PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​सांसदलाई सुशीलाको प्रश्न : डिएनएबारे प्रयोगशाला नै बोल्ने हो भने न्यायाधीश किन बस्नुपर्‍यो?



मनोज सत्याल

​सांसदलाई सुशीलाको प्रश्न : डिएनएबारे प्रयोगशाला नै बोल्ने हो भने न्यायाधीश किन बस्नुपर्‍यो?

काठमाडौँ : सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा सुशीला कार्कीको नियुक्तिका लागि संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेको छ। 
समितिले कार्कीको सिफारिस विरुद्ध परेका उजुरीकर्ता र कार्कीसँग छलफल गरेपछि सर्वसम्मत रुपमा नियुक्तिका लागि अनुमोदन गरेको हो। 

सांसदको प्रश्नमा यस्तो दिइन् जवाफ

कार्कीलाई सांसदहरुले डिएनए परीक्षणको विधि विज्ञान प्रयोगशालाको रिपोर्टलाई फैसलाको क्रममा प्रमाण मान्न अस्वीकार गरेको विषयमा प्रश्न गरेका थिए। त्यसअघि सांसदहरुले डिएनए परिक्षणलाई प्रमाण मान्न अस्वीकार गरेको विषयमा परेको उजुरीकर्तासँग छलफल गरेका थिए। 

सांसद गणेशमान गुरुङ, अनिता परियार,  सइन्द्र वान्तवा, प्रकाशशरण महतले डिएनए परिक्षणको प्रमाणबारे कार्कीलाई सोधेका थिए।
समितिमा नाता नै नभएको व्यक्तिलाई नाता कायम गरिदिएको भन्दै उजुरी परेको थियो। डिएनए रिपोर्ट नै म्याच नखाँदा समेत कार्कीको इजलासबाट नाता कायम गरिदिएको उजुरीमाथि समितिले छलफल समेत गरेको थियो।

सर्वोच्चकै इजलासको आदेश बमोजिम भएको डिएनए परीक्षणको रिपोर्टमा बच्चाको जैविक बाबु होइन भन्ने पाइयो भनिए पनि 'डिएनए परीक्षणको लागि स्याम्पल निकाल्दा नै ट्याम्पर भएको हुन सक्ने देखियो' भन्दै त्यसलाई मान्न अस्वीकार गर्दै बाबु नै भएको नाता कायम गर्ने फैसला २०६७ सालमा गरिएको थियो। फैसलामा पुनः डिएनए परीक्षण पनि गर्नुनपर्ने भनिएको थियो।

जवाफ दिने क्रममा कार्की आक्रामक रुपमा प्रस्तुत भएकी थिइन्। उनले आफू तीनपटक संसदीय सनुवाईमा आउनु परेको उल्लेख गर्दै तीनै पटक एउटै सभापति हुँदा समेत कति पटक एउटै विषयमा बारम्बार जवाफ दिनुपर्ने भन्दै उल्टै प्रश्न गरिन्। 

कार्कीले जवाफमा भनिन् -
'फैसलाले डिएनएलाई मान्दैनौँ भनेर कहिँ भनेको छैन। यही फैसलामा डिएनएलाइ मानेको छ। तर कन्फर्म त एभिडेन्स हुन्छ। कति पटक छेडखानी भएको हुन्छ। कन्ट्यामिनेटसन भएको हुन्छ प्रमाण। त्यसमा मिस एप्रोप्रिएसन भएको हुनसक्छ। ती आधारबाट नमान्न सकिन्छ। 

यो मुद्दामा अरु प्रमाणहरु प्रशस्त छ। अरु प्रमाणहरु यथेष्ट यस मुद्दामा भएको अवस्थामा साक्षीका बकपत्र भएको अवस्थामा।'
 
उनले यो मुद्दामा ड्राइभरको छोरा भनेर प्रमाण दिइए पनि त्यो कहाँको को ड्राइभर नभनिएको र नदेखाइएको बताए। उनले भनिन्, 'आमाले देखाएको व्यक्ति अर्थात् आमाले जान्दछ बाउ को हो भन्ने थेउरी पनि छ।' 

'फाइनल्ली भन्ने हो भने म ढाँट्दिनँ ०६८ सालमा यो कुरा उठेपछि बारबार उठ्छ। अब यो मुद्दा जाग्नेवाला छैन। मेरामा उल्टी पटक हुनेवाला पनि छैन। खासमा कुरा के भने मेरो बेञ्चमा आयो। हाम्रो बेञ्चमा सकिएपछि रिभिजन माग गरियो। रिभिजन पाएन। रिटमा पनि कोल्याप्स भयो। कति चोटी उठाउने २०६८ सालमा पनि उठाइयो।'

उनले बच्चा र बाउको अनुहार हुबहु भएको पनि तर्क गरिन्, 'यहाँहरुसँग हात जोडेर भन्छु - त्यो बेलामा त्यो केटा र त्यो बाउको अनुहार एक्ज्याक्ट थियो। हामी के गरौँ? हामी यो समाजमा के गरौँ? अदालतको फैसलामा हामीले दुई बाउ छोरा हुबहु मिल्ने अनुहारलाई बच्चै होइन भन्दिउँ? 

'त्यो महिलाले उजुर पनि गरी। मेरो जेठाजु र मेरो लोग्ने समान फेसका मानिसहरु भित्र पसेर रगत दिने काम भयो भनेर उजुरी भयो।' 

'अहिले पनि तपाइँहरु हेर्नुस्, दुई बाउ छोरालाई। एक्ज्याक्ट छन्, समान छन्। एउटा लाठे छ, अर्को त्यसको मिनिएचर पुतली छ। अन्याय त गर्न सकिन्न।' 

उनले डिएनएबारे प्रयोगशाला नै बोल्ने हो भने न्यायाधीश किन बस्नुपर्‍यो' भन्दै प्रतिप्रश्न समेत गरिन्। 'रोनास्टबाट फैसला गर्दिए भैहाल्यो नि। जाँच्छ, डिएनएबाट प्रमाणित भयो भन्छ, ठोकिदिन्छ। हामीले किन गर्नुपर्‍यो ', कार्कीले हाँस्दै भनिन्। 

द्वन्द्वकालीन मुद्दा र भ्रष्टाचारबारे

सांसद अनिता परियारले अदातल भ्रष्टाचारबाट प्रभावित भएको विषयमा प्रश्न सोधेकी थिइन्। जवाफमा कार्कीले भ्रष्टाचार छैन भनेर कुनै पनि प्रधान न्यायाधीशले भन्ने अवस्था नरहेको बताइन्। 

'भ्रष्टाचार गर्ने मान्छे थोरै हुँदैमा पनि एउटा तलाउमा एउटा मान्छे सड्दा सिङ्गो तलाउ फोहोर हुन्छ भनेजस्तै त्यस्ता क्रियाकलापले पनि हुन्छ', कार्कीले भनिन्। 

सांसद परियार र कांग्रेसका प्रकाशशरण महतले द्वन्दवकालीन मुद्दाका विषयमा कार्कीलाई सोधेका थिए। त्यसमा उनले भनिन्- 
'दुई खालका फैसला छन् एउटा द्वन्दवकालीन मुद्दा हेर्नपर्छ भन्ने, अर्को हेर्न पर्दैन भन्ने। अदालतमा मुद्दा हेरिन्छ। आएपछि हेरिन्छ', कार्कीले उदाहरण दिइन्, 'धनगढीको एउटा मुद्दा परेको थियो। मारवाडीको २२ वर्षको छोरा मारिएको रहेछ। ऊसँग मारवाडीको मोटरसाइकल पनि भेटियो। मारवाडीको ८० हजार पैसा पनि भेटियो। उसको घडी पनि मोबाइल पनि भेटियो। हामीले के गर्ने? मैले भनेँ, हत्या गरेको मामिलामा सिनेमा जस्तो पिक्चर आउँदैन। त्यसो हो भने न्यायाधीशको खाँचो थिएन। मैले सोधेँ वकिललाई यो मारवाडी कुन पार्टीको थियो? पार्टीको झगडा त होइन रहेछ। त्यस्तो मुद्दामा अपहरण गरेर मारेकै मुद्दामा नेताका थिए, राजनीतिक रंग दियो भन्न त कसरी मिल्छ? न्याय त दिनुपर्‍यो नि अदालतमा।'

कार्कीले राजनीतिक रंग दिएका मुद्दा छुट्टिने तर्क गरिन्। 

'ठूला नेताहरुलाई एकै समयमा कहिले रोल्पामा पनि देखाउने धरानमा पनि देखाउने विराटनगरमा पनि देखाउने गरेर मुद्दा चलाउने भन्ने अर्को हो।' 

'संसदले एउटा विशेष अदालत नै खडा गरेर वा विशेष अदालतमा मुद्दा पुर्यारइदिनुभयो भने त हाम्रो टाउको दुख्ने र पुतला जलाउने अवस्था त हुँदैन नि। हामी किन पोलिटिकल उसमा पर्नु। हामीलाई आनन्दै हुने थियो। यो मेरो पर्सनल राय हो। बोल्नै पर्ने जरुरी भएर बोलेको हो। अरु न्यायाधीशको के छ थाहा छैन', उनले भनिन्।
 
सांसद चीनकाजी श्रेष्ठले उच्च अदालत नभई न्यायाधीश नियुक्तिका विषयमा प्रश्न गरेका थिए। 

जवाफमा कार्कीले न्यायाधीश नियुक्ति आवश्यकताको सिद्धान्त अनुसार भएको तर्क गर्दै - नियुक्ति नभए सर्वोच्चमा दुई न्यायाधीश मात्र हुने अवस्था आउने बताइन्। 'चोलेन्द्र शमशेर र ओमप्रकाश मिश्र मात्र बाँकी रहने अवस्था आउँछ', उनले भनिन्। 

सांसद धर्मनाथप्रसाद शाहले ६ महिनामा एउटा फैसला लेख्ने गरेको भन्दै प्रश्न गरेका थिए। साथै उनले बसुन्धरामा करोडौँको घर बनाइएको भन्दै कार्कीलाई प्रश्न सोधेका थिए। 

जवाफमा उनले अहिले १३ सय मुद्दामा फैसला लेख्न बाँकी रहेको बताइन्। उनले अदालतमा बेञ्च अस्सिटेन्टहरु नरहेको र टाइपिस्टहरु समेत नरहेको समस्या समेत सुनाइन्। 

बेञ्च असिस्टेन्टको रुपमा काम गर्न धेरै दु:ख रहेको सुनाउँदै उनले पहिला न्यायाधीश हुने लोभमा काम गर्न खोज्नेहरु धेरै भएपनि अहिले परीक्षा दिनुपर्ने व्यवस्था पछि फैसला लेख्ने मानिस नहुने गरेको उनले खुलाइन्। 

उनले आफ्नो घर बन्ने क्रममा रहेको, रंगरोगनको काम भइरहेको जानकारी दिइन्। 'धर्मनाथप्रसाद शाहले भने जस्तो बसुन्धरामा छैन। कसैले देख्नुभएको छ?

उनले आफूले साढे छ लाख आनाको दरले किनेको जग्गा भएको उल्लेख गरिन्। आफूले खोजेको ठाउँमा साढे १८ लाख आनासम्म पर्ने गरेको पाएको बताइन्। साथै घर बनाउन सञ्चय कोषबाछ ६ लाख ऋण लिएको समेत खुलाइन्। 

​उनले आफ्नो परिवार र रगतमै इलिगल र भ्रष्टाचार नभएको दावी गरिन्। उनले आफूलाई श्रीमान् र ईश्वर गरी दुई जनासँग डर लाग्ने बताइन्। 
'हावाको भरमा कसैले कुरा उठाउँदैमा उठाउनु हुँदैन' भन्दै उनले शाहमाथि पनि व्यङ्ग्य गरिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell