PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

​'सँझ्या साहित्य'मा नेवारी भोजसँगै जमे कवि



पहिलोपोस्ट

​'सँझ्या साहित्य'मा नेवारी भोजसँगै जमे कवि

भक्तपुर : सँझ्या साहित्यले विशेष कवि गोष्ठी सम्पन्न गरेको छ।

मध्यपुर थिमिको शङ्खधरमा आयोजित कार्यक्रममा ३७ कविले कविता सुनाए। किनाराको आवाज सुन्ने, नसुनिएको खोजी गर्ने, सुनिएका अनि स्थापित कविलाई सुन्ने अभियानका रूपमा विशेष कार्यक्रम गरिएको सँझ्या साहित्यका अभियन्ता रामगोपाल आशुतोषले बताए। 'कला र कविताको पक्षमा उभिँदै भक्तपुरलाई कविता पर्यटनको गन्तव्य बनाउने हाम्रो लक्ष पनि हो,' उनले भने।

अर्का अभियन्ता हरिहर तिमिल्सिनाले उद्घाटन कविता सुनाउँदै भने-
'यो अमृतजस्तो लाग्ने माटोमा
किन बेला बेलामा उम्रन्छ
विषालु च्याउ !?'

वरिष्ठ कवि एवम् संस्कृतिविद तुलसी दिवसले कवितामा नयाँ-पुरानो पुस्ताको विभेद हुन नहुने बताए।

कवि श्यामलले सँझ्याकै अभियन्ता कवि अभय श्रेष्ठको सन्देह कविता प्रस्तुत गरे। विमल निभाले खुत्रुके कवितामार्फत देशको समसामयिक चिन्तन गरे। पुरुषोत्तम सुवेदी, राजेन्द्र पराजुली र राजेन्द्र शलभले कवितामार्फत राजनीतिक विसङ्गतिमाथि तीखो व्यङ्ग्य प्रहार गरे।
मुक्तान थेवाले गणतन्त्र र सङ्घीयता मास्न खोज्नेलाई ठाडो चुनौती दिए भने अगिब बनेपालीले वर्तमान राजनीतिको भागवण्डा र सत्ता हस्तान्तरणको घोर विरोध गरे। इन्द्र माली, स्नेह सायमी, छम गुरुङ, ठाकुर बेलबासे, मणि लोहनी, घनश्याम खड्का लगायतले कसिलो कविता प्रस्तुत गर्दै राजनीतिक विकृतिमाथि प्रहार गरे।

कवि चन्द्र घिमिरेले लामो कविता प्रस्तुत गर्दै मधेसको कठिन जीवनको कथा प्रस्तुत गरे। केशव सिलवाल, कृष्णमोहन श्रेष्ठ, मातृका पोखरेल, ध्रुव मधिकर्मी, चन्द्र रानोहँछा, सीमा आभास, आरएम डङ्गोल, हेमन्त विवश, अमर आकाश लगायत ३७ कविका कविता सुनिएका थिए।

१७६ कवि, लेखक र पत्रकारबीच सघन कवि मञ्जु काँचुलीले बैँस र उन्मादको विम्बमा सृष्टिको चक्र र परम्परामाथि स्निग्ध कविता प्रस्तुत गरेकी थिइन्।

कला, संस्कृति र परम्परा पहिचान हो भन्दै सँझ्या साहित्यका महेश पौडेलले पहिचान र राष्ट्रियताको मुद्दा उठाउने प्रतिबद्धता जाहेर गरे।
बृहत् गोष्ठीमा नेवारी भोजको समेत आयोजना गरिएको थियो।

कार्यक्रमको अन्त्यमा यचु पार्टी भेन्युका सञ्चालक एवम् कवि नवीनप्रकाश श्रेष्ठले बोनस कविता सुनाए।

प्रत्येक महिनाको दोस्रो शनिबार आयोजना नियमित शृङ्खला अब भदौ ११ गते हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell