काठमाडौँ : आज बिहान ११ बजेका लागि तोकिएको संविधानसभाको बैठक हुनुपूर्व सुरक्षाकर्मीको नियमित जाँचका क्रममा संविधानसभाभित्र १० स्थानमा खुर्सानीको धुलोका पोका भेटिएको छ।
व्यवस्थापिका संसद्का प्रवक्ता मुकुन्द शर्माले सो खुर्सानीको धुलो कसरी र कहाँबाट आयो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको र सभाभित्र यस्तो स्थिति देखिनु दुर्भाग्यपूर्ण भएको पत्रकारहरुलाई बताए।
यो घटनापछि अहिले संविधानसभा परिसरको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। संविधानसभाको मूलढोकादेखि नै आज सभासद् र अन्य प्रवेशकर्तालाई कडाइका साथ जाँच गरिएको छ। महिला सभासद्लाई झोला पनि लान दिइएको छैन। - रासस
