एलबीडब्ल्यू धरापमा पारे। नेपाल खेलमा हाबी हुनका लागि चाँडै विकेट लिन जरुरी थियो। २ रन मात्र जोडेको अवस्थामा ज्ञानेन्द्र मल्लले ओबुयालाई रन आउट गरेर नेपाललाई खेलमा फर्काए।

तर त्यसपछि ब्याटिङमा आएका पटेलले करिमसँग मिलेर १ सय ३ रनको साझेदारी गरे। उनी स्कोर लेबल भएको अवस्थामा वसन्त रेग्मीले उनलाई आउट गरे। उनले ५१ बलमा ५६ रनको पारी खेले।

केन्याका बलर नेहेम्या ओधियाम्बो बलिङ गर्दै। उनले एक विकेट लिए। फोटोः आइसीसी

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट विकेट गुमाएर १ सय ९४ रन बनायो। नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट ब्याटिङ गर्दै नट आउट ९१ रनको योगदान दिए। उनले ११६ बल खेल्दै ७ चौका प्रहार गरे। १८ रनमा ३ विकेट गुमाइसकेको अवस्थामा ज्ञानेन्द्रले कप्तान पारस खड्कासँग मिलेर ४८ रनको साझेदारी गरे। पारसले २० रन बनाए।

त्यस्तै ज्ञानेन्द्रले शरद भेषावकरसँग ३४ रनको साझेदारी गरे। शरदले १८ रन बनाए। अरू खेलमा झैं नेपालका ओपनर आजको खेलमा पनि जम्न सकेनन्। ओपनर सागर पुनले १२ रन बनाए भने सुवास खकुरेल २ रनमा आउट भए। नरेश बुढायर शुन्यमा आउट भए। ज्ञानेन्द्र र विनोदको जोडीले ३३ रन जोडे। भण्डारी १६ रन बनाएर आउट भए। नेपालका ६ जना ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन्। 

नामिबियाबाट नेदरल्याण्ड्स र आयोजक राष्ट्र नामिबिया डिभिजन एकमा बढुवा भएका छन्। नामिबिया ५ खेलमा चार खेल जितेर आठ अंक सहित समुहको शीर्ष स्थानमा छ। शनिबार नेदरल्याण्ड्स र नामिबियाका बीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ भने नेपालले तेस्रो स्थानका लागि केन्यासँग खेल्नेछ। क्यानडा र युगाण्डा अंक तालिकाको पुछारमा रहँदै रेलिगेशनमा परेका छन्।

केन्या विरुद्ध ब्याटइङ गर्दै शरद भेषावकर। उनले १८ रन जोडे। फोटोः आइसीसी


नेपाल विरुद्ध बलिङ गर्दै लुकास। उनले दुई विकेट हात पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell