PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कांग्रेसको मन्त्री सिफारिस : अर्जुनलाई मन्त्रालय चित्त बुझेन, शेखर चाहि बेखबर!



रमेश वाग्ले

कांग्रेसको मन्त्री सिफारिस : अर्जुनलाई मन्त्रालय चित्त बुझेन, शेखर चाहि बेखबर!

काठमाडौं : बिहीबार प्रधानमन्त्री प्रचण्डको सपथ ग्रहण समारोहसँगै सत्ता साझेदार कांग्रेसबाट मन्त्री हुने चार जनाको पनि सपथ गराउने तयारी थियो। पहिलो चरणमै सपथ लिने मन्त्रीहरु भन्दै कांग्रेसकै नेताहरुले विमलेन्द्र निधि, अर्जुननरसिंह केसी, डाक्टर शेखर कोइराला र रमेश लेखकको नाम सार्वजनिक गरेका थिए।

तर, जब प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा कांग्रेसका तर्फबाट पहिलो चरणमा मन्त्री बन्ने भनिएका अर्जुननरसिंह केसी र डाक्टर शेखर कोइराला देखिएनन्।

किन आएनन् उनीहरु?

पहिलो चरणमा मन्त्री हुने भनिएका दुई मध्ये अर्जुननरसिंह केसी मन्त्रालय र पोर्टफोलियो चित्त नबुझेर आजको सपथ ग्रहण समारोहमा सहभागी भएनन् भने डाक्टर शेखर कोइराला पार्टीका तर्फबाट सपथ ग्रहणमा खबर नै नभएका कारण सहभागी भएनन्।

कस्को के भयो?

१३औं महाधिवेशनमा देउवाकै प्यालनबाट महामन्त्रीको उम्मेद्वार बनेका अर्जुननरसिंह केसीसँग कांग्रेस सभापति देउवाले सरकारमा जाने विषयमा सल्लाह गरेका थिए। देउवाले लिएको सल्लाहमा केसीले आफू पुरानामध्येकै नेता भएकाले सरकारमा जाँदा कि उपप्रधान मन्त्री वा गृह मन्त्रालयको जिम्मेवारी दिन माग गरेका थिए।

उनले पाओर मिनिस्ट्री वा जनसम्पर्कका मन्त्रालय मध्ये एकको जिम्मेवारी दिन पनि देउवालाई आग्रह गरेका थिए। तर बिहीबार जब सपथ ग्रहणमा आउन उनलाई आग्रह गरियो त्यतिबेला उनलाई स्वास्थ्य वा रक्षा मन्त्रालय मध्ये रोजेर लिन आग्रह गरियो।

‘स्वास्थ्य मन्त्रालयको जिम्मेवारी उहाँले पहिले पनि सम्हालिसक्नुभएको हो,’ केसी निकट स्रोतले भन्यो, ‘रक्षा मन्त्रालय जनसम्पर्कको मन्त्रालय पनि हैन र पावरको हिसाबले पनि खास अर्थ राख्ने मन्त्रालय हैन।’

उनले बिहीबार बिहानको कुराकानीमा केसीले देउवासँग आफूले भनेजस्तो मन्त्रालय नभए आफू सरकारमा नजाने तर मन्त्रीका लागि अरुलाई सिफारिस गर्ने बताएका थिए।

तर, देउवाले उनले भनेजस्तो मन्त्रालय त दिएनन् नै उनले भनेजस्तो अर्को व्यक्तिको सिफारिस पनि मागेनन्। ‘देउवाले सिनियरहरु मध्येबाट नै सरकारमा जानु पर्छ प्रचण्डसँग डिल गर्न सक्ने मान्छे आवश्यक पर्छ भन्नुभएको थियो,’ केसी निकट स्रोतले भन्यो, ’देउवाले भाइहरुको त पछि पनि पालो आइहाल्छ नि भन्नुभएको थियो।’
 

शेखरलाई खबर नै भएन

अर्का मन्त्रीका रुपमा प्रचार गरिएका डाक्टर शेखर कोइरालालाई भने देउवाले बिहीबार सम्पर्क गरेनन्। केही दिन अघि मन्त्री बन्ने विषयमा धारणा माग्दा डा कोइरालाले आफू परराष्ट्रको जिम्मेवारी पाए सरकारमा जान इच्छुक रहेको तर अन्य कुनै मन्त्रालय लिएर सरकारमा जान इच्छुक नरहेको बताएका थिए। देउवा पक्षले डाक्टर शेखरलाई परराष्ट्र मन्त्रालयकै जिम्मा दिने विषयमा पनि आफू निकटकाहरुसँग परामर्श गरेका थिए।
 
स्रोतका अनुसार देउवाले समय कम भएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेललाई पहिलो चरणमा सपथ खुवाउन एक जनाको नाम सिफारिस गर्न फोन मार्फत् आग्रह गरेका थिए। तर पौडेलले त्यो आग्रह स्वीकार गरेनन्।
 
उनले केन्द्रीय समिति वा पार्टीका नियकायमा छलफल गराएर मात्र निर्णय गर्नुपर्ने कुरा देउवालाई सुझाए।

रामचन्द्रलाई जस्तै सिटौलालाई पनि देउवाले फोनबाट नै सल्लाह मागेका थिए। तर रामचन्द्रले सिफारिस नगरेको थाहा पाएपछि सिटौलाले पनि छलफल पछि गरौं न त भन्दै देउवालाई केही व्यक्तिलाई सपथ ग्रहण गराउन आग्रह गरेका थिए।

त्यसपछि देउवाले आफ्ना विश्वास पात्र विमलेन्द्र निधि र रमेश लेखकलाई मात्र बिहीबारको सपथमा सहभागी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell