PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

३१औं ग्रीष्मकालीन ओलम्पिक : यस्तो छ, नेपाली खेलाडीको स्पर्धा र खेल तालिका



गोविन्दराज नेपाल

३१औं ग्रीष्मकालीन ओलम्पिक : यस्तो छ, नेपाली खेलाडीको स्पर्धा र खेल तालिका

काठमाडौं : खेलकुदको कुम्भमेला ओलम्पिकको ३१ औं संस्करण हप्ता दिनपछि ब्राजिलको रियो दि जेनेरियोमा सुरु हुँदैछ।
 
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सदस्य रहेको सबै २०७ देशले यस संस्करणमा सहभागिता जनाउँदैछन्। विश्वभरबाट ११ हजारभन्दा बढी खेलाडीले रियो ओलम्पिक २०१६ मा प्रतिस्पर्धा गर्नेछन्। अगस्ट ५ देखि २१ सम्म ३१ औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक रियो दि जेनेरियो सहरमा आयोजना हुँदैछ। जसमा २८ खेलका ४२ इभेन्ट सामेल छन्।
 
नेपालबाट पनि ५ खेलका ७ खेलाडीले रियो ओलम्पिकमा आफ्नो चुनौती प्रस्तुत गर्दैछन्। नेपालका आर्चरी, जुडो र तेक्वान्दोका खेलाडी वाइल्ड कार्ड मार्फत तथा एथ्लेटिक्स र पौडीका खेलाडी युर्निभर्सल प्लेसेस (अनिवार्य कोटा) मार्फत छनोट भएका हुन्।
 
आर्चरीबाट जितबहादुर मोक्तान, जुडोकी फुपुल्हामु खत्री, तेक्वान्दोकी निशा रावल, एथ्लेटिक्सका हरिकुमार रीमाल र सरस्वती भट्टराई तथा पौडीबाट शिरीष गुरुङ र गौरिका सिंहले सहभागिता जनाउँदैछन्।
 

नेपालबाट को केमा प्रतिस्पर्धा गर्दैछन्?



 

जितबहादुर मोक्तान, आर्चरी

आर्चरीका खेलहरु अगस्ट ६ बाट सुरु हुनेछ। पहिलो दिन पुरुष व्यक्तिगत र महिला व्यक्तिगत अन्तर्गत सहभागी सबै खेलाडीको र्‍याङ्किङ राउण्ड हुनेछ। ७० मिटर इन्डिभिजुअल रिकर्भमा सहभागिता जनाएका नेपालका आर्चर मोक्तानको खेल पनि पहिलो दिनै सुरु हुनेछ।
 
आर्चरीका व्यक्तिगत तर्फको महिला स्वर्णका लागि अगस्ट ११ र पुरुष स्वर्णका लागि अगस्ट १२ मा प्रतिस्पर्धा हुनेछ।
 

हरिकुमार रिमाल, एथ्लेटिक्स

एथ्लेटिक्सका खेलहरु अगस्ट १२ पछि मात्रै सुरु हुनेछन्। रिमालले पुरुष ५ हजार मिटर दौडमा प्रतिस्पर्धा गर्दैछन्। १२ औं दक्षिण एसियाली खेलकुद सागमा कास्य पदक जितेका रिमाल अनिवार्य कोटा मार्फत ओलम्पिकमा छनोट भएका हुन्।
 
५ हजार मिटर हिट चरणको प्रतिस्पर्धा अगस्ट १७ मा हुनेछ भने स्वर्ण पदकका लागि अगस्ट २० मा प्रतिस्पर्धा हुनेछ।
 

सरस्वती भट्टराई, एथ्लेटिक्स

महिला १५ सय मिटरको प्रतिस्पर्धा अगस्ट १२ मा सुरु हुनेछ। यसमा नेपालबाट सरस्वती भट्टराईले प्रतिस्पर्धा गर्दैछिन्। भट्टराई अनिवार्या कोटा मार्फत ओलम्पिकमा छनोट भएकी हुन्। महिला १५ सय मिटरको स्वर्ण पकदका लागि अगस्ट १६ मा प्रतिस्पर्धा हुँदैछ।
 

फुपुल्हामु खत्री, जुडो

जुडोका खेलहरु अगस्ट ६ देखि १२ तारिखसम्म हुनेछ। नेपालबाट फुपुल्हामु खत्रीले महिला ६३ केजी अन्तर्गत प्रतिस्पर्धा गर्दैछिन्। खत्रीको स्पर्धाको खेल अगस्ट ९ मा हुनेछ भने त्यही दिन उक्त स्पर्धाको फाइनल पनि हुँदैछ। १२ औं सागमा नेपाललाई जुडोमा स्वर्ण पदक दिलाएकी खत्री वाइल्ड कार्डमार्फत ओलम्पिकमा छनोट भएकी हुन्।
 

शिरीष गुरुङ, पौडी

रियो २०१६ ओलम्पिकका पौडीका स्पर्धाहरु अगस्ट ६ बाट सुरु हुँदैछन्। नेपालका शिरीष गुरुङले सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्दैछन्। उनको स्पर्धाको खेल अगस्ट ९ मा हुनेछ। पहिलो दिन हिट चरणका प्रतिस्पर्धा हुनेछन् भने अगस्ट १० मा पदकका लागि प्रतिस्पर्धा हुनेछ।
 

गौरिका सिंह, पौडी

१२ औं सागमा रजत सहित ३ कास्य गरी कुल ४ पदक जितेकी गौरिका सिंह पनि अनिवार्य कोटा मार्फत ओलम्पिकमा छनोट भएकी हुन्। उनले सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्दैछिन्। महिला सय मिटरतर्फ हिट चरणको प्रतिस्पर्धा अगस्ट ७ मा हुनेछ भने फाइनल राउण्ड अगस्ट ८ मा हुनेछ। 
 

निशा रावल, तेक्वान्दो

निशा वाइल्ड कार्ड कार्फत ओलम्पिकमा छनोट भएकी हुन्। उनले रियो ओलम्पिकमा ६७ केजीमाथिको स्पर्धामा प्रतिस्पर्धा गर्दैछिन्।
 
ओलम्पिकमा तेक्वान्दोका स्पर्धाहरु अगस्ट १७ बाट सुरु हुँदैछन्। निशाले अगस्ट २० मा आफ्नो स्पर्धामा प्रतिस्पर्धा गर्नेछिन्।
 

टोलीमा अरु कोको?

खेलाडीसँगै प्रशिक्षकतर्फ पौडीमा ईश्वरकुमार कार्की, जुडोमा देबु थापा, आर्चरीमा दीपकराज गुरुङ, एथलेटिक्समा पुष्पराज ओझा तथा तेक्वान्दोमा संगीना वैद्य जाँदैछन्।
 
नेपाली टोलीको सेभ दि मिसनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट छन्। यस्तै नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष ज्योति राणा, महासचिव लामा टेन्डी शेर्पा, कोषाध्यक्ष रतनकुमार टण्डन, सदस्यहरु निलेन्द्रराज श्रेष्ठ, अशोकरत्न बज्राचार्य, रमेशकुमार श्रेष्ठ, समिम मियाँ अन्सारी र दीपकहर्ष बज्राचार्य तथा डा. सरोजकृष्ण श्रेष्ठ र एनओसी स्टाफ सुजनलाल श्रेष्ठ र राजन श्रेष्ठ पनि रियो ओलम्पिक टोलीमा रहेका छन्।
 
नेपालबाट सेभ दि मिसन सदस्य–सचिव विष्ट र सुजनलाल श्रेष्ठ जुलाई ३० मा रियो जाँदैछन्। पौडी, आर्चरी र जुडोको टोली जुलाई ३१ तथा तेक्वान्दो र एथलेटिक्स टोली अगस्ट ७ तारिखमा रियो प्रस्थान गर्नेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell