PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

काठमाडौं टावरको निर्माण थालियो, बसपार्क तीन वर्षपछि मात्रै पुरानै ठाउँमा सर्ने



पहिलोपोस्ट

काठमाडौं टावरको निर्माण थालियो, बसपार्क तीन वर्षपछि मात्रै पुरानै ठाउँमा सर्ने

काठमाडौं : काठमाडौं टावर निर्माणको काम अघि बढेको छ। भारतबाट निर्माण सामग्री नआएको बताउँदै आएको स्वच्छन्द विकोइ विल्डर्सले आइतबार महानगरपालिकाको कार्याआदेश पाएपछि काम थालेको हो।
 
यसअघि सामान आइनपुगेको भन्दै निर्माण सुरु हुन सकेको थिएन। कम्पनीका अनुसार साउन २२ गते भारतबाट निर्माण सामग्री आइपुगेको हो। सामान आइपुगेको जानकारी पाएपछि ३० गते महानगरले काम अघि बढाउन कम्पनीलाई आदेश दिएको महानगरपालिकाका सूचना अधिकारी महेश काफ्लेले बताए।
  
तीन महिनाअघि महानगरपालिका र स्वच्छन्द विकोइबीच बहुद्देश्यीय भवन निर्माण गर्ने सम्झौता भएको थियो।
 
अहिले कम्पनीले उक्त क्षेत्र आसपासका पुराना संरचनाहरु भत्काउने काम गरिरहेको कम्पनीका प्रमुख मनोज भेटवालले बताए। 'अहिले छेउछाउका संरचनाहरु हटाउने काम भइरहेको छ,' उनले भने, 'अबको तीन वर्षमा टावर तयार हुन्छ।' १२ तल्लासम्म रहने यो भवन पूर्ण रूपमा भूकम्प प्रतिरोधात्मक बन्ने भेटवालको भनाइ छ।
 
सम्झौताअनुसार कम्पनीले आफ्नै लगानीमा टावर बनाएर ३० वर्षसम्म चलाउनेछ। २९ तला बनाउने भनिएको सो टावर गतवर्षको भूकम्पपछि १२ तला बनाउने नक्सा स्वीकृत भएको थियो। काम सुरु भएको ५ वर्षभित्र टावर बनाइसक्नुपर्नेछ । २३ रोपनी ५ आना जग्गा रहेको उक्त क्षेत्रमा ४० प्रतिशत क्षेत्रफल टावरले ओगट्नेछ।
 
भवनको सबैभन्दा तल्लो तलामा बस पार्किङ स्थल रहनेछ। त्यसको माथि दोस्रो तल्लामा हलुका गाडीको पार्किङ, व्यवस्थित चलचित्र कक्ष, पौडीपोखरी, खाजाघर, बैंक तथा वडा कार्यालय समेत रहनेछ। टावर निर्माणको लागत ३ अर्ब ५० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
 

बसपार्क तत्काल नसर्ने

तीन महिनाअघि महानगरपालिकाले टावर निर्माणका लागि पुरानो बसपार्क खुलामञ्चमा सारेको थियो। ६ महिनापछि दुई तलेसम्मको अण्डरग्राउण्ड बसपार्कसहितको टावर निर्माण हुने भन्दै त्यसपछि नै बसपार्कलाई पहिलेकै स्थानमा सार्ने बताएको थियो। तर बसपार्क पुन: स्थानान्तरणका लागि समय लाग्ने भएको छ।

'६ महिनापछि अण्डरग्राउण्ड बसपार्क त तयार हुन्छ,' कम्पनीका प्रमुख मनोज भेटवालले भने, 'माथिल्लो तलाको निर्माण कार्य चलिरहँदा गाडीहरुमा सामान खसेर दुर्घटना हुन सक्छ।'

(खुलामञ्चमा अस्थायी बसपार्क बनाउँदै गर्दाको फाइल फोटो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell