PahiloPost

May 14, 2024 | १ जेठ २०८१

यी हुन् फुटबल र फुटसलका ५ मुख्य फरक



पहिलोपोस्ट

यी हुन् फुटबल र फुटसलका ५ मुख्य फरक

फुटबल र फुटसल सुन्दा उस्तै जस्तो लाग्छ। फुटबल अधिकांशले जानेको, बुझेको भएर पनि होला यसबारे धेरैलाई जानकारी हुन्छ। विश्वकै सबैभन्दा चर्चित खेल। विश्वकप देखि, युरोकप, कोपा अमेरिका, एसिया कप, अफ्रिकन अप अफ नेसन्स, युरोपियन च्याम्पियन्स लिग, प्रिमियर लिग ला लिगा आदी फुटबलका चर्चित टुर्नामेन्ट हरु हुन्। फुटबल आउटडोर गेम हो।

फुटसल पनि फुटबलकै सानो रुप हो। फुटसलमा पनि फुटबलमा जस्तै बल खेलिन्छ। फुटसलको पनि विश्वकप हुन्छ भन्ने कमैलाई थाहा होला। सन् १९८९ बाट फुटसलको विश्वकप सुरु भयो। अहिलेसम्म ७ संस्करण भइसकेको छ। हरेक चार चार वर्षको अन्तरमा हुने विश्वकप फुटसलको आठौं संस्करण सेप्टेम्बर १० देखि कोलम्वियामा हुँदैछ।

फुटबलको विश्वकप सुरु भएकै सालदेखि फुटसलको विकास भएको हो। सन् १९३० मा उरुग्वेबाट फुटबलको विश्वकप सुरु भयो। त्यसैबेला ब्राजिल र उरुग्वेबाट नै फुटसलको सुरुवात भएको हो। फुटसललाई फाइभ ए साइड सकर गेम पनि भनिन्छ।

सन् १९३० मा जुवान कार्लोस सेरियानीले वाइएमसिएएस इन्डोर फुटबलको विकास गरेका थिए।

पछिल्लो समय नेपालमा पनि फुटसल गतिविधि फस्टाउन थालेको छ। नेपालमा फुटबलको सुरुवात भएको आधा दशक मात्र भए पनि अहिले विभिन्न खालका टुर्नामेन्टहरु हुन थालेका छन्। १० लाख पुरस्कार राशी रहेको फुटसल प्रिमियर लिग सञ्चालन हुँदैछ। यसले पनि नेपालमा फुटसलको कति विकास भइरहेको छ प्रस्ट पार्छ।

उस्तै उस्तै सुनिए पनि फुटबल र फुटसल केही फरक छ। के के फरक छ त फुटबल र फुटसलमा ?

खेलाडी संख्या

फुटबल खेल ११/११ जनाको बीचमा खेलिन्छ। यसमा एक टोलीमा कुल २३ खेलाडी हुन्छन्। फुटसल ५/५ जनाको बीचमा खेलिन्छ। यसमा एक टोलीमा कुल १२ खेलाडी रहन्छन्। फुटबलमा जस्तै फुटसलमा पनि अनिवार्य रुपमा एक गोलरक्षक बस्नुपर्ने व्यवस्था छ।
 

सब्सिच्युट

फुटबल खेलको मुख्य प्रतियोगितामा ३ खेलाडी सब्सिच्युटको रुपमा फेर्न पाउने प्रावधान छ। एकपटक मैदानबाट निस्केपछि पुन त्यही खेलाडी मैदान भित्र प्रवेश गर्न पाउने छैन। तर फुटसलमा सब्सिच्युटको कुनै सीमा तोकिएको हुँदैन।
 

खेल्ने स्थान

फुटबल ग्राउण्ड वा मैदानमा खेलिन्छ। यो आउट डोर गेम हो। तर फुटसल हार्ड कोर्टमा खेलिन्छ। फुटसल इन्डोर गेम हो। यस्तै फुटबल र फुटसल खेलिने मैदानको आकार पनि फरक हुन्छ।

फिफाको 'ल अफ गेम 'अनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा फुटबल मैदानको आकार बढीमा ११०–७५ र घटीमा १०० –६४ हुन्छ। फुटसलको बढीमा ४२–२५ र घटीमा ३८–२० हुन्छ।
 

खेल समय

फुटबल खेलको निर्धारित समय ९० मिनेटको हुन्छ। फुटबलमा ४५/४५ मिनेटको दुई हाफ हुन्छ। फुटसल खेल ४० मिनेटको हुन्छ। यसमा २०/२० मिनेटको दुई हाफमा खेलाइन्छ।

विश्वकप

सन् १९३० मा उरुग्वेबाट सुरु भएको फुटबलको २० औं संस्करण सकिसकेको छ। अब सन् २०१८ मा रसियामा २१ औं संस्करण हुँदैछ। ब्राजिलले अहिलेसम्म सर्वाधिक ५ पटक विश्वकप फुटबल उपाधि जितेको छ। इटली र जर्मनीले समान ४ पटक उपाधि जितेका छन् भने उरुग्वे र अर्जेन्टिनाले समान २ पटक प्रतियोगिता जितेका छन्। यस्तै इंगल्याण्ड, फ्रान्स र स्पेनले एक एक पटक विश्वकप जितेका छन्।

फुटसलको भने अहिलेसम्म ७ वटा मात्र विश्वकप भएको छ। सन् ३० को दशकमा फुटसलको विकास भएता पनि १९८९ मा आएर मात्र फुटसलको पहिलो विश्कप आयोजना भयो। दुई राष्ट्रले मात्र फुटसलको विश्वकप जितेका छन्। फुटबल जस्तै फुटसल पनि ब्राजिलले सर्वाधिक ५ पटक जितेको छ भने स्पेनले दुई पटक जितेको छ।
 
यी मुख्य भिन्नता रहेपनि फुटबल र फुटसलमा यसबाहेक अरु फरक पनि छन्। फुटसलमा खेलाइने बल फुटबलको भन्दा केही सानो आकारको हुन्छ। फुटबलमा खेलाइने बलको आकार बढीमा ७० सेमी र घटीमा ६८ सेमी हुन्छ। तर फुटसलमा खेलाइने बलको आकार बढीमा ६४ र घटीमा ६२ सेमी हुन्छ।

मैदानको आकार फरक हुने कारणले पेनाल्टी र फ्रिकिक प्रहार गर्ने दुरी पनि फुटबल र फुटसलमा फरक फरक हुन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell