PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

​संसदमा सांसदले सुनाए वास्तविक लभस्टोरी जुन ट्राजिडीमा टुङ्गियो



​संसदमा सांसदले सुनाए वास्तविक लभस्टोरी जुन ट्राजिडीमा टुङ्गियो

काठमाडौँ : सोमबार नेकपा माओवादी केन्द्रकी सांसद दुलारी हरिजनले संसदमा एउटा सत्य कथा सुनाइन्। यही असारमा काभ्रेपलाञ्चोक जिल्लामा भएको अन्तर्जातीय विवाह र त्यसले ल्याएका परिणामबारेको उनको कथा कुनै काल्पनिक घट्ना जस्तो लाग्थ्यो। तर त्यो सत्य कथा रहेछ।
उनले सुनाएको घटनाविवरण यस्तो थियो-

काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नम्बर ६ का १८ वर्षीय अजित मिजार र सोही जिल्ला ज्यादी गाविस वडा नं ८ की कल्पना पराजुलीबीच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो। उनीहरु सर्वमंगला उच्च माविमा ११ कक्षामा पढ्ने तयारी गर्दै थिए। 

अजित मिजारलाई दुई हप्ताभित्र विवाह गर्ने दवाव दिएपछि दुबै पक्षको सहमतिमा मिजार र पराजुलीले यही २०७३ असार २५ मा अन्तरजातीय प्रेम विवाह गरे। उनीहरु समाजको डरले भागेर भक्तपुरस्थित केटाको दिदीको घरमा आएर लुकेर बसे। तर केटीको माइती पक्षबाट केटा र केटाको बुवा हरिभक्त मिजारलाई ज्यान मार्ने धम्की दिइयो। 

विवाहपछि पनि ज्यान मार्ने धम्की आएपछि असार २७ गते प्रहरीकोमा गई केटा र केटी दुबैको विवाहका लागि उमेर नपुगेका कारण घर फर्काउने सहमति भयो। तर त्यो सहमति क्षणिक रुपमा मात्र भयो जस्तो लाग्छ। 

अजित मिजार असार ३० गते धादिङको कुलपुर गाविसको परेवा टारमा झुण्डीएको अवस्थामा फेला परे। साउन १ गतेसम्म पनि सनाखत हुन नसकेपछि सम्बन्धित गाविसमा अनुमति लिइ पोष्टमार्टम गरी उनको लाश गाडिएको भनेर प्रहरीमार्फत् जानकारी परिवारले पायो। मृतकका परिवारले आफ्नो संस्कार अनुसार दाहसंस्कार गर्ने भनी त्यहाँ पुगे। 

परिवारका सदस्यले गाडेको ठाउँबाट लाश निकाले। तर मृतकको शरीरमा कहीँ कतै पनि चिरफार नगरेको भेटियो। 

सभामुख महोदय, के प्रहरी प्रशासनबाट पनि यस्तो झुटो बोल्न मिल्छ? प्रहरी प्रशासनबाट नै यस्तो हुन्छ भने आगामी दिनमा यस्ता घट्ना घटाउनेको मनोबल अझ बढ्दैन? मलाई बढ्छ जस्तो लाग्छ। यहाँ निर्दोष व्यक्ति मारिएको छ। अपराधीलाई कानुनको दायरामा ल्याई परिवारलाई क्षतिपूर्ति दिनु पर्छ। 

जातीयताको नाममा र दलितमाथि भइरहेको अपराध र महिलामाथि भएका जघन्य अपराधलाई कम गर्नका लागि सम्माननीय सभामुखमार्फत् सम्बन्धित पक्षको ध्यानाकर्षण गर्न रुलिङ होस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell