PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पत्रकार-व्यवस्थापन द्वन्द्वले पहिलो समाचार पोर्टल नेपालन्युज 'बन्द'



पत्रकार-व्यवस्थापन द्वन्द्वले पहिलो समाचार पोर्टल नेपालन्युज 'बन्द'

  • रविराज बराल/पहिलोपोस्ट
काठमाडौं : नेपालको पहिलो समाचार पोर्टल नेपालन्युज डट कम 'बन्द' भएको छ। नेपालन्युज डट कमको सञ्चालक संस्था मर्कन्टायल कम्युनिकेसन्स प्रालिले आफ्नो मूल व्यवसायमा ध्यान केन्द्रित गर्ने भन्दै १६ वर्षदेखि सञ्चालित समाचार पोर्टलमा समाचार अपलोड बन्द गर्ने घोषणा गरेको हो।

'हामी अब नेपालन्युज डट कममा समाचार अपलोड गर्ने छैनौँ', मर्कन्टायलले सूचना जारी गरि भनेको छ। नेपालन्युज सन् १९९८ देखि सञ्चालनमा आएको हो। तर नेपालन्युज व्यवस्थापनले जारी गरेको सूचनामा भने पोर्टल सन् २००० मा सुरु भएको उल्लेख छ।

इन्टरनेट सेवा प्रदायक मर्कन्टायल कम्युनिकेसन्स इन्टरनेट, इन्ट्रानेट, डाटा सेन्टर तथा वेब सर्भिस लगायतका क्षेत्रमा काम गर्ने कम्पनी हो।

नेपालन्युजमा कार्यरत पत्रकार/कर्मचारीले भने श्रमजीवी पत्रकारलाई स्थाई गर्नुपर्ने लगायतका मागबाट भाग्दै व्यवस्थापनले साइट बन्द गरेको दाबी गरेका छन्।

मर्कन्टायल कम्युनिकेसन्सका अध्यक्ष सञ्जीव राजभण्डारीले विभिन्न चुनौतीका बिच अन्य व्यवसायबाट खर्च जुटाएर सञ्चालन गरिएको नेपालन्युज बन्द गरेर आफ्नो मूल व्यवसायमा केन्द्रित हुने बेला आएको बताएका छन्।

'यो यात्रामा हामीले विभिन्न चुनौती भोग्यौँ, किनकी यो हाम्रो मूल व्यवसाय थिएन। कमजोरी हुँदाहुँदै पनि हामीले अन्य व्यवसायबाट सञ्चालन खर्च जुटाएर नेपालन्युजलाई यहाँसम्म ल्याइ पुर्‍यायौँ', नेपालन्युज डट कमको होमपेजमा मर्कन्टायल अध्यक्ष भण्डारीले जारी गरेको सूचनामा जनाइएको छ, 'अनलाइन समाचार उद्योग सुरु गरेर अहिलेको परिपक्व अवस्थासम्म ल्याउन भूमिका खेलेपछि यसबाट बिदा लिएर हाम्रो मूल व्यवसाय प्रविधि व्यवसायमा केन्द्रित हुनुपर्छ भन्ने हामीलाई लागेको छ।'

समाचार अपलोड नगरे पनि टिभी, रेडियो र साप्ताहिक पत्रिकाको स्ट्रिमिङ एवं अर्काइभिङ भने बन्द हुने छैन। हालसम्म अपलोड भएका समाचार साम्रग्री पनि उपलब्ध हुनेछन्।

नेपालन्युजको लगइन व्यवस्थापनले लिए पनि ट्विटर, फेसबुक लगायत सोसमल मिडिया पेज पत्रकारकै नियन्त्रणमा छन्। यी अकाउन्टबाट साइट बन्दका समाचारका लिंक तथा स्ट्याटस सेयर गरिएको छ।  

मर्कन्टायल कम्युनिकेसन्सले सन् १९९६ देखि आफ्नै डोमेन south-asia.com सञ्चालन गरी त्यसमा काठमाडौँ पोस्ट, राइजिङ नेपाल दैनिक र साप्ताहिक इन्डिपेन्डेन्ट र मासिक हिमाल साउथ एसिया राख्न थालेको थियो।

सन् १९९८ मा समाचारका लागि अलग्गै डोमेन nepalnews.com सुरु नहुँदासम्म south-asia.com मा पत्रिकाहरु सँगसँगै होटल, रिसोर्ट, ट्राभल एजेन्सी, कार्पेट उद्योगदेखि लिएर नेपालस्थित विदेशी दूतावाससम्मका सामाग्री राखिएका थिए।

श्रमजीवी पत्रकारका मागबाट भाग्न बन्दको नाटकः पत्रकार

नेपालन्युजमा कार्यरत पत्रकार/कर्मचारीले आफूहरुलाई स्थाई गर्नुपर्ने लगायतका मागबाट भाग्दै व्यवस्थापनले साइट बन्द गरेको दाबी गरेका छन्।

नेपालन्युजमा कार्यरत पत्रकारद्वारा जारी विज्ञप्तीमा '१७ वर्षदेखि करारमा रहेका पत्रकारलाई स्थाई गर्नुपर्ने लगायतका मागबाट भाग्दै व्यवस्थापनले समाचार पोर्टल बन्द गर्ने निर्णय गरेको' जनाइएको छ।

पत्रकारले काम गरिरहेको अवस्थामा प्रबन्धक मधु अमात्यले अध्यक्ष सञ्जीव राजभण्डारीको इमेल पढेर नेपाल न्युज बन्द गरेको घोषणा गरेको १८ जना पत्रकारद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

लामो समयदेखि कार्यरत पत्रकारलाई हटाएर भाडामा दिने नियतका साथ बन्द गरिएको दाबी गर्दै उनीहरुले व्यवस्थापनको कदमको 'घोर भत्सर्ना' गरेका छन्।  

नेपालन्युजमा कार्यरत एक पत्रकारले व्यवस्थापनले श्रमजीवी पत्रकारका मुद्दाबाट पन्छिनका लागि समाचार पोर्टल 'बन्द' को नाटक गरिएको बताए।

'श्रमजीवी पत्रकारका मुद्दाबाट भाग्नका लागि बन्दको नाटक गरियो। उनीहरु भित्रभित्रै नेपालन्युजलाई भाडामा दिने तयारीमा छन्। बन्दको घोषणा त्यसैको पूर्वतयारी हो', उनले पहिलोपोस्टसँग भने।  

नेपालन्युजमा कार्यरत पत्रकारले गत पुस ८ गते नेपाल पत्रकार महासंघका प्रतिनिधिसँग संयुक्त बैठक गरि व्यवस्थापनलाई मागपत्र बुझाएका थिए।

व्यवस्थापकहरुले ‘नेपाल न्युजमा महासंघ ल्याउने? हामीले बन्द गर्छौँ। के गर्न सक्छौ ?’ भन्दै पत्रकारहरुलाई पटक–पटक धम्की दिने गरेको त्यहाँ कार्यरत पत्रकारको विज्ञप्तीमा जनाइएको छ।

'श्रमजीवि पत्रकारको विरुद्धमा गरिएको हर्कतका विरुद्ध एक हुन नेपाल पत्रकार महासंघ, प्रेस युनियन, प्रेस चौतारी, क्रान्तिकारी पत्रकार महासंघ लगायतका संघ, संगठनसँग नेपालन्युजमा कार्यरत पत्रकार संयुक्त रुपमा अपिल गर्दछौँ।', विज्ञप्तीमा उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell