PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'चरी' मारिएकोबारे छानबिन हुन्छः गृहमन्त्री गौतम



'चरी' मारिएकोबारे छानबिन हुन्छः गृहमन्त्री गौतम
चरीलार्इ गाेली हानिएकाे स्थान

काठमाडौं : गृहमन्त्री वामदेव गौतमले दिनेश अधिकारी 'चरी' को मृत्युबारे छानबिन गर्ने प्रतिबद्धता जनाएका छन्। 

प्रहरी कारबाहीमा मृत्यु भएका गुन्डा नाइके दिनेश अधिकारी 'चरी' को परिवारसँग बिहीवार बिहान भएको भेटमा गौतमले घटनाको छानबिन गर्ने प्रतिबद्धता जनाएको नेकपा एमालेका सभासद गंगालाल तुलाधरले पहिलोपोस्टलाई जानकारी दिए। 

'उहाँले अनुसन्धान गर्छु भन्नुभएको छ', तुलाधरले भने, 'गृहप्रशासनका मान्छे क्षेत्रीय सम्मेलनका लागि पोखरामा छन्। समन्वय गरेर सत्यतथ्य बाहिर ल्याउँछु भन्नुभएको छ।'

गृहमन्त्रीलाई भेट्न नेकपा एमालेका सभासद राजेन्द्र पाण्डे र गंगालाल तुलाधर बिहीवार बिहान मृतक अधिकारीका परिवारका सदस्यलाई लिएर मन्त्री निवास पुल्चोक पुगेका थिए। 

धादिङ एमाले निर्वाचन क्षेत्र नम्बर १ का पूर्वउपाध्यक्षसमेत रहेका अधिकारीको बुधवार काठमाडौँको भिमढुंगामा प्रहरी भिडन्तमा मृत्यु भएको थियो।

त्रिवि शिक्षण अस्पतालमा राखिएको उनको शवको पोस्टमार्टम भएको छैन।

शव नउठाउने चेतावनी

अधिकारीको परिवारले घटनाको सत्यतथ्य छानबिन नभएसम्म शव नउठाउने चेतावनी दिएको छ। गृहमन्त्री वामदेव गौतमसँग भेटगरी अधिकारी परिवारले प्रहरीले गैरन्यायिक हत्या गरेको आरोप लगाउँदै शव नउठाउने चेतावनी दिएका हुन्। 

मृतक अधिकारीका परिवारले घटनाको सत्यतथ्य अनुसन्धान नभएसम्म शव नउठाउने चेतावनी गृहमन्त्रीलाई दिएको सभासद तुलाधरले जानकारी दिए। 'गैरन्यायिक ढंगले हत्या भएकोले सत्यतथ्य छानबिन होओस् नत्र शव पनि उठाउँदैनौँ। पोस्टमार्टम पनि गर्न दिँदैनौँ भन्नुभयो', तुलाधरले भने। 

'गैरन्यायिक हत्या'

सभासद तुलाधरले 'इन्काउन्टर' का नाममा अधिकरीको गैरन्यायिक हत्या भएको शंका गरे। '​योजनावद्ध ढंगले मारिएको हो भन्ने लाग्छ।हामीलाई पनि र परिवारलाई पनि लागेको के हो भने प्रहरीले पहिला नियन्त्रणमा लियो र मार्‍यो। अथवा त्यही लगेर मार्‍यो', उनले भने, 'इन्काउन्टरमा मारियो भन्नु बेकारको कुरा हो।'

इन्काउन्टरका नाममा मृत्युदण्ड दिने कानुन नेपालमा नभएको भन्दै घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने तुलाधरले बताए। 'राज्यसँग भएका मुद्दामामिला होलान्। उनको संलग्नता कहाँ कहाँ छ खोज्न सकिन्थ्यो', सभासद तुलाधरले भने, 'यसरी मार्न पाइँदैन। रुपान्तरणको प्रकृयामा लैजानु पर्थ्यो।'

तुलाधरले अधिकारीको मृत्यु 'गैरमानवीय हत्याको चरम पराकाष्ठा'  भएको बताए। 'मानवतावादी दृष्टिबाट पनि सरकार, राज्य र गृहप्रशासन पञ्चायतकालकै झल्को दिने ढंगले प्रस्तुत भयो', गृहमन्त्रीसँग भनेको कुरा उनले उद्धृत गरे, 'जेलमा राख्नुस्। अदालतमा लैजानुस्। मारी नै दिने?' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell