PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एनआरएन सधैं चन्दामा चलेर हुँदैन : सोनाम



  • बिष्णुहरि घिमिरे-
अमेरिकामा नेपाली ड्यासपोरा चलायमान  भएको छ।  न्युयोर्कमा रहेका नेपाली ड्यासपोराको आतिथ्यतामा विश्वभरिका नेपाली भेला हुँदैछन्। गैर आवासीय नेपाली संघको नवौं क्षेत्रीय सम्मेलन न्युयोर्कको पारिपट्टि न्युजर्सीमा अगस्ट २७ र २८ मा हुँदैछ। सम्मेलनकै कारण एनआरएन अमेरिकाका पदाधिकारीको दैनिकी नै परिवर्तन भएको छ। एनआरएन उत्तर अमेरिकाका क्षेत्रीय संयोजक सोनाम लामाले क्षेत्रीय सम्मेलन मुल आयोजक समितिको नेतृत्व गरेका छन्। न्युयोर्कमा व्यावासाय गर्दै आएका सोनाम एनआरएन अभियानमा सुरुदेखि नै लागेका हुन। क्षेत्रीय सम्मेलनको तयारी, व्यवस्थापन, उद्देश्य लगायतका विषयमा सोनाम लामासँग गरिएको कुराकानीको अंश :

केही दिन यता निकै व्यस्त देखिनुभयो, एनआरएन अभियानले नै त होला?

विश्वभरका ७३ मुलुकबाट प्रतिनिधि अमेरिका आउँदैछन्। अलि पहिला सहभागिलाई निम्ता, भिसा प्रक्रियाका कारण व्यस्त भइयो। अब अहिले आयोजनास्थलको व्यवस्थापन सहित अन्य पक्षमा लागिरहेका छौं। आफ्नो काम त भरेभोलि जहिले गरे पनि भयो, क्षेत्रीय सम्मेलनको समय अब धेरै छैन। दिनरात नै काम भइरहेको छ।

सर्वसाधारणले कसरी बुझ्ने यो सम्मेलनलाई?

यो क्षेत्रीय सम्मेलन हो। अहिले एनआरएनमा ६ वटा क्षेत्र छन्। विश्व सम्मेलन हरेक दुई वर्षमा नेपालमा हुन्छ। क्षेत्रीय सम्मेलनमा वार्षिक रिपोर्ट प्रस्तुत हुन्छ, कार्यक्रमहरु के कसरी गइरहेका छन् भन्ने कुरामा छलफल हुन्छ। भावी कार्यक्रमको छलफल हुन्छ। समग्र अपटेड हुन्छ। विजनेसको फोरम हुन्छ। नेपालमा कहाँ कहाँ कसरी लगानी गर्ने भन्ने योजना बन्छन्। अहिले सम्मेलनको मुख्य एजेण्डा भिजन २०२० भन्ने छ। यसैका बारेमा छलफल हुन्छ।


भिजन २०२० के हो?

स्थापना भएदेखि अहिलेसम्म एउटै एजेण्डामा एनआरएन अगाडि बढ्यो। समय धेरै परिवर्तन भइसकेको छ। जहिले पनि चन्दा उठाउने मात्र भएको छ। अब एनआरएनलाई कसरी आत्मनिर्भर बनाउने भन्ने कुरा छ। पहिला नेपालमा लगानी भन्ने मात्र थियो। अब नेपालबाहिर बसेकाहरुलाई कसरी नेपालसँग जोड्ने भन्ने पनि हो। अमेरिकाकै कुरा गरौं यहाँ तीन लाखको हाराहरीमा नेपाली छन्। धेरै युथ छन्। उनीहरुलाई कसरी नेपालसँग सम्पर्कमा राख्ने भन्ने योजना ल्याउनु पर्ने भएको छ। अब एनआरएनका कार्यक्रमलाई कसरी नयाँ ढंगले अगाडि लैजाने भन्ने कुरामा छलफल हुन्छ। यो सम्मेलनले सन् २०२० सम्मका लागि योजना बनाउने छ।


एनआरएनले स्थापना काल देखि नेपालमा लगानीको बातावरण चाहियो, दोहोरो नागरिकता चाहियो भनेर लाग्यो। अब नेपालभन्दा बाहिर रहेका दोस्रो पुस्ताका नेपालीका लागि पनि कार्यक्रम बनाउनु पर्छ भन्ने हो ?

त्यसबाट धेरै कुरा आउँछ। अब एनआरएन भनेको एउटा सस्था हो। सधै चन्दा मात्र उठाएर हुँदैन, अब त ७४ मुलुकमा एनआरएन पुगिसक्यो। अब ठूला कम्पनीसँग सम्पर्क बढाउन पर्‍यो, राम्रो प्रायोजक पाउन सक्छौं। अहिले हामीले एउटा क्षेत्रीय सम्मेलन गर्दा सबैसँग चन्दा माग्नु परेको छ। अब आत्मनिर्भर कसरी बनाउने, सबैलाई कसरी समेट्ने भन्ने बारेमा छलफल हुन्छ।

यो क्षेत्रीय सम्मेलनमा कति जनाले भाग लिन्छन र व्यवस्थापन कसरी हुँदैछ ?

अब भिसाको पनि कुरा छ। भिसा प्रकृयामा समस्या आएन भने दुई सय भन्दा बढी मान्छे आउँछन्। अमेरिकाको विभिन्न राज्यबाट गरी तीन सयको हराहारीमा सहभागी हुन्छन् भन्ने छ। त्यो भन्दा बढी पनि हुन सक्छन्। बाहिरबाट आउनेहरुका लागि प्याकेजमा होटल रुम मिलाएका छौं। एनआरएनको वेबसाइटबाट नै आफैले बुक गर्नुपर्ने हुन्छ। अमेरिका भन्दा बाहिरबाट आउनेहरुका लागि हामीले दुई सय अमेरिकन डलर दर्ता  शुल्क तोकेका छौं। त्यसमा ब्रेकफास्ट, लञ्च, डिनर र रुम सबै प्याकेजमै आउँछ - दुई दिनको लागि। अमेरिका भित्रका लागि एक सय डलर तोकेका थियौं। धेरैले महँगो भयो। पछि अमेरिका भित्रका लागि हामीले दुइथरी दर्ता शुल्कको व्यवस्था गरेका छौं, प्याकेजमै खाना खाने लाई एक सय र कार्यक्रममा भाग मात्र लिनेहरुका लागि चालिस डलर। चालिस डलर तिर्नेले पनि साँझको सास्कृतिक कार्यक्रममा भाग लिन पाउँछन्। 

यो सम्मेलनका लागि कति खर्च लाग्छ र कसरी जुटाउनु भएको छ?

अनुमानित खर्च  ५० देखि ६० हजार डलर अनुमान गरेको छौं। होटलमा तीन सय जना ग्यारेन्टी गरेका छौं। मान्छे नआए त्यो हामीले तिर्नुपर्छ। इभेन्ट पार्टनर पाएका छौं, पूरा मान्छे आए भने हामीलाई कुनै समस्या हुँदैन। हामीसँग पैसा बचत हुन्छ। त्यो पैसा हामी एनआरएन हेडक्वाटरमा पठाउँछौं।


अमेरिकामा एनआरएनको सदस्य त जम्मा दश हजारले मात्र लिएका छन्। विवाद पनि भइरहन्छ। किन?

विवाद त अब कसैको इगो हुन भएन, एनआरएन गैर राजनीतिक र नाफा नकमाउने  संस्था हो। त्यसै अनुसार जानु पर्ने हो। एउटा हार्दै जाँदा र अर्को जित्दै जाँदा हार्नेले आरोप लगाउने र विरोध गर्ने काम चै भइरहेको छ। यो संस्था राम्रो हो। सबैभन्दा फाइदा त अमेरिकामा बस्ने नेपालीलाई नै भएको छ। पहिले विदेशको पासपोर्ट लिनासाथ नेपालको सबै त्याग्न पर्ने भन्ने थियो। अहिले त राजनीतिक बाहेक सबै अधिकार छ गैर आवासीय नेपालीलाई पनि। यहाँका तीन लाख नेपालीले पनि अब बुझ्नु पर्ने भएको छ।


ठूलो संख्यामा युवा जमात अझै एनआरएन मुभमेन्टबाट बाहिर छन्। त्यहाँ चै तपाईँहरु कहिलेसम्म पुग्नुहुन्छ?

सबैभन्दा सुरुमा पाँच सय थिए सदस्य। त्यस पछि २७ सय भए। अहिले दश हजार छन्। अब झन् बढ्छ। एनआरएनको महत्व के हो भन्ने कुरा यो सम्मेलनपछि झनै बुझ्नु हुनेछ। त्यसपछि एनआरएन झन् अगाडि बढ्नेछ। नेपालबाट संविधानसभाका पूर्व अध्यक्ष पनि आउँदै हुनुहुन्छ। उहाँले पनि एनआरएनको भूमिका बुझाउनुहुने छ। एनआरएनले काम गरेको छ भन्ने सबैलाई पर्ने छ।

एनआरएन अमेरिकामा धेरै विवाद हुन्छ। त्यसमा हामी किन पर्ने भनेर बाहिर बस्ने पनि छन् नि !

विवादको कुरा आइनै रहन्छ। अब सदस्य बनाउँदा स्टेट स्टेटमा गएर टाउन हाउसमा बैठक राखेर एनआरएनको महत्व बारेमा बुझाउनु पर्नेछ। पहिलो जस्तो भएन अहिले त विभिन्न स्टेटमा च्याप्टर पनि छ। च्याप्टरहरुले पनि कार्यक्रम राख्नु पर्छ। मिडियाले पनि सहयोग गर्नुछ। कतिपय ठाँउमा एनआरएन किन चाहियो हामीहरुको आ आफ्नै राजनीतिक वा जातीय, क्षेत्रीय संगठन छ नि भन्नेहरु पनि छन्। उनीहरुलाई पनि आफ्नो संस्था र एनआरएनमा के के फरक छ भनेर बुझाउनु पर्छ। अब आफ्नो मातृभूमिका लागि केही गर्न पर्छ भन्नेका लागि एनआरएन एउटा प्लेटफर्म पनि हो। होइन म अब अमेरिकाको नागरिक भइसकेँ मलाईँ नेपालको के मतलव भन्नेहरुलाई जति सम्झाए पनि आउँदैनन्। त्यो आफ्नो विचार र सोचाइमा पनि फरक पर्ने कुरा हो। नेपालमा हेरौं न विभिन्न एनजिओ आइएनजियो छन्। रेडक्रस छ तर पनि एनआरएनले भूकम्प पछिको पुर्ननिर्माणमा काम सुरु गर्ने अनुमति पाइसकेको छ। त्यो किन भयो भने एनआरएन माथिको विश्वास हो नि।

अन्तमा सम्मेलन सफल पार्न अरु के के गर्नु भएको छ ?

सबै जना लागेका छौं, फिल्डव्याक राम्रो आएको छ। एनआरएन के हो भनेर बुझ्नका लागि हलमा आउनु भयो भने झन् धेरै बुझ्न सक्नु हुन्छ। विश्वभरिका नेपाली आउँदै हुनुहुन्छ। नेपालका तीन जना विलिनियरहरु उपेन्द्र महतो, विनोद चौधरी र हाम्रो आफ्नै अध्यक्ष शेष घले पनि आउनु हुनेछ। उहाँहरुले व्यापारको बारेमा प्रष्ट पार्नुहुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell