PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

महावीर पुनको 'महादान' : २८ रोपनी जग्गा राष्ट्रिय आविष्कार केन्द्रलाई



पहिलोपोस्ट

महावीर पुनको 'महादान' : २८ रोपनी जग्गा राष्ट्रिय आविष्कार केन्द्रलाई

काठमाडौं : सामाजिक अभियन्ता महावीर पुनले 'राष्ट्रिय आविष्कार केन्द्र' निर्माणका लागि आफ्नो नाममा रहेको २८ रोपनी जग्गा दान दिने घोषणा गरेका छन्।
 
पोखराको बेगनास तालदेखि उत्तरपट्टि पर्ने ठुलाकोटस्थित डाँडामा रहेको जग्गालाई आविष्कार केन्द्रका लागि उपयोग गरिने पुनले बताएका हुन्। २० वर्षअघि खरीद गरेको उक्त जग्गाको स्वामित्व पुन र हाल अमेरिकाको मेरिल्यान्ड बस्दै आएका पर्वतका पदम पुनको समेत भए पनि केही महिनाअघि नामसारी गरी सम्पूर्ण स्वामित्व आफ्नो बनाएको समेत उनले खुलाएका छन्।
 
'जग्गा किन्दा हामीले त्यसलाई भविष्यमा समुदायलाई फाइदा हुने कुनै राम्रो कामको लागि प्रयोग गर्ने भनेर सल्लाह गरेका थियौं,' फेसबुक मार्फत पुनले जानकारी गराएका छन्, 'त्यसको मोटामोटी मूल्य रु ३ करोड पर्छ।' उनले यो जग्गाबाहेक आफ्नो नाममा अर्को कुनै भौतिक सम्पत्ति नरहेको समेत बताएका छन्।
 
पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्रीका साथै अर्थ सचिवहरुलाई यसअघि नै सहयोगका लागि अपील गरे पनि कुनै निर्णय दिन नसकेकाले आफूले यस्तो घोषणा गरेको पुनको भनाइ छ।
  
उनले आविष्कार केन्द्रका लागि भन्दै 'स्वेच्छिक महादान' अभियान पनि सुरु गरिसकेका छन्, जहाँ लाखौं रुपैयाँ जम्मा भइरहेको छ। केन्द्र निर्माणका लागि करिब ४५ करोड लाग्ने उनी बताउँदै आएका छन्।

राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न सरकारको ढोका छोडेर अब जनताको ढोकामा गइसकेको भन्दै उनले नेपालको विकासकै लागि अब आफ्नो सम्पूर्ण जीवन उपयोग गर्ने समेत बताएका छन्।
 
उनले कोहीसँग दान गर्न मिल्ने जग्गा भए सहयोग गर्नका लागि आग्रह समेत गरेका छन्।

रोमन म्यागासेसे पुरस्कार विजेता पुनले म्याग्दी र पर्वतका गाउँमा ताररहित प्रविधिबाट टेलिमेडिसिन, इकोटुरिज्म लगायतका क्षेत्रमा प्रशंसनीय काम गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell