
काठमाडौँ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गर्ने निर्णय सर्वसम्मत अनुमोदन गरेको छ।
आइसीसीको बिहिबार एडिनवर्गमा बसेको बैठकमा आइसीसीको ५३ सदस्यीय फूल काउन्सिलले नेपाल र अमेरिकाको निलम्बन अनुमोदन गरेको हो। आइसीसीले अमेरिकालाई २०१५ जुन र सरकारी हस्तक्षेप भएको भन्दै नेपाललाई २०१६ अप्रिलमा निलम्बन गरेको थियो।
आइसीसीका अध्यक्ष शशांक मनोहरले आइसीसीको डेलिगेसनले नेपाल र अमेरिकाको भ्रमण गर्ने र आगामी अक्टोबरमा हुने बैठकमा अपडेट गराउने बताएका छन्। भ्रमण टोलीमा बोर्ड डिरेक्टर्स र सिनियर म्यानेजमेन्ट सामेल हुनेछन् भने नेपाल र अमेरिकाको सम्बन्धित पक्षसँग भेट गर्नेछन्।
'नेपाल र अमेरिका दुवै आइसीसीको महत्वपूर्ण सदस्य हो, दुवैसँगै प्रतिभा र धेरै सम्भावना छ। क्रिकेट संरचना र शुसासनको लागि सकेसम्म सहयोग गर्न आइसीसी तयार छ', मनोहरले भने।
'नेपालको सरकार र क्रिकेट पदाधिकारी भेट्न आइसीसीको डेलिगेसन जानेछ भने मेरो नेतृत्वमा आइसीसीको डेभ क्यामरुन, गिल्स क्लार्क, इमरान खवाजा र डेभिड पिवर अमेरिकाको भ्रमणमा जानेछौं,' मनोहरले भने ।
यस्तै आइसीसीले साउदी अरेबियालाई ३९ औं एसोसिएट राष्ट्रको रुपमा सर्वसम्मत रुपमा चयन गरेको छ।
साउदी अरेबिया सन् २००३ मा आइसीसीको एफिलिएट राष्ट्र बनेको थियो।