PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​संसदमा बलजफ्ती नगर्न प्रधानमन्त्रीको चेतावनी, भन्छन्- अविश्वास प्रस्ताव संसदमा आउन दिइँदैन



मनोज सत्याल

​संसदमा बलजफ्ती नगर्न प्रधानमन्त्रीको चेतावनी, भन्छन्- अविश्वास प्रस्ताव संसदमा आउन दिइँदैन

काठमाडौँ : संसदको भोलि ११ बजे बस्ने बैठकमा बलजफ्ती नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिएका छन्।

एमालेको मजदुर संगठन जिफन्टले राजधानीमा आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले ११ बजेको बैठकमा सरकारका बिजनेसहरु खोजिने बताएका हुन्।

गत असार २९ गते र ३१ गते बसेको बैठकमा बजेटका आश्रित विधेयक कार्यसूचीमा प्रवेश गर्दा समेत अगाडि बढेका थिएनन्। दुवै दिनको संसद बैठक सूचना टाँस गरेर स्थगित भएको थियो। लगत्तै सभामुख ओनसरी घर्तीले दलहरुबीच संसद बैठक राख्न सहमति नभएको भन्दै अविश्वासको प्रस्ताव पछि मात्र अन्य बिजनेस अगाडि बढाउने निर्णय लिँदै ६ गते छलफलको मिति तोकेकी थिइन्।
 
प्रधानमन्त्री ओलीले तिनै बजेटका आश्रित विधेयकहरु संसद बैठकमा खोजिने बताएका हुन्।

‘यो राज्य चलाउने कुरा के मतलबको कुरा छ र। कर उठाउने कुरा के मतलबको कुरा छ र हामीलाई त केपी ओलीलाइ सकेसम्म छिट्टै निकाल्नु छ। त्योभन्दा बाहेक अरु केही छँदै छैन। त्यो भन्दा बाहेक अरु केही देख्दै देख्दैनौँ, उहाँहरु भन्दै हुनुहुन्छ’, ओलीले भने, ‘स्वभाविक रुपमा भोलि ११ बजे हामीले त्यो हराएको प्रस्ताव कहाँ गयो भनेर खोज्नुपर्ने त भइहाल्छ।‘
 
प्रधानमन्त्री ओलीले बलजफ्ती संसद बैठक अगाडि नबढाउन समेत चेतावनी दिएका छन्।
 
‘म अहिले पनि भन्न चाहन्छु, बलजफ्ती गरेर अगाडि बढ्न नखोज्नु राम्रो हुन्छ’, उनले भने, ‘आधारभूत नियम कानुन अन्तर्गत चलौँ संविधानको पालना गरेर जाऔँ।‘

उनले संविधानमा जेसुकै होस् भन्ने हो भने घरबाटै लिएर आउन समेत चुनौति दिए।
 
‘त्यसो भए घरैबाट लिएर (अविश्वासको प्रस्ताव) आउनू, त्यहाँ संसदमा आउन दिइदैँन’, उनले भने, ‘संसद मनपरी गर्ने ठाउँ होइन भन्ने मैले विनम्र निवेदन गर्नुपर्ने हुन्छ।‘

उनले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई संविधान अनुसार चल्न आग्रह समेत गरे। संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव पार्टीहरुको चिन्ता प्रस्ताव भएको उनको तर्क थियो।

‘अविश्वासको नामको चिन्ता प्रस्ताव दर्ता भएको छ’, ओलीले भने, ‘अविश्वास प्रस्ताव भन्दा आग्रह प्रस्ताव हो, इर्श्या प्रस्ताव हो,  दुविधा प्रस्ताव हो।‘
 
उनले केही दलहरुमा सरकार चल्न दिए पार्टीको साइनबोर्ड हटाए हुन्छ भन्नेसम्मको विषय उठेको तर्क गरे। अविश्वासको प्रस्ताव दुई तिहाइले पारित गर्ने चुनौती आफूलाई दिइएको भन्दै प्रधानमन्त्री ओलीले दुई तिहाई भए संविधान संशोधन गर्न चुनौति दिए।
 
उनले एमाले पार्टी अविश्वासको प्रस्ताव सामना गर्न संसदमा एक्लो नहुने समेत जिकिर गरे। उनले आफूलाई कस्तो अवस्थामा प्रधानमन्त्री निर्वाचित भएको भन्ने विषयमा राम्रोसँग थाहा रहेको बताए।
 
‘राम्ररी थाहा थियो कस्तो अवस्थामा म प्रधानबन्त्री बनेँ। यो सजिलो कुरै होइन नेपालको राजनीतिमा’, उनले भने, ‘नौ महिना कसरी टिकियो कस्ता साथी लिएर ….. कमसेकम जनताले कसरी काम गर्छ भन्ने झलक पाए।‘

फोटो : रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell