PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

यस्तो छ विश्वकपको पाँच अर्ब डलरको कारोबार



यस्तो छ विश्वकपको  पाँच अर्ब डलरको कारोबार

केली फिलिप्स/फोर्ब्स
अहिले विश्वभर विश्वकप फुटबलको लहर छाएको छ। विश्वकपको पोस्टर, टिमहरुको जर्सी, सोभिनेयर, मस्कट- बजारमा किन्ने चिज धेरै छन्। टेलिभिजनहरुमा प्रत्यक्ष प्रसारण, त्यसका लागि प्रायोजन। अर्बौँको लगानी भएको छ यो प्रतियोगिता आयोजना गर्न। यो प्रतियोगिता कसले आयोजना गर्छ? यसबाट आउने त्यत्रो नाफा कहाँ जान्छ? यस्ता धेरै प्रश्न अधिकांशका मनमा हुनसक्छ।

विश्वकप फुटबल फिफाले आयोजना गर्छ। फिफा अन्तर्राष्ट्रिय फुटबल महासंघको संक्षिप्त नाम हो। विश्व फुटबलको सर्वोच्च निकाय यही हो। यो एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो। यसलाई फुटबलको संयुक्त राष्ट्र संघसमेत भन्ने गरिन्छ।

अहिले यसमा ३५ देशका ३१० जना कर्मचारी कार्यरत छन्। २०९ वटा देश यसमा सदस्य छन्। सन् १९०४ मा यो संस्था स्थापना हुँदा जम्मा सात देशमात्रै सदस्य थिए- फ्रान्स, बेल्जियम, डेनमार्क, नेदरल्यान्ड्स, स्पेन, स्विडेन र स्विट्जरल्यान्ड।
फिफाको व्यवस्थापन सरकार जस्तै हुन्छ। यसमा कंग्रेसले संसदको जस्तो विधान बनाउने कार्यक्रम गर्छ, कार्यकारी समितिले सरकारको जस्तो कार्यकारी काम गर्छ भने जनरल सेक्रेटरियाटले प्रशासनिक काम गर्छ।

फिफा कंग्रेस प्रत्येक सदस्य संस्थाका प्रतिनिधिहरुबाट बनेको हुन्छ। वर्षमा एक चोटी यसको बैठक बस्छ र हरेकसित एउटा भोट हुन्छ। (यसको अर्थ ब्राजिल वा जर्मनी होस् वा स्पेन र नेपाल अथवा भुटान- एक भोट मात्रै दिन पाइन्छ) कांग्रेसले कानुन बनाउने र बजेटसहित वार्षिक प्रतिवेदन पास गर्ने काम गर्छ।
 
फिफा अध्यक्षको अवधि चार वर्षका लागि हुन्छ। हालका अध्यक्ष सेप ब्लाटर सन् १९९८ देखि अध्यक्ष छन्। ब्लाटर १०० वर्षको फिफा इतिहासमा आठौँ अध्यक्ष हुन्। यसअघि फ्रान्सका जुल्स रिमेट ३३ वर्षसम्म अध्यक्ष भएका थिए।
 
ब्लाटर जुरिचमा बस्छन्। त्यहीँ फिफाको मुख्य कार्यालय पनि छ। फ्रेन्च, अंग्रेजी, स्पेनिस, इटालियन र जर्मन गरी पाँच भाषा बोल्न सक्ने उनी विश्वका प्रभावशाली व्यक्तिहरुको सूचीमा पर्छन्। सन् २०१३ को फोर्ब्स शक्तिशाली व्यक्तिको सूचीमा उनी ६९ औँ नम्बरमा थिए।
 
फिफाको प्रमुख उद्देश्य फुटबलको अन्तर्राष्ट्रिय खेलको सबै कुरा हेर्नु हो। यसमा वाचडगको काम गर्नु, विवाद मिलाउनु र खेलका नियमहरु बनाउनु पनि पर्छ। यद्यपि फिफाले खेलका नियमहरु प्रत्यक्ष बनाउने भने हैन। त्यो काम अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्डले गर्छ।
 
फिफाले विभिन्न महत्त्वपूर्ण अवार्ड पनि आयोजना गर्छ। सबभन्दा प्रतिष्ठित अवार्ड गोल्डेन बल अवार्ड हो। यसलाई पहिले फिफा वर्ल्ड प्लेयर अफ दि इयर अवार्ड भनिन्थ्यो। पुरुष र महिला फुटबलका सबैभन्दा उत्कृष्ट खेलाडीलाई वर्षेनी यो अवार्ड दिइन्छ।
 
तर फिफालाई सबैभन्दा बढी चिनिने चाहिँ विश्वकपको आयोजकका रुपमा हो। पहिलो विश्वकप उरुग्वेमा सन् १९३० मा भएको थियो। त्यतिबेला फुटबल अहिले जस्तो लोकप्रिय थिएन। फिफा सन् १९३२ को ओलम्पिकमा फुटबललाई राख्नु पर्ने माग गर्दै थियो। तर लस एन्जलसमा भएको त्यो ओलम्पिकमा माग सुनुवाई भएन। त्यसैले फिफाले आफै आफ्नो प्रतियोगिता आयोजना गर्न तम्सियो। पहिलो आधिकारिक विश्वकप आयोजना हुँदा १३ टिम मात्रै सहभागी भएका थिए। आयोजक राष्ट्र उरुग्वेले पहिलो पटक विश्वकप जित्यो।
 
आम्दानीसितको साइनो
अहिले भने विश्वभरका २०९ टिमले हरेक चार वर्षमा हुने विश्वकपमा उपलब्ध ३२ वटा टिमको कोटाका लागि प्रतिस्पर्धा गर्ने गर्छ। यो प्रतियोगिता विश्वमा साह्रै लोकप्रिय छ। फ्रान्समा सन् १९९८ मा भएको विश्व कप कूल तीन अर्बभन्दा बढीले हेरेका थिए। फाइनलमात्रै एक अर्बभन्दा बढीले हेरेका थिए। अब प्रश्न उठ्छ यति धेरै लोकप्रियताको आम्दानीसँगको साइनो कस्तो छ ?

फिफाले धेरै आम्दानी गर्छ। फिफाको धेरैजसो आम्दानी विश्वकप जस्ता प्रतियोगिताबाट हुन्छ। सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा टेलिभिजन अधिकार मात्रै बेचेर फिफाले २ अर्ब ४० करोड डलर पाएको थियो। मार्केटिङ राइट्स बेचेर थप एक अर्ब ७ करोड डलर कमाएको थियो। दक्षिण अफ्रिकी विश्वकपले फिफाको पछिल्लो आर्थिक चक्रको कूल आम्दानीको ८७ प्रतिशत हिस्सा बेहोरेको थियो। यसपालिको विश्वकपमा पनि यस्तै कमाइ हुने अपेक्षा छ। अनुमान अनुसार पाँच अर्ब अमेरिकी डलरसम्म फिफाले कमाउन सक्छ।
 
फिफाले लाइसेन्सिङबाट पनि प्रशस्तै कमाउने गर्छ। ब्राजिली विश्वकपको मास्कटको ब्रान्डिङ, बलहरु र अरु खेलसामाग्रीबाट पनि प्रशस्तै डलर फिफाले पाउँछ। २००७ देखि २०१० सम्मको आर्थिक वर्षमा ब्रान्डिङबाट मात्रै फिफाले ३ करोड ७० लाख कमाएको थियो।
 
विश्वकप नहुने वर्ष अर्थात् २०१३ मा मात्रै फिफाले कूल आय एक अर्ब ३८ करोड डलर थियो। त्यसो भए यति धेरै रकम जान्छ कहाँ त ? अधिकांश अवस्थामा यो रकम संगठनका भागहरुमै जान्छ। खर्च रकम कटाएपछि खेलको प्रवर्ध्दनका लागि (कागजातमा त्यस्तै लेखेको देखिन्छ) जान्छ। यो रकम कहाँ जाँदैन भन्ने चाहिँ प्रष्ट छ- करमा।
 
पूर्ण रुपमा कर छुट
फिफा स्विस कानुन अनुसार दर्ता भएको गैरनाफामूलक संस्था हो। त्यसैले फिफाले विश्वकपबाट भएको आयको स्विट्जरल्यान्डमा कुनै कर तिर्दैन। त्यतिमात्र हैन, फिफाले ब्राजिलमा पनि विश्वकपकै लागि धेरै कुरालाई कर छुट गराएको छ। ब्राजिलको कानुनै संशोधन गराएर फिफाले यसो गराउन लगाएको हो जसको घरेलु पार्टीहरुले विरोध गरेका थिए।
 
ब्राजिलमा मात्र हैन, फिफाले विश्वकप आयोजना गर्ने हरेक देशलाई कर छुट गर्न लगाउँछ। विश्वकप आयोजना गर्न बिड गर्ने प्रक्रियामा समेत कर छुट गराउनु पर्ने शर्त राखिएको हुन्छ। यो कर छुटमा कर्पोरेट कर, आय कर, भ्याट,  अन्तशुल्क, स्थानीय कर र कर कानुनले समेट्न सक्ने अरु सबै कर छुटहरु सामेल हुनुपर्ने शर्त फिफाको हुन्छ।
 
यी छुटहरु कति डलर बराबर हुन्छ भनेर ठ्याक्कै हिसाब निकाल्न गाह्रो हुन्छ। तर ब्राजिलको आन्तरिक राजस्व कार्यालयले यी छुटहरुबाट देशले २४ करोड ८७ लाख डलर बराबर घाटा हुने अनुमान गरेको छ (अरु केहीले भने यो संख्या त्यसभन्दा दोब्बर हुने अनुमान गरेका छन्)
 
यस्तै पूर्ण कर छुटका कारणै अहिले ब्राजिलमा विरोध प्रदर्शन भइरहेको भन्नेहरु पनि छन्। केही ब्राजिलीहरु फिफाले आयोजक देशलाई योगदान गर्नुपर्ने राय राख्छन्।
 
विश्वकपका समर्थकहरु ब्राजिलले कर छुट दिएको डलरभन्दा बढी कमाउने तर्क गर्छन्। पर्यटकबाट आउने डलर, प्याक हुने बार, रेस्टुरेन्ट, होटलबाट आउने रकमलाई पनि नजरअन्दाज गर्न नसकिने उनीहरु बताउँछन्।
 
पुरस्कारमा भने लाग्छ ट्याक्स
फिफाका अनुसार पुरस्कारका रुपमा टिमहरुलाई दिइने रकममा भने ब्राजिली कानुनअनुरुप कर लाग्छ। फिफाले विश्वकपमा कूल ५ करोड ७६ लाख डलर पुरस्कार दिन्छ। त्यसमा विजयी टिमले साढे ३ करोड डलर पाउँछ भने रनरअपले साढे दुई करोड डलर। तेस्रो र चौथो हुनेले दुई करोड २० लाख र दुई करोड डलर पाउँछ। बाहिरिएका टिमहरुले पनि केही नगद घर लान्छन्। पहिलो चरणमा पराजित भएर घर फर्कनेहरु प्रत्येकले पनि ८० लाख डलर लान्छ। यो सबको कर गणना गर्दा ८ अर्ब डलर कर उठ्ने अनुमान छ। 
 
तर पनि केही कर तिर्नेहरु विश्वकप सँग सम्बन्धित सबै कारोबारमा कर लाग्नुपर्ने विश्वास गर्छन्। तर यहाँ खेलबाट हुने आयमा कर लगाउने कि नलगाउने भन्ने विषय ब्राजिल वा स्विट्जरल्यान्ड वा फिफामा मात्र सीमित छैन। अधिकांश देशमा यही समस्या छ। अमेरिकामा समेत कर छुट हुने सकर’ शब्द उल्लेख भएका ३ हजार ८५७ वटा संस्था छन्।
 
कर छुटपछाडिको उद्देश्य खेललाई प्रवर्द्धन गर्ने भन्ने नै हो। फिफाका अनुसार २६ करोड ५० लाख पुरुष तथा महिला फुटबल खेलाडी छन्। रेफ्रीमात्रै ५० लाख छन्। यो भनेको विश्वको कूल जनसंख्याको ४ प्रतिशत हो, जो सक्रिय रुपमा फूटबल खेल्छ। फ्यानहरुको संख्या पनि जोड्ने हो भने त झण्डै विश्वको आधा जनसंख्या समेट्छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell